१९-२५ माघ २०७० | 2-8 February 2014

सकारात्मक खबरदारीको खाँचो

Share:
  
- शेरबहादुर तामाङ

संविधानसभा सार्वभौम नेपाली जनताको भाग्य र भविष्य फैसला गर्ने, इतिहासमा एकचोटि निर्माण हुने जनप्रतिनिधिमूलक संस्था हो। नेपाली जनताले २००७ देखि आवश्यकता महसूस गरे पनि २०६४ मा मात्र संविधानसभाको निर्वाचन भयो। तर, त्यसले संविधान दिन सकेन र ४ मंसीर २०७० मा दोस्रो निर्वाचन गर्नुपर्‍यो। यो संविधानसभाले चाहिं नेपाली जनताको अपेक्षा अनुरूप संविधान दिन सक्छ भन्ने अपेक्षा र आशामा छौं। किनभने यो निर्वाचनमा जनताले धेरै विवादित मुद्दामा छिनोफानो गरेका छन्। संघीयताको मुद्दामा बहुपहिचानलाई स्थापित गरेको छ।

पहिचानको नाममा एकल जातीय वा भौगोलिक दृष्टिकोणलाई जनताले नकारेका छन्। मौलिक अधिकारसँग सम्बन्धित मुद्दाहरूमा भने राजनीतिक दलहरूबीच अघिल्लो संविधानसभामै सहमति भइसकेको छ। संघीयता, शासकीय स्वरुप, नागरिकता र समानुपातिक समावेशी प्रतिनिधित्वबारे चाहिं विवाद कायमै छ।
राजनीतिक दलहरू संविधानको सवालमा आम सहमतिका लागि प्रयत्नरत देखिए पनि सहमतिको नाममा विगतमा जस्तै विभिन्न संयन्त्र बनाएर संविधानसभा बाहिर सहमति खोज्ने कसरत गरियो भने समयमा संविधान नबन्न सक्दछ। अहिले पनि संविधानसभा विना बिजनेश बसिरहेको छ। विषयगत समिति बनाएर संविधान निर्माणको प्रक्रिया आरम्भ गर्न ढिला हुन लागिसकेको छ।

संविधानसभाको गठन हुँदा हामीले प्रत्यक्ष र समानुपातिक मिश्रित प्रणाली अपनायौं। तर, समानुपातिक तर्फबाट आएका निम्न वर्गबाट प्रतिनिधित्व गर्ने सभासदहरूलाई खिसीटिउरी गरियो। उनीहरूको सभासद बन्ने हक नभए जसरी समाचार छापिए। महिला सभासदहरूलाई पनि निशाना बनाइयो। संविधान नबन्नुको दोष पनि सभासदहरूलाई दिइयो। तर, संविधान नबन्नुको दोषी सभासद मात्र थिएनन्। संविधानसभा विघटन हुनुका अरू कारणलाई ढाकछोप गर्ने प्रयत्न गरियो।

अहिले पनि नेपाली जनताले आफ्ना प्रतिनिधिहरूको गतिविधि मिडियाले दिने सामग्रीबाट थाहा पाउने हुन्। तर, सभासदले कस्तो लुगा लगाउँछन्, टोपी कुन रंगको लगाए, लिपिस्टिक लगाए कि लगाएनन्, दौरा सुरुवाल किन लगाएका होलान्, कोसँग कसले कता फर्केर कुरा गरिरहेको छ, को निहुरिएको छ वा को उठिरहेको छ, कसको आँखा झिम्किएको छ जस्ता विषयको खोजी हुने गरेको छ। जनताको नजरमा प्रतिनिधिहरूप्रति नकारात्मक सोच विकास गराउन ती काम काफी हुन्छन्। जनप्रतिनिधि र जनप्रतिनिधिमूलक संस्थालाई गरिने बदख्वाइँले जनताको सार्वभौम शक्तिलाई क्षीण गराउँदछ र लोकतन्त्रप्रति प्रश्नचिन्ह उठाउँछ।

यसै प्रसङ्गमा साप्ताहिक खबरपत्रिका हिमाल मा मेरो निदाएको तस्वीर छापिएको छ। मलाई विश्वास छ, १३ मिनेट चलेको संविधानसभाको त्यो बैठकमा कोही पनि सभासद निदाएनन्। म त अझ् बैठकको कार्यसूची छेउमा राखेर हल्का घोप्टिएर हेरिरहेको थिएँ। तर फोटो खिच्दा आँखा झिम्क्याएको वेला परेकोले निदाए त्यस्तो देखिएछ। त्यहाँ देखिने अन्य सभासदको आँखा पनि चिम्लिएको जस्तो नै देखिन्छ।

अनाहकमा अपमानित हुनुपर्दाको पीडा व्यक्ति स्वयंले अनुभव गर्नुपर्छ। त्यसैले यस्ता सामग्री तयार गर्दा सो व्यक्तिको जीवनमा कति असर पार्छ भन्ने ख्याल गरिनुपर्छ। यस्तो विषयलाई हाँसो बनाउनुहुँदैन। संविधानसभाभित्र खिचिने भिजुअल र फोटोहरू सकारात्मक उद्देश्यका लागि हुनुपर्छ।

हिमाल ले स्लिप एप्निया रोगको खोजी गरेकोमा भने धन्यवाद दिन चाहन्छु। नकारात्मक प्रचारलाई सकारात्मक बनाएर पेश गर्न सक्नु राम्रो हो। जहाँसम्म मलाई स्लिप एप्निया रोग लागेको सन्दर्भ छ, ३३ वर्षको मेरो राजनीतिक जीवनमा सयौं आमसभा, हजारौं बैठक, राष्ट्रिय र जिल्ला सम्मेलनमा भाग लिएको छु। लगातार तीन–चार दिन र रात नसुतेर बिताएको छु। एमालेका धेरै नेता कार्यकर्ता मेरो खटाइ र नसुतेर काम गर्न सक्ने क्षमताको प्रशंसा गर्छन्। तर, मैले नै सुतुवाको पगरी गुथ्नु पर्‍यो। एउटा फोटो क्लिकको शिकार भएकाले केही शुभचिन्तकबाट उपचारको सल्लाह समेत पाइयो। हिमाल लाई धन्यवाद छ, मेरो कारणले भए पनि धेरै मानिसले यो रोगबारे जानकारी पाए। यो सन्दर्भमा मेरो एउटै आग्रह छ, संविधानसभा र सभासदहरूलाई नयाँ संविधान बनाउन नकारात्मक टिप्पणी भन्दा सकारात्मक खबरदारीको खाँचो छ।

(तामाङ नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य हुन्।)

comments powered by Disqus

रमझम