१९-२५ माघ २०७० | 2-8 February 2014

सानो फूटबल लोकप्रिय हुँदै

Share:
  

दक्षिणी अमेरिकी मुलुकहरू ब्राजिल र उरुग्वेमा सन् १९३० देखि खेल्न शुरु गरिएको फूटबलको 'मिनी भर्सन' फूटसल काठमाडौंमा तीन वर्षमै लोकप्रिय बनिसकेको छ। एउटा टोलीबाट पाँच जनाले खेल्ने यो खेल 'इन्डोर' भएकाले पनि छिट्टै लोकप्रिय भएको यसमा रुचि राख्ने बताउँछन्।

गोदावरी आल्मुनाई एसोसिएसनसँग आबद्ध दाजुभाइ नावाङ निमा लामा र छिरिङ नोर्बुले ठमेलमा फूटसलको 'ग्राउण्ड' बनाएयता अहिले काठमाडौं उपत्यकामा १८ वटा खेलमैदान बनिसकेका छन्। ललितपुरको सानेपामा रहेको 'प्रिज्माटिक फूटसल' का म्यानेजर सुरज श्रेष्ठका अनुसार फूटसल खेल्ने एउटा मैदान बनाउन रु.५० लाखसम्म खर्च लाग्छ।

फूटसल खेल्न पनि महँगो छ। एक घण्टाको एक खेल खेल्न बिहान बेलुकाको लागि रु.२ हजार र दिउँसोको लागि रु.१५०० लाग्छ। यसको खेल समय २०/२० गरी ४० मिनेटको हुन्छ भने १५ मिनेट मध्यान्तर विश्राम हुन्छ।

महँगो भए पनि मनोरञ्जनका लागि टीम भावना विकास गर्ने उद्देश्यले कर्पोरेट हाउस, स्कूल, कलेज लगायत संस्थाहरूले खेल आयोजना गर्ने गरेको प्रिज्माटिक फूटसलका म्यानेजर सुरज बताउँछन्।

ट्याटु आर्टिस्ट छाउनी निवासी दिनेश श्रेष्ठ (२९) चाहिं शरीर र स्वास्थ्य राम्रो बनाउन तथा साथीभाइसँगको भेटघाटलाई नियमित पार्न फूटसल खेल्ने गरेको बताउँछन्। दुई वर्षदेखि हरेक हप्ता यो खेल खेल्ने गरेको उनको भनाइ छ। आगापे भन्ने संस्थाले प्रिज्मा फूटसलमै हप्ताको दुई दिन अनाथ बालबालिकालाई फूटसल खेलाउने गरेको छ।

शब्द/तस्वीरः बिक्रम राई

comments powered by Disqus

रमझम