१९-२५ माघ २०७० | 2-8 February 2014

झरना नम्बर वान!

Share:
  

मपाईत्वको लागि झटपट अगाडि सर्ने प्रवृत्ति नेपाली फिल्मी हिरोइनहरुमा बढी देखिन्छ भन्ने भनाइलाई यसै साता एक अनलाइन पत्रिकालाई झरना थापाले दिएको अन्तर्वार्ताले पुष्टि गर्न खोजेको देखियो। अन्तर्वार्तामा झरनाले नेपाली सिनेमामा दुई दशक एकछत्र राज गरेका राजेश हमाल नम्बर वान हिरो भए जस्तै नायिकामा आफू नम्बर वान भएको बताएकी छन्। उनको यो दाबी सदाबहार हिरोइन करिष्मा मानन्धर र अहिलेकी जल्दीबल्दी (दर्शक संख्याको हिसाबले पनि) रेखा थापालाई हेरेर आएको बुझ्न गाह्रो पर्दैन। झरना भने डेढ वर्षयता लगभग फिल्मविहीन जस्तै छिन्।

'पहिलो बिहे' को कुरा

ग्ल्यामरको दुनियाँमा अघोषित दम्पती भएर बसेका जोडी धेरै छन्। यस्ता सम्बन्धहरुमा सकेसम्म पर्दा लगाउने प्रयत्न गरिन्छ। यस्तै एउटा जोडी शंकर विसी र निशा सुनारको पर्दा भने भर्खरै खुलेको छ, निशा गर्भवती भएकीले। नेपालगञ्जमा दुई छोरा सहितकी श्रीमती भए पनि आफूलाई अविवाहित मान्ने मोडल/नृत्य निर्देशक शंकर र पर्यटन व्यवसायी पवन गोयलसँग अलग्गिएकी निशाले लैनचौरमा डेरा जमाएका थिए। तीन वर्षपछि खुल्दा यो जोडीको भनाइ रह्यो– 'जीवनमा एकचोटि बिहे गर्नै पर्ने थियो, गरियो।'

राजेशको गफ मात्रै

प्रेमिका मधु भट्टराईका साथ राजेश हमाल।

नाटक 'कोर्ट मार्सल' मा उम्दा अभिनय गरेर संचारकर्मीलाई केही समय प्रश्नका लागि नयाँ विषय दिएका राजेश हमाल अब पुरानै अवस्थामा पुगेका छन्। अर्थात्, अब संचारकर्मीले उनलाई भेट्यो कि 'बिहे कहिले' भनेर सोध्न थालेका छन्। वर्षौं पुरानो यो प्रश्नमा उनले जहिल्यै 'आउँदो मंसीरमा' भन्ने गरेका थिए। तर, गत कात्तिकदेखि मंसीर आधा–आधीसम्म नाटक चलेको र यसको प्रभाव पनि गतिलै रहेकाले पुस आधा–आधीसम्म पत्रकार त्यसैमा अल्मलिए। त्यसपछिको समयमा एक जनाले त्यो प्रश्न गर्दा राजेशले 'आगामी माघ' भनेका थिए। राजेशकी दुलहीको रुपमा मधु भट्टराईलाई बुझ्ने/बुझाउने गरिएको थियो। माघ पनि आधा सकिएकोले अब उनले 'आगामी फागुनमा' भन्ने छन्। राजेशको बिहेको फण्डालाई पनि उनले फिल्म 'डाइरेक्सन' गर्ने यसअघिको किस्सालाई जस्तै बिर्सिदिंदा नेपाली फिल्म उद्योगलाई के घाटा होला?

बन्ने भयो कालो पोथी

छोटो फिल्म 'बाँसुल्ली' बाट विश्वको प्रतिष्ठित भेनिस फिल्म फेस्टिभल र बुसान फेस्टिभलमा सहभागी बनेका मीनबहादुर भामले नयाँ फिचर फिल्म कालो पोथी बनाउन रु.५५ लाख पुरस्कार जितेका छन्। यसका लागि उनले स्वीटजरल्यान्डको फ्राइबर्ग फिल्म फेस्टिभल मार्फत स्वीस सहयोग संस्था (एसडीसी) बाट उक्त रकम पाएका छन्। माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वताका कर्णालीका विद्यार्थीमा परेको असरमा आधारित कालो पोथी को कथा एशिया, अफ्रिका, ल्याटिन अमेरिका र पूर्वी युरोपका प्रस्तावित फिल्मका कथाभन्दा उत्कृष्ट ठहरिएपछि पुरस्कार राशी मीनको हातमा परेको हो।

फिल्मको मौलिकता, निर्देशकको उद्देश्य, प्रोजेक्टको महत्व र पटकथाको आधारमा मीनले यो पुरस्कार जितेका हुन्। यो फिल्म बनेपछि फ्राइबर्गले आफ्नै र स्वीट्जरल्यान्डकै अर्को प्रतिष्ठित फेस्टिभल लोकार्नोमा पनि समावेश गर्ने उनले बताए। उनले गत असोजमा वुसान फिल्म फेस्टिभलको कार्यशालामा अर्को छोटो चलचित्र 'डिपार्चर' का लागि ५ हजार अमेरिकी डलर पुरस्कार जितेका थिए्।

comments powered by Disqus

रमझम