१९-२५ माघ २०७० | 2-8 February 2014

'मान्छे जस्तै लाग्छन् मलाई हात्तीहरू।'

Share:
  

तस्वीरहरूः बिक्रम राई

म अहिले ४८ वर्षको भएँ। सौराहामा हात्तीलाई साथी बनाएको १७ वर्ष भयो। अहिले मैले स्याहार्ने हात्तीको नाम लक्कीकली हो। लक्कीकली र म एकै साल जन्मेका हौं। हात्तीसँग खेल्दा, तालीम दिंदा र उनीहरू बिरामी परेको वेला उपचार–स्याहार गर्दा आफ्नै सन्तान जस्तो माया लाग्छ। हात्ती पनि हामीसँग त्यसैगरी रत्तिएको हुन्छ। केही गरी हात्ती मर्‍यो भने परिवारकै सदस्य गुमाए जस्तो लाग्छ। ६ वर्षअघि मैले स्याहार्ने गरेको अनारकली हात्ती मर्दा एक साता खाना खाइनँ। ३६ वर्षमा छावा पाएकी अनारकलीलाई जति स्याहार्दा पनि बचाउन सकिएन। आमा मरेपछि छावा पनि बाँचेन। मालिकले हात्ती बेच्दा पनि निकै पीर लाग्छ।

पाँच वर्षअघिको कुरा हो, खेरु पासवान र म दुइटा हात्ती लिएर जंगल गएका थियौं। म रूखमा चढेर घाँस काट्न व्यस्त भएँ, त्यही वेला जंगली हात्ती आएछ। हाम्रा हात्तीहरू संकटको सूचना दिंदै जोड–जोडले कराउन थाले। म पनि कराउँदै हतार–हतार रूखबाट ओर्लिएर जंगली हात्ती धपाउन गएँ। उन्मत्त र आक्रामक जंगली हात्तीहरूले घेरिन लागेको देखेर खेरु त बेहोश नै भएछन्। हाम्रा हात्तीहरूले उनलाई घेरेर राखेका थिए। जंगली हात्ती नभाग्दासम्म उनीहरू त्यसरी नै बसिरहे। हात्ती र माहुतेको यस्तो सम्बन्ध कमै मानिसले अनुभव गर्न पाउँछन्। भन्नु मात्रै हात्ती, उनीहरू मानिस जस्तै हुन्छन्।

रामशरण दराई

माहुते, युनाइटेड हात्ती सञ्चालन समूह

comments powered by Disqus

रमझम