१९-२५ माघ २०७० | 2-8 February 2014

जाडोमा होशियार

Share:
  
- डा. सुमनराज ताम्राकार
विविध प्रकारका सागसब्जीको उपलब्धता, खानमा रुचि, धेरै आराम पाइने लामो रात आदिको दृष्टिले जाडोयामलाई राम्रो मानिए पनि अधिक उमेर, दम, हाडजोर्नी लगायतको समस्या भएकालाई यो मौसममा युरिक एसिडले धेरै सताउन सक्छ।

हाम्रो शरीरमा उत्पादन हुने तर काम नलाग्ने एउटा तत्व युरिकलाई सामान्य अवस्थामा मिर्गौलाले पिसाबबाट विसर्जन गर्छ। खानेकुरा मार्फत शरीरमा पुगेको प्रोटिन टुक्रिने क्रममा बन्ने प्युरिन तत्वको मेटाबोलिज्मको असन्तुलनबाट रगतमा युरिक एसिड बढ्दछ। वंशाणुगत कारण र विना शारीरिक परिश्रम अधिक प्रोटिन लिंदा युरिक एसिडको समस्या हुन्छ।

वंशाणुगत कारणबाट बढी उत्पादन हुने युरिक एसिड निष्काशन प्रक्रियामै समस्या हुन्छ। मिर्गौलाका रोगीमा पिसाबबाट निष्काशन नभएर युरिक एसिड थुप्रिन्छ। युरिक एसिडका करीब पाँच प्रतिशत बिरामीमा खानपिनका कारण यो समस्या हुन्छ। महिलाको दाँजोमा पुरुषलाई युरिक एसिडको समस्या हुने सम्भावना २० गुणा बढी हुन्छ।

सामान्यतः ३० वर्षभन्दा माथिका पुरुषलाई यो समस्याले बढी सताउँछ भने महिलालाई महीनावारी रोकिने उमेर काटेपछि। एकाध बच्चा र युवामा पनि यो समस्या देखिन्छ। कब्जियतको समस्या, उच्च रक्तचाप निरोधक थायजाइड औषधि सेवनकर्ता, रक्सी सेवन गर्ने, धेरै पटकको उल्टी, हड्डी भित्र रगतमासी बन्ने पदार्थको समस्याले पनि युरिक एसिड निम्त्याउँछ। मोटोपना र मधुमेह रोगले पनि युरिक एसिडको जोखिम बढाउँछ।

लक्षण र असर

सामान्यतः वयस्क पुरुषको रगतमा प्रति डेसिलिटर २ देखि ७ मिलिग्राम युरिक एसिड हुन्छ भने महिलाको रगतमा २ देखि ६ मिलिग्राम। योभन्दा बढी भयो भने उच्च युरिक एसिडको असर देखिन थाल्छ। रगतमा युरिक एसिड बढ्दा बन्ने मणिभ क्रिष्टल नामको तत्व जोर्नीहरूमा जम्मा भएर जोर्नीका साथै टेन्डन (मांसपेशी र जोर्नी जोड्ने तन्तु) सुन्निने, दुख्ने र पोल्ने हुन्छ। यसबाट लामो समय प्रभावित हँुदा जोर्नी बाङ्गिने र सेता गिर्खा बन्ने हुन सक्छ।

युरिक एसिडले खुट्टाको बूढीऔंलाको जोर्नी, गोलीगाँठा, कुर्कुच्चा, घुँडा र हातका जोर्नीलाई असर गर्छ। यी लक्षणहरू एक्कासी देखिन सक्छन्, तर ९० प्रतिशत बिरामीमा कुनै लक्षण नदेखिन पनि सक्छ। करीब १५ प्रतिशतलाई युरिक एसिडबाट बाथ रोग पनि हुन सक्छ। मिर्गौला रोगको कारण युरिक एसिड बढ्दा मूत्र प्रणालीमा पत्थरी हुन सक्छ। युरिक एसिडले केही समयको अन्तरालमा दुःख दिन्छ।

जाडोमा त्यसै पनि हड्डी र मांसपेशीहरू अररिने हुनाले यो मौसममा युरिक एसिड बढ्यो भने असह्य पीडा हुन्छ। यस्तो वेला वाकवाकी लाग्ने, कब्जियत हुने, मिर्गौलामा असर र रक्तचाप पनि बढ्न सक्छ। रगत जाँचबाट युरिक एसिडको मात्रा बढेर वा बाथ (र्‍युमाटिक) ज्वरोको कारणले जोर्नी दुख्न थालेको हो भनेर छुट्याउन सकिन्छ। जे कारणले भए पनि अत्यधिक पीडा भएको वेलामा औषधि वा सुई लिनुपर्छ। युरिक एसिडको उत्पादन नै कम गर्ने र कहिलेकाहीं स्टेरोइड लगायतका कडा औषधि पनि चाहिन सक्छ। सबैलाई एकैखाले उपचारले फाइदा नहुने भएकोले युरिक एसिडका बिरामीहरू चिकित्सकको नियमित सम्पर्कमा रहनु उत्तम हुन्छ।

खानपान र व्यायाम

युरिक एसिडको दुखाइबाट जोगिन मिर्गौलालाई जहिल्यै स्वस्थ राख्नुपर्छ। जोर्नीहरूलाई चिसोबाट जोगाउनुपर्छ। यसका साथै उच्च प्रोटिनयुक्त खानेकुराबाट युरिक एसिड बन्ने हुनाले माछा, मासु, गेडागुडी जस्ता खानेकुरा घटाउनुपर्छ। कलेजो, अण्डा, दही, तामा, अमिलो अचार–फलफूल, मोही, चुक, पालुङ्गोको साग, गोलभेंडा, मैदाका परिकार, फिंजयुक्त पेयपदार्थ, भुटेका–तारेका खानेकुरा, काउली र च्याउ पनि कम खानुपर्छ। चाउचाउ, चिप्स लगायतका जंक फूडले पनि युरिक एसिड बढाउँछ।

प्रशस्त पानी खानु र शारीरिक व्यायाम गर्नु युरिक एसिडबाट जोगिने सर्वोत्तम उपाय हो। मनग्ये पानी, नियमित शारीरिक व्यायाम र खानामा होशियारीले युरिक एसिडलाई निमिट्यान्नै पार्न नसके पनि अवश्यै नियन्त्रणमा राख्छ।

comments powered by Disqus

रमझम