देश नछाडेका लाहुरेहरू ब्याङ्क तथा वित्तीय संस्था, विद्यालय, हाइड्रोपावर, रियलस्टेट, म्यानपावर, डिपार्टमेन्टल स्टोर, पेट्रोल पम्प, फर्निचर उद्योग, बन्द–व्यापार र बंगुरपालनदेखि कृषि उत्पादनसम्मका क्षेत्रमा सक्रिय छन्। विदेशको अवसर छाडेर राजधानी सहित धरान, दमक, इटहरी, पोखरा, बुटवल लगायतका शहरमा उद्योग–व्यवसायमा लागिपरेका लाहुरे मनग्ये भेटिन्छन्। 'गोर्खा' ब्राण्डको प्रवर्द्धनमा कटिबद्ध प्रेम बेघा, पुरञ्जन राई, देशको शिक्षा सुधार्न लागिपरेका बाँकेका केशरबहादुर आले मात्र होइन, पोखराका लक्ष्मीप्रसाद गुरुङ, दमकका मेहेरमान लिङ्देन, धरानका गजेन्द्र इस्पो, इटहरीका कर्णबहादुर राई लगायतको लगाव र सक्रियता सबैका लागि उदाहरणीय छ (हे.बक्सहरू)।
स्वदेशमै लगानी र सेवा
नेपाली समाजका लागि लाहुरेको कमाइ र सीप नयाँ होइन। धरान, पोखरा, बुटवल, इटहरी, दमक, भैरहवा लगायतको विकास लाहुरेहरूकै देन मानिन्छ। पोखराको अमरसिंह उमावि (पहिला सोल्डर बोर्ड भोकेशनल ट्रेनिङ स्कूल) र धरानको डिपो उमावि लाहुरेकै कमाइबाट जन्मेका हुन्।
राजधानीमा मात्रै तीन दर्जन भन्दा बढी सहकारी, डिपार्टमेन्टल स्टोर र विद्यालय लाहुरेका लगानीमा सञ्चालित छन्। मलाया, बोर्नियो, इन्डोनेसिया र ब्रुनाई क्याम्पेन सकिएपछि २०२६ सालमा ब्रिटिश सरकारले गोर्खा फौजमा गरेको व्यापक कटौतीमा परेर फर्किएका लाहुरेहरूले फाट्टफुट्ट उद्योग–व्यवसायमा लगानी थालेका थिए। त्यसवेला लाहुरेहरूले धरान र पोखरामा यातायात सेवामा पनि लगानी गरे। धरानमा लाहुरेहरूको बूढासुब्बा मोटर सर्भिस र पूर्वाञ्चल यातायात सेवा धेरै समय चलेर बन्द भयो भने पोखरामा यातायातसँगै वित्त, होटल र व्यापारमा लाहुरेहरूले राम्रो प्रगति गरेका छन्।
राजधानीदेखि पोखरासम्म विस्तार भएको भाटभटेनी सुपर मार्केटको सफलतामा पनि लाहुरेको योगदान महत्वपूर्ण छ। १८ वर्षअघि बेलायती सेनाको कर्पोल पदबाट रिटायर हुनासाथ पहलसिंह गुरुङले आफ्ना दाजु मीनबहादुरले थालेको व्यापारलाई काँध दिएका थिए। उनी पल ट्रेडिङ मार्फत आयात–निर्यात कारोबार पनि गरिरहेका छन्। “अहिले ३ हजार ५०० जनालाई रोजगारी दिएका छौं”, भाटभटेनी सुपरमार्केटका निर्देशक रहेका गुरुङ भन्छन्, “५० हजार रोजगार सिर्जना गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं।”
काठमाडौंमा २०५७ सालमा शुरू भएको गोर्खा मिलेनियम बहुउद्देश्यीय सहकारीको चुक्ता पूँजी अहिले रु.८ करोड पुगेको छ। ७०० जना लाहुरे शेयरधनी रहेको यो वित्तीय संस्थाले सोलुखुम्बुको जुनबेंसी खोलामा रु.१ अर्ब २० करोड लगानीमा ५.२ मेगावाटको दुबन हाइड्रो पावरको काम थालेको छ। यो संस्था कोटेश्वरस्थित ग्रामर पब्लिक कलेजको संचालक पनि हो। संस्थाले सहकारी, शिक्षा र हाइड्रोपछि कृषि क्षेत्रमा लगानी गर्ने तयारी गरिरहेको अध्यक्ष पुनञ्जन राई बताउँछन्। यसैगरी, २०५४ सालमा १०० जना लाहुरेले रु.२५ लाख जम्मा गरेर काठमाडौंमै शुरू गरेको गोर्खा सेभिङ एन्ड क्रेडिटले रु.१ अर्ब ७१ करोडको कारोबार गर्न थालेको छ। संस्थाका अध्यक्ष इमानसिंह राई गैर–लाहुरे समेत गरेर ४ हजार शेयर सदस्य पुगेको बताउँछन्।
एकताका हङकङको व्यवसायमा जमेका तेजबहादुर राई स्वदेशमै उद्योग र हाइड्रो पावरमा लगानी गर्न काठमाडौं फर्केको बताउँछन्। ललितपुरको सुनाकोठीमा घर भएका राईले पाँचथरमा फेमे खोला–हिवा खोला हाइड्रो र गोदावारीमा मिनरल वाटर उद्योग खोल्नुका साथै मुगुमा विद्युत् र रिसोर्ट खोल्ने योजना बनाइरहेको बताए। राई भन्छन्, “तर, सरकारी तहबाट पर्याप्त सहयोग पाउन सकिएको छैन।”
२०३२ सालमा पोखरामा चाइनिज मेशीनबाट नुडल्स् उत्पादन गर्ने भूपू–ब्रिटिश–गोर्खा फणिन्द्रमान श्रेष्ठलाई नेपालमा सिन्के नुडल्स् प्रवेश गराउने पहिलो उद्यमी मानिन्छ। श्रेष्ठको त्यही प्रयासले पछि गण्डकी नुडल्स्को रूप लियो। नेपालमा तयारी चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी पनि यही हो। कम्पनीको अध्यक्ष भएर गण्डकी नुडल्स् हाँकेका वृषबहादुर गुरुङ पनि ब्रिटिश आर्मीका पूर्व मेजर थिए। उनी सहितका लाहुरेको लगानीमा शुरू भएको गण्डकी नुडल्स्बाट उत्पादित नेपालकै पहिलो तयारी चाउचाउ रारा अझ्ै पनि लोकप्रिय छ। अर्का पूर्व गोर्खा मेजर पूर्णबहादुर गुरुङले पोखरामा 'ब्रिटिश भूतपूर्व सैनिक क्लब' खोलेर लाहुरेहरूको लगानीलाई संगठित गर्ने काम थालेका छन्।
लाहुरेहरूकै लगानीको पोखरा फाइनान्स, गण्डकी ब्रिक फ्याक्ट्री जस्ता उद्योगहरू डेढ दशकअघि नै खुले। पूर्व गोर्खा मेजर रामबहादुर गुरुङले १५ वर्षअघि रु.२ करोड खर्चेर ७०० रोपनी जमीनमा हिमालयन गल्फ कोर्स बनाए। पोखरामा पर्यटकको आकर्षण बढाएको गोर्खा भिलेज रिसोर्टमा पनि मेजर गुरुङको लगानी छ। पूर्व क्याप्टेन मानबहादुर गुरुङ पोखरा उपमहानगरपालिकाका उप–मेयर बनेका थिए। मेयर बनेका हर्कबहादुर गुरुङलाई भने माओवादीले २०६० सालमा हत्या गर्यो। हाल क्याप्टेन भुवनसिंह गुरुङ पोखरा फाइनान्सको अध्यक्ष र दिलबहादुर गुरुङ फेवा फाइनान्सको अध्यक्ष छन्। पोखराकै ब्रिटिश लाहुरे बसन्त भुजेल र उनका भाइ भुवनले १५ वर्षअघि बाग्लुङ र गुल्मी सीमाको दरम खोलामा थालेको पाँच मेगावाटको हाइड्रो पावर भने असफल भयो। २०० भन्दा बढी लाहुरेले रु.१ अर्बभन्दा बढी लगानी गरेको यो कम्पनी डुबेपछि बसन्त अमेरिका पलायन भए।
बेलायतको अवसर छाडेका अर्का भूपू लाहुरे शेरमान हुक्पाचोङवाङ धरानका ठूला सुन व्यापारीमध्ये पर्छन्। यसैगरी, प्रेम हुक्पाचोङवाङले दर्शन डिपार्टमेन्टल चलाएका छन् भने दिपेन राईले काष्ठ उद्योग। सैलुङ डिपार्टमेन्ट स्टोरका मालिक धर्मराज राईले जुनियर पायनियर स्कूल खोलेका छन् भने घनेन्द्र लिम्बूले माउन्ट मोरिया स्कूल चलाइरहेका छन्। मुगाधन तामाङ जस्ता आफ्नै घरमा हार्डवेयर वा अरू किसिमको पसल चलाएर बसेका लाहुरे धरानमा थुप्रै भेटिन्छन्।
इटहरीमा २१९ जना लाहुरेको लगानीमा २०६१ सालमा खुलेको भूपू गोर्खा इन्टरनेशनल डिपार्टमेन्ट स्टोरका ८० प्रतिशत लगानीकर्ता बेलायत गए पनि यहीं बसेर डिपार्टमेन्ट स्टोर चलाउने टोलीको नेतृत्व कर्णबहादुर राईले गरेका छन्। समाजसेवाको क्षेत्रमा पनि राईको प्रशंसनीय सक्रियता छ। उनी वंशावली लेखनदेखि सामुदायिक भवन निर्माणसम्मका काममा तन, मन र धनका साथ जुटेका छन्। इटहरीकै मीनबहादुर मेघाले डन वस्को विद्यालय र कृष्णकुमार लिम्बूले भृकुटी सेकेन्डरी स्कूल चलाइरहेका छन्। सुनसरीको पकलीमा शेरबहादुर लिम्बूले पवित्र ईंट्टा भट्टा र रामप्रसाद राईले सामुदायिक स्वास्थ्थ केन्द्र संचालन गरेका छन्।
उता दमकको व्यापार–व्यवसायमा भिजेका घनेन्द्र योङ्या (५५) ले मदिरा, ग्याँस र चाउचाउको डिलरका साथै सहकारी, अस्पताल, ठेक्कापट्टा, विकास ब्याङ्क र घरघडेरीमा लगानी गरेका छन्। उनी घरघडेरीमा त 'पाँच लगानीले पन्ध्र आयस्ता' हुने बताउँछन्। सँगै बुट बजारेका साथीहरू बेलायतमा महीनामा दुई लाखसम्म कमाइरहेको बताउने उनी भन्छन्, “म चाहिं यहाँ डटेर लागें भने मासिक रु.४ लाखसम्म कमाइदिन्छु।” दमक उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका योङ्या राप्रपा नेपालका केन्द्रीय सदस्य समेत हुन्।
दमककै सगरमाथा आयल सेन्टरका मालिक टीकाराम पीठाकोटे पनि पूर्व ब्रिटिश–गोर्खा सैनिक हुन्। दुई वटा ट्याङ्कर समेत चलाएका उनले १४ जनालाई रोजगारी दिएका छन्। गत वर्ष सरकारलाई रु.१५ लाख आयकर बुझाएका पीठाकोटेले ३८ लाखमा व्यापार शुरू गरेको बताए।
राज्यको बेवास्ता
सन् १८१४–१६ को नेपाल–युद्धताका बलभद्र कुँवर लगायत केही गोर्खाली लडाकू पञ्जाबका राजा रणजीत सिंहको सेनामा भर्ती हुन लाहौर गएका थिए। त्यही लाहौरबाट जन्मिएको 'लाहुरे' शब्द आज नेपाल भित्रिने रेमिट्यान्सको पर्यायवाची भएको छ। २०० वर्षपछि आइपुग्दा नेपालीको 'लाहुर जाने' चलन गुणात्मक हिसाबले बढेको छ। ब्रिटिश–गोर्खा र भारतीय–गोर्खासँगै कामका लागि विश्वका विभिन्न कुनामा आउजाउ गर्ने नेपालीको संख्या ३० लाख नाघेको छ।
२०२८/२९ सालसम्म नेपालको सबभन्दा ठूलो विदेशी मुद्राको स्रोत ब्रिटिश लाहुरेहरूको कमाइ नै थियो। बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार हुनुअघि नै गोर्खाहरूले नेपाली संस्कृति विदेश पुर्याउन र विदेशी मुद्रा नेपाल भित्र्याउन थालेको अर्थविद् केशव आचार्य बताउँछन् (हे.बक्स)। वैदेशिक रोजगारीको सुरुआत गरेर पहिलो पटक विदेशी मुद्रा भित्र्याउने गोर्खाली समुदायलाई राज्यले भने सधैं उपेक्षा गरेको उनी बताउँछन्। “नेपाल सरकारले लाहुरेको कमाइ र सीपको सदुपयोग गर्नतिर कहिल्यै लागेन” आचार्य भन्छन्, “अब राष्ट्र ब्याङ्क, योजना आयोग र उद्योग वाणिज्य संघहरूले यसतर्फ विचार पुर्याउनुपर्छ।”
समाजशास्त्री डा. गणेश गुरुङ राज्यले लाहुरे समुदायलाई ध्यान दिएको भए बेलायतमा आवासीय भिसा सुविधा पाउनासाथ उनीहरूले गाउँ रित्ताएर हिंड्ने अवस्था आउने थिएन भन्छन्। उनका अनुसार, विदेशबाट आएको लाहुरेहरूको कमाइलाई सरकारले दुई शताब्दीमा पनि रातो किताबमा राखेर व्यवस्थित गरेन, चाहेन। डा. गुरुङका अनुसार, लाहुरे समुदाय भनेको पैसा भएको, अनुशासित, मिहिनेती र आपराधिक गतिविधिबाट टाढा रहने जनसंख्या हो। डेढ दशकअघि डेविड सेडन र जगन्नाथ अधिकारीसँग मिलेर 'नेपालको रेमिट्यान्स अर्थतन्त्र' को अनुसन्धान गरेका डा. गुरुङ भन्छन्, “नेपालमा लाहुरेको कमाइलाई पूँजीमा परिणत गर्ने प्रयासै भएन।”
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत भने सरकारले लाहुरे समुदायलाई कहिल्यै उपेक्षा नगरेको बताउँछन्। लाहुरेको पेन्सनमा कर छुट गरेको नेपाल सरकारले उनीहरूलाई यहाँको सम्पत्ति बेचेर विदेश जाँदा समेत उदारता देखाएको डा. महतको भनाइ छ। “द्वन्द्व र राजनीतिक अस्थिरताको मार सबैमाथि परेको छ, व्यवसायमा लगानी आफैंले गर्ने हो राज्यले उद्योग, व्यवसाय खोल्न, विदेशी लगानी भित्र्याउन कसैलाई रोकेको छैन”, डा. महत भन्छन्, “यहीं बसेर पेशा–व्यवसाय गर्ने गोर्खाहरूलाई राज्यले उपेक्षा गर्दैन।”
लाहुरे पलायन
पाँच वर्षअघिसम्म बेलायती लाहुरेहरूले वार्षिक रु.६ अर्बभन्दा बढी 'रेमिट्यान्स' नेपाल भित्र्याउँथे। अहिले करीब ३८ हजार भूपू र करीब २५०० सेवारत ब्रिटिश–गोर्खाको पेन्सन, तलब भत्ता र सुविधा गरी मासिक करीब रु.१ अर्ब कमाइ हुन्छ। आवासीय सुविधा उपभोग गर्न बेलायत पुगेका भूपू र तिनका परिवार समेतको कमाइ जोड्ने हो भने यो रकम रु.४ अर्बको हाराहारीमा पुग्छ।
१ जुलाई १९९७ पछि सेवा निवृत्त भएका पूर्व गोर्खाहरूलाई आवासीय भिसा दिने २००४ को बेलायत सरकारको निर्णयपछि नेपाल भित्रिने रकम बेलायतमा रोकिन थालिसकेको थियो। १४ असोज २०६५ मा १९९७ को रेखा मेटिएर सबै गोर्खा भूपूले आवासीय भिसा पाउने भएपछि त नेपालमा संचालन भइरहेका लाहुरेहरूको व्यवसायमा समेत धक्का लाग्न पुग्यो। लाहुरेहरू व्यवसाय बन्द गरेर, घरजग्गा समेत बेचेर बेलायत जाने क्रम बढ्यो। सबैले आवासीय सुविधा हुनुअघि कार्यरत ३५०० लाहुरे, तिनका परिवार र १९९७ अघि पेन्सन भएका युवा लाहुरेहरू बेलायतमा थिए। त्यसपछि नेपालबाट जाने अघिल्लो पुस्ताका बूढा लाहुरेहरूको संख्या ह्वात्त बढ्यो।
धमाधम विदेशिने क्रम बढेपछि लाहुरेको संख्या बढी भएका धरान र पोखरा जस्ता शहरको अर्थतन्त्र प्रभावित भयो। लाहुरेहरूको पलायनसँगै वर्षेनि भित्रिने रेमिट्यान्समा समेत ठूलो असर परेकाले त्यसको मार स्थानीय व्यापार–व्यवसायमा परेको छ। बेलायतले कम्तीमा चार वर्ष सेवा गरेका सबै गोर्खा भूपू र विधवालाई आवासीय सुविधा दिएपछि १८ वर्ष उमेर नाघेका छोराछोरी बाहेक प्रायः सबै त्यसको हकदार भए। अनि गाउँ–शहरका धेरैजसो ब्रिटिश–गोर्खाहरू बेलायत जाने तयारीमा लागे। यस क्रममा धेरैले घरजग्गा समेत बेचे।
अहिले सेवारत लाहुरेहरूले वार्षिक १ करोड ५० लाख पाउण्ड जति कमाउँछन्। तिनका परिवारको समेत गरेर करीब अढाइ करोड पाउण्ड जति वार्षिक कमाइ हुन्छ। त्यस्तै, बेलायत पुगिसकेका १९९७ पछि अवकाश प्राप्त ७ हजार गोर्खा (परिवारसहित २८ हजार) ले आफ्ना लागि खर्च गरेर पनि वर्षमा साढे १७ करोड पाउण्ड जति कमाइ गर्छन्। यसबाहेक बेलायतमा रहेका अन्य ८० हजार जति नेपालीले खर्च कटाएर पनि वर्षमा करीब ५८ करोड पाउण्ड कमाउने अनुमान छ।
साथमा गोपाल गडतौला दमक, सीता मादेम्बा धरान, माधव बराल पोखरा र तुफान न्यौपाने नेपालगञ्ज
'सुविधाको लागि देश छोड्नु उचित होइन'
१५ वर्षे सैनिक सेवाका क्रममा हङकङ, ब्रुनाई, फ्रान्स, जर्मनी, सिंगापुर, अमेरिका लगायतका देशमा बसेका बेघा नेपाल जतिको अवसरयुक्त मुलुक अरु नभएको बताउँछन्। तर, कतै नलागी नेपालमै केही गर्छु भन्ने अड्डी लिंदा उनले पारिवारिक–सामाजिक दबाब पनि खेपेका छन्। बेलायत गएका साथीहरु 'पछि पछुताउनु पर्ला' भन्दै फोन गर्दा उनलाई केही फरक पर्दैन, तर कहिलेकाहीं श्रीमती प्रेमकुमारीले चित्त दुखाउँदा अप्ठ्यारो लाग्छ। तर पनि बेघा भन्छन्, “हामीले २०० वर्षसम्म त अरुकै देशको लागि लड्यौं, मर्यौं, आफ्नै देशको लागि चाहिं के गर्यौं?”
उनको ध्याउन्न गोर्खाली समुदायलाई एकताबद्ध गरेर देशभित्रै केही गर्नेमा छ। गोर्खा सञ्चार सहकारी र एफएमको व्यवस्थापनमा व्यस्त रहँदा पाँचथरमा आमा मनमायाको देहान्त भयो। पूर्व सञ्चालकहरुले डुबाएको गोर्खा विकास ब्याङ्कमाथि राष्ट्र ब्याङ्कले हस्तक्षेप गरेका वेला दौड्दा दौड्दै उनका बुबा हकप्रसाद ओम अस्पतालको आईसीयूमा थिए।
छोराछोरीलाई बेलायतमा गुणस्तरीय शिक्षा दिने कुरामा पनि बेघाको धारणा फरक छ। उनी देशको शिक्षा खत्तम छ भनेर विदेश जानुलाई गलत ठान्छन्। उनी भन्छन्, “अग्रजहरुले स्वदेश फर्केर गाउँ–गाउँमा स्कूल खोले, सीप सिकाए भने अब त हामीले आफ्नो शिक्षाको गुणस्तर बढाउने पो हो त।”
'बेलायत छाडेर स्कूल चलाउँदै'
व्यवस्थापन र विज्ञान संकायमा सञ्चालित यो उमाविले एसएलसी शुरू भएको १० वर्षसम्म शतप्रतिशत नतीजा ल्यायो। बाँकेको यो एउटा मात्र निजी स्कूल हो, जसले दुई पटक क्षेत्रीय शिक्षा पुरस्कार जित्यो। साढे दुई बिघा क्षेत्रफलमा रहेको विद्यालयका ९ भवन र पाँच वटा स्कूल बस छन्। खेल मैदान, प्रयोगशाला र पुस्तकालय पनि उदाहरणीय छन्। विद्यालयका संस्थापकमध्ये धेरैजसो बेलायत गएका छन्। दुई वटा साधारणसभा पनि उतै गरे। “सबै छट्पटाउन थालेपछि जाने जति जाऊ, स्कूल चलाउँछु भनें”, आले भन्छन्, “श्रीमतीले पनि किचकिच गरिन्, तर मलाई कतै जानु थिएन।”
आलेले यो विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउन ठूलै संघर्ष गरेका छन्। २०५७ मा शेयर उठाउँदै गर्दा माओवादीले बोर्डिङ बन्द गर्ने भनेपछि मान्छेहरु हच्किए, ब्याङ्कले ऋण दिन मानेन। र पनि, काम नरोकेपछि माओवादीले स्कूलमा बम पड्काइदिए। तर आले पछि हटेनन्। “फौजी भएकाले मात्र, नत्र उतिखेरै विस्थापित भइसकेको हुन्थें म”, आले भन्छन्।
'यहीं सम्भावना पहिल्याऊँ'
बेलायती सेनाबाट सन् १९९३ मा रिटायर्ड भएका गजेन्द्र इस्पो (५६) त्यसयता लगातार धराने समाजमा सक्रिय छन्। बेलायत जाने अवसरलाई थाती राखेका उनी देशमै केही गर्नुपर्छ भन्दै लाहुरे समुदायलाई संगठित गरिरहेका छन्। भानुचोकको नवनिर्मित रु.५ करोडको गोर्खा सपिङ कम्ल्पेक्स उनकै परिकल्पना हो। १२ वर्ष अघिदेखि उनकै अगुवाईमा स्थापना भएको गोर्खा बचत तथा ऋण सहकारी संस्थाले करोडौंको कारोबार गर्न थालेको छ। यसको पुर्जी मात्रै रु.३८ लाखबाट १६ करोड पुगेको छ। “यहाँको सम्भावना नपहिल्याई छोराछोरीको नाममा बाहिरिनु गलत हो।” सपरिवार धरानमै बसेका इस्पो भन्छन्, “सबै चिज बनिबनाउ खोज्दै हिंड्ने हो भने हाम्रो आफ्नै ठाउँमा चाहिं केही बन्दैन, केही हुँदैन।”
व्यस्त लाहुरे बा
दमक–११ का मेहेरमान लिङ्देन (७०) बिहान आठ बजे घरको भुईंतलामा रहेको फाल्गुनन्द सहकारी संस्थामा हाजिर भइसक्छन्। अध्यक्ष समयमा कार्यालय आएपछि कर्मचारी पनि सोही अनुसार गर्छन्। आफू अध्यक्ष रहेको सप्तरंगी एफएममा दिउँसो केही समय बिताएपछि लाहुरे बा आफ्नै मिनी मार्केटमा पुग्छन्। त्यसबाहेक घरघडेरी कारोबारमा समेत हात हालेका उनी दमकका चार वटा सहकारीका पनि शेयरधनी हुन्। “उमेरमा गोरा साहेबहरुको हुकुम बजाउँदैमा हैरान भइयो”, उमेरका कारण व्यावसायिक सक्रियता कम गर्दै लगेका लिङ्देन भन्छन्, “आखिर खुशी भनेको त यहीं रहेछ नि!”
'विदेशमा आत्मसम्मान हुँदैन'
सोलुखुम्बु सल्यानका यसराज राई (६०) ले राजधानीको सुकेधारा चोकमा जिमी ग्रोसर डिपार्टमेन्टल स्टोर चलाइरहेका छन्। १५ वर्षअघि बालुवाटारमा १०० जना लाहुरे सहित २२५ जनाले खोलेको गृहिणी डिपार्टमेन्टल स्टोरका उनी प्रबन्ध निर्देशक थिए। २०६१ देखि लाहुरेहरु शेयर झिकेर बेलायत जान थालेपछि उनले जिमी ग्रोसर खोले। यसमा लाहुरे भाइ सूर्यधनको पनि साथ रह्यो। स्टोरले वार्षिक रु.५ करोडको कारोबार गर्ने राई बताउँछन्। सगरमाथा मर्चेण्ड एण्ड फाइनान्स लिमिटेडका संस्थापक शेयरधनी रहेका उनी ललितपुरको हरिसिद्धिस्थित विश्वविद्या मन्दिर स्कूलका संचालक समितिका अध्यक्ष पनि हुन्। राई भन्छन्, “विदेशमा आत्मसम्मान नहुने भएर बेलायत नजाने विचार गरेको हुँ।”
'सबैले पत्याउन थालेका छन्'
३० वर्ष ब्रिटिश गोर्खा पल्टनमा बिताएका मेजर लक्ष्मीप्रसाद गुरुङ ले ब्रिटिश, सिंगापुर र भारतीय सेनाका पूर्व लाहुरेको संगठित लगानीका लागि २०६६ सालमा गोर्खा कम्युनिटी गठन गरे, जसमा अहिले ८०० सदस्य छन्। संस्थाले गोर्खा बचत तथा ऋण सहकारी, गोर्खा उपभोक्ता पसल, गोर्खाली रेडियो, गोर्खा एण्ड बाराही ज्वेलरी र गोर्खा अर्गानिकमा लगानी गरेको छ। सहकारीले वार्षिक रु.१७ करोडको कारोबार गर्ने गरेको छ। रु.३ करोड ५० लाखको लगानीमा अर्गानिक तथा रिसर्च सेन्टर खोल्न लागिएको छ। “लाहुरेले व्यापार–व्यवसायको कुरा गर्दा समाजले हत्पत्ति नपत्याउँदो रहेछ,” उनी भन्छन्, “कामै देखाउन थालेपछि पत्ताउन थालेको छ।”
विदेशिएकाबाट देशले फाइदा लिन सक्छ
नेपाली अर्थतन्त्रमा ब्रिटिश गोर्खा सैनिकको योगदान महत्वपूर्ण रहँदै आए पनि राज्यले उनीहरुको योगदानलाई सदैव नजर अन्दाज गर्दै आएको छ। नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध स्थापना हुनु अघिदेखि नै नेपालमा विदेशी मुद्रा भित्र्याउने पहिलो समुदाय लाहुरे नै थिए।
सन् १८१६ देखि नै अर्थोपार्जनका लागि विदेशी सेनामा भर्ती भएर गोर्खालीहरुले नै वैदेशिक रोजगारीको ढोका खोलेका हुन्। उनीहरुले विदेशी मुद्रा देशभित्र भित्र्याउनुका साथै नेपाली भाषा, संस्कृति र पहिचानलाई विश्वव्यापी बनाए। नेपाल र यहाँको समाजमा आर्थिक, सांस्कृतिक, भाषिक योगदानमा लाहुरेहरुले खेलेको भूमिकालाई राज्य र समाजले बिर्सनु हुँदैन। तर, राज्य सदैव असंवेदनशील रह्यो। लाहुरे मात्रै हैन, किसान, माझी लगायतका समुदाय प्रति पनि जिम्मेवार भएन। लाहुरेहरुको योगदानको मूल्याङ्कन र सम्मान भन्दा पनि 'विदेशी भाडाका सिपाही' भनेर हेलाँ र बेवास्ता गरियो।
पछिल्लो समय बेलायतले आवासीय भिसा सुविधा दिएपछि धेरै लाहुरे गए। मुलुकले योगदानको मूल्याङ्कन र सम्बोधन पनि नगर्ने, देशभित्रै अवसर सिर्जना पनि नगर्ने, उनीहरुको लगानी र सीपको सदुपयोग पनि नगर्ने अनि विदेशिंदा देशलाई माया नगर्ने, पलायन भए भनेर भन्ने? त्यत्रो सीप र सम्पत्ति भएका, इञ्जिनियर, प्रशिक्षकदेखि विदेशको ज्ञान भएका, अनुशासित समुदायको फाइदा देशले लिन नसकेकै हो। तर, उनीहरु गए पनि विदेशमा कमाउने र अन्ततः ल्याउने यहीं हो। आफन्त, परिवार र घरघडेरी यहीं छ। भारतले विदेशिएका भारतीयहरुबाट अहिले ठूलो फाइदा लिइरहेको छ। लाहुरेहरु अहिले परिवारै विदेशिए पनि अबको ३०/४० वर्षमा देशलाई फाइदा हुनेछ। अहिलेदेखि नै अर्थ मन्त्रालय, राष्ट्र ब्याङ्क, राष्ट्रिय योजना आयोग र उद्योग वाणिज्य महासंघ आदिले लाहुरेको कमाइलाई कसरी सदुपयोग गर्ने भनेर सोच्नुपर्छ।
बेलायतको अवसर छाडेर यहीं व्यापार, व्यवसाय र समाजसेवामा लागेकाहरुको लगावलाई सकारात्मक रुपमा लिनुपर्छ। उनीहरुको सफलताले देश छाडेर जानेहरुलाई समेत फर्कन प्रेरित गर्नेछ। विदेश जानेहरु पनि अहिले विदेशिए भनेर नकारात्मक बन्न जरुरी छैन। सबै फर्कने आफ्नै देशमा हो, उनीहरुको यो 'सेक्रिफाइस' लाई सकारात्मक रुपमा लिनुपर्छ।
गोर्खाली ब्राण्ड जोगाउन जुट्दै
पूर्व सञ्चालकहरुको बदमासीका कारण राष्ट्र ब्याङ्कले समस्याग्रस्त घोषणा गरी कारबाही गरेको गोर्खा विकास ब्याङ्कलाई पुनर्जीवन दिन लाहुरेहरुको एउटा समूह लागिपरेको छ। ९ वर्षअघि स्थापना भएको यो ब्याङ्कका ७४ जना संस्थापकमध्ये ६० जना लाहुरे थिए। रु.६४ करोड चुक्ता पूँजीबाट शुरु भएको ब्याङ्कमा रु.१४ करोड मात्रै लगानी थियो, तर ब्याङ्क डुब्दा बढी बदनामी 'गोर्खा ब्राण्ड' कै भयो। संस्थापकमध्येका प्रेम बेघा गोर्खा ब्याङ्क कहिले नउक्सिने गरी डुब्यो भने गोर्खाली नाम सधैंका लागि बदनाम हुने भएकाले यसलाई जोगाउन लागिपरेको बताउँछन्।
हाल राष्ट्र ब्याङ्क आफैंले व्यवस्थापन गरिरहेको यो ब्याङ्कको सञ्चालन जिम्मेवारी चाँडै लाहुरेहरुको नयाँ समूहमा हस्तान्तरण हुँदैछ। समस्याग्रस्त घोषित हुँदा रु.५ अर्बको कारोबार गरिरहेको ब्याङ्क सञ्चालनका लागि राष्ट्र ब्याङ्कले रु.६७ करोड नयाँ लगानी माग गरेकोले लाहुरेहरुले 'गोर्खा विकास ब्याङ्क बचाउ अभियान' चलाएका छन्। अभियानका संयोजक पुरञ्जन राईका अनुसार, यसका लागि बेलायत, हङकङ, सिंगापुर, ब्रुनाई र नेपालका ३०० जना लाहुरेबाट रु.३० करोड संकलन भइसकेको छ। रु.५० करोड जम्मा गरेपछि राष्ट्र ब्याङ्कले ब्याङ्क हस्तान्तरण गर्ने राईले बताए। उनी भन्छन्, “सञ्चालन अधिकार पाएपछि यो ब्याङ्कलाई हामी नमूना ब्याङ्क बनाएर देखाउनेछौं।”