हामी गाउँ आयौं

Share:
  
- केदार शर्मा
कुनै महान् काम गर्न गाउँ फर्केका नभई करोडौं नेपालीको गरिखाने मेलोको अनुसरण गर्न मात्र खोजेका हौं। अहिलेलाई हामी १०० वर्ग फीटको कोठामा भान्सासहित अटाएका छौं।
p52

तस्बीर: निमा तामाङ  

दुई वर्षअघि हिमाल खबरपत्रिका मा 'गाउँ जाउँ' शीर्षकको लेखमा मैले गाउँमा फस्टाउँदै गरेका अनुकूलता–सुविधाको चर्चा गरेको थिएँ। मानिसले खोज्ने सुखका पूर्वाधार र व्यक्तित्व विकासका सम्भावना गाउँको शान्त परिवेशमै उपलब्ध भए खर्चिलो र तनावयुक्त शहरमा किन टाँसिने भन्ने त्यसको आशय थियो। दशैंमा घर–मावल गएर फर्केपछिका अनुभूतिहरू पनि लेखें, जसको अन्तिम वाक्य थियो― 'अब म यो (शहरको) दौडको गति र दूरी घटाएर हिंड्ने तरखरमा छु।' लेखमा 'म' लेखे पनि प्रायः मानिस 'हामी' मा बाँचेको हुन्छ। अहिले साँच्चै नै हामी आफ्नो दौडको गति र दिशा परिवर्तन गरेर गाउँ फर्केका छौं। 

एसएलसीको रिजल्ट भएपछि, १४ असार २०३५ मा हजुरबाले दिनुभएको सूटकेश, केही जोर लुगा र बाले दिनुभएको रु.१०००–१२०० खल्तीमा हालेर म काठमाडौं हिंडेको थिएँ। काठमाडौंमै पढें, बढें, पेशा–इलम समातंे। त्यसको १० वर्षपछि 'हामी' भएँ। हामी अलकापुरी कान्तिपुरीका बासिन्दा भयौं, त्यहीं छोराछोरी हुर्कायौं। हामीसित जे जति शिक्षा, सम्पर्क, सीप, पेशा, आत्मविश्वास छन् ती सबै काठमाडौंले दिएको हो। हामीले आफ्ना सबैभन्दा कठोर संघर्षका दिन काठमाडौंमै बितायौं र सबैभन्दा खुशी पनि त्यहीं भयौं। हाम्रो धेरथोर आर्जन पनि त्यहीं छ। नातेदार र साथी–स्वजन पनि अन्तभन्दा काठमाडौंमै बढी छन्।

काठमाडौं हाम्रो हो, हामी काठमाडौंका हौ। कतिपय अर्थ र प्रसङ्गहरूमा काठमाडौंको आलोचक रह्यौं, तर कहिल्यै गाली
गरेनौं। अहिले आफ्नो सहयात्राको चौबीसौं वर्ष पूरा हुन लाग्दा हामी, अर्थात् म र मेरी श्रीमती किरण, गाउँ फर्केका छौं। र पनि, 'अब काठमाडौं छाडेको?' भन्ने प्रश्नको जवाफ चाहिं 'होइन' नै हुन्छ। काठमाडौं जाँदा हामीले गाउँ छाडेको भए पो अहिले काठमाडौं छाड्नु!

कहिलेसम्मलाई?
केही साथीहरूलाई हामी गाउँमा अडिन्छौं भन्ने पत्यार लागेको छैन। कतिले सोधेका छन्, “साँच्चै हो?”

साँच्चै हो भन्ने जवाफ पाइसकेपछि पनि केहीले सोधेका छन्, “कहिलेसम्मलाई?”

काठमाडौं जाँदा तपाईं हामी कहिलेसम्मका लागि भनेर गएका थियौं? त्यत्तिकै, बस्दाबस्दै बसिएको होइन र त्यहाँ? काठमाडौंले मानिसलाई विना योजना टाँसेर राखिदिन्छ। शुरूका केही वर्ष 'काठमाडौंमा केही भएन भने फर्किने ठाउँ छँदैछ' भन्ने भावना बलियो हुन्छ। अनि क्रमशः काठमाडौंले जित्न थाल्छ र पहाड–मधेशका घरखेतहरू सर्न थाल्छन्। काठमाडौंमा घर बनाएपछि चाडबाडमा घर छाड्न मिल्दैन। अनि बूढा बा–आमाहरू पनि काठमाडौं लगिन थाल्छन्। यसरी नेपालको स्रोतसाधन, सृजना र सामर्थ्य काठमाडौंमा तानिन थाल्छ।

कोही आफ्नो गाउँ गएर बस्नु एकदमै सामान्य कुरा हो। तर, काठमाडौंको आकर्षण शक्ति अझै प्रबल भएकोले पहिले मानिस काठमाडौं जाँदा गाउँमा बन्ने जस्तो समाचार अहिले कोही घर फर्किंदा बनेको मात्र हो। त्यसो त, हामीले कुनै महान् काम गरेका वा हामी 'इलामको विकासको लागि' फर्केका होइनौं। हामीले करोडौं नेपालीको गरिखाने मेलोको अनुसरण गर्न मात्र खोजेका हौं। यो उमेरमा थालिएको नयाँ पेशामा हामीले धेरै जनाबाट धेरै कुरा सिक्नु छ।

गाउँको आकर्षण धेरैमा छ। हाम्रो निर्णय सुनेपछि केही स्वजनहरूले 'मलाई पनि गाउँ जान मन छ, तर श्रीमती मान्दिनन्' भने। एकजना भाइलाई भनें, 'खेतीपाती गर्न भन्यौ होला, फार्मिङ गर्ने भन न!' अर्का एकजना भाइसाथीलाई 'दुनियाँको चित्त बुझने लेखहरू लेख्छौ, आफ्नै श्रीमतीको चित्त बुझ्ाउन सक्दैनौ?' भनें। अझ् अर्का एकजनालाई त 'श्रीमतीलाई कहिल्यै आत्मनिर्भर हुन नदिनू, जताजता डोर्‍याए पनि गइहाल्छन् नि!' सम्म भनें।

वास्तवमा यो मान्ने–मनाउने कुरै होइन। लामो सङ्गतले साथीहरू बीच त विचार र व्यवहारको सङ्गती मिल्छ भने एउटै मूल्यमान्यतामा बाँचेका लोग्नेस्वास्नीको त कतिपय कुरामा सोच्ने तरीका पनि मिल्छ। अनि जीवनले क्रमशः एउटा लय समात्छ। परिस्थिति र प्रसङ्गवश कहिले राग यमन बजाइएला, कहिले राग दरबारी वा शङ्करा, जे बजाए पनि कलाकारहरूबीच जुगलबन्दी हुनथाल्छ र त्यसमै रमाउने बानी लाग्छ। जीवनमा पनि बेला बेला सुरताल फेर्नुपर्छ। हामीलाई त्यसकै रहर लागेको मात्र हो। यस क्रममा प्रस्ताव राख्ने, आकर्षण–विकर्षणहरूको सूची बनाउने र मनाउने–फकाउने काम गरिएन। हाम्रो निर्णय सुनेर छोराछोरी झ्न् फुर्किए। बा–आमालाई भने 'काठमाडौंमा जसरी गरिखान सक्लान् र!' भनेर कताकता चिन्ता लागेको अनुभव हामीले गर्‍यौं। अन्त्यमा, उहाँहरू पनि विविध कारणले खुशी नै हुनुभयो।

'गाउँको जीवन पो जीवन, तर के गर्नु, शहरबाट उम्किनै सकिंदैन!' भन्ने साथीहरू पनि धेरै छन्। वास्तवमा हामीकहाँ शहरको 'ग्ल्यामर' र गाउँको 'रोमान्टिसिज्म' दुवैमा अलिकति अतिरञ्जना छ। राम्रो नाम वा दाम कमाइरहेकाहरूले बसिरहेको ठाउँ छाड्न पर्दैन। छोराछोरीलाई राम्रो शिक्षाका लागि ठूला शहरमा वा स्कूलका लागि नाम कमाएका ठाउँमा बस्ने बाध्यता छँदैछ। विशेष स्वास्थ्य सुविधा चाहिने व्यक्तिहरूले त झ्न् शहर छाड्नै मिल्दैन। आफ्नो क्षमता, चाहना र आवश्यकता स्पष्ट हुनासाथ यस्ता गाँठाहरू फुक्छन्। यति यति कारणले शहरको भन्दा गाउँको बसाइँ सुन्दर हुन्छ भन्ने भएपछि विभिन्न चरणमा 'उम्किने' योजना बनाउन सकिन्छ।

हामीले गाउँको बसाइँलाई धेरै रोमान्टिक भएर हेरेका छैनौं। मन मिल्ने केही साथीहरूसितको साझ्ेदारीमा स–साना उद्यम गर्ने योजना बनाएका छौं। यस वर्ष १० वटा गाई पाल्छौं र भेटे पाएका राम्रा बाच्छीहरू किन्छौं। दूध मात्र बेचेर फाइदा हुँदैन भन्ने हाम्रा साथीहरूको अनुभव छ। उनीहरू दशैंअघि नै इलाममा नामी बम्बइसन बनाउन तातेका छन्। सडकछेउमा एउटा सानो गाँसबास उद्यम पनि चलाउँछौं। इलामको आइतबारे बजारछेउमा 'बर–पीपल बिसौनी' नाम दिइएको होटल असोजको पहिलो सातादेखि नै चलाउने योजना थियो, मरम्मत–सम्भारको काम गर्ने मान्छेको कमीले त्यो अलिकति पछाउला जस्तो छ। र पनि, दशैंताका सुरुआत गर्न सकियो भने हामीलाई लक्ष्यभन्दा धेरै पछिपरेको अनुभव हुनेछैन।

अलिपछि केही 'चियाबारी कटेज' हरू बनाउँछौं। कार्यशाला, सेमिनारहरू गर्ने थलोको पनि विकास गर्छौं। इलामको शैक्षिक/अवलोकन भ्रमणमा आएका टोलीहरूलाई श्रव्यदृश्यसहित जिल्लाको जानकारी दिने र एउटा कोसेली पसल चलाउने अर्को योजना छ। स्थानीय रेडियोहरूका लागि एक–दुई वटा कार्यक्रम बनाउने–चलाउने पनि हाम्रो रहर छ। हाम्रो योजनासित तालमेल मिलाउँदै काठमाडौंको सहयात्रा टूर्स नामक कम्पनीले 'इलाम प्याकेज' बनाएको छ। कति साथीले तालिम घर चाँडो बनाओ, आगामी तालिम इलाममा राखौंला भनेका छन्। हामीले धेरैको साथ पाएका छौं र हामी धेरैलाई साथ दिन तयार भएका छौं।

केही कमी
काठमाडौंमा नहुने बित्तिकै धेरै कुराको कमी हुन्छ। सम्पर्कहरू पातलिन्छन्, निम्ताहरू आउन छाड्छन्। आयस्ता घट्छ, औपचारिकताहरू कम हुन्छन्र सुविधाहरूबाट वञ्चित हुनुपर्छ। अहिलेलाई हामी १०० वर्ग फीटको कोठामा भान्सासहित अटाएका छौं। सबभन्दा नजिकको पसलमा पुग्न १५ मिनेट हिंड्नुपर्छ। दैनिक आवश्यकताका सबै सामान पाइने बजार झ्ण्डै आधा घण्टाको दूरीमा छ। तर, यहाँ सुविधाहरूसँगै प्रतिकूलताहरूको पनि कमी छ।

आफूलाई निकै शान्त ठान्ने व्यक्तिले पनि काठमाडौंमा नरिसाई धर पाउँदैन। अन्त संयमित रहे पनि सडकमा व्याप्त अराजकताले भड्काएको रीस यदाकदा फोहोरी गालीका रूपमा मुखबाट निस्किइहाल्छ। सडकमा बलेंसी झ्ार्नेहरूसित रीस उठ्छ, गाडीमा नाङ्गा छड हालेर हिंड्नेहरूसित झवाँक चल्छ। कुखुरालाई उँधोमुन्टो लगाएर कुदाउनेहरूसित दिक्क लाग्छ। धारामा पानी नआउँदा मात्र होइन, 'हाम्रोमा त जत्ति पनि आउँछ' भन्दै खानेपानीले गाडी धुनेहरू देख्दा पनि रीस उठ्छ। काठमाडौंमा कसै न कसैसित नरिसाई दिन बित्दैन। रीस उठाउने कुराहरूको सूची एकदमै
लामो हुन्छ।

आफ्नो सामानहरू बसको छतमा हालेर घर फर्किंदा थानकोट आइपुगेपछि हामीले अब हाम्रो जीवनमा अरू के केको कमी होला भनेर कुरा गरुर्‍यौं। अरू कुरा त अहिले थाहा छैन तर रीस र रीस उठ्दा प्रसङ्गहरू भने निश्चय नै कम हुनेछन् भन्ने भयो। इलाममा अहिले हामी यस्ता अनेक किसिमका कमी र अनेक प्राप्तिहरूको तालमेल मिलाउने प्रयासमा छौं।

comments powered by Disqus

रमझम