२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

सलाम लाहुरे दाइलाई

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (१९–२५ माघ) मा प्रकाशित देशमै जमेका लाहुरे समाचार सामग्री निकै सान्दर्भिक लाग्यो। बेलायतमा बसोबासको अवसर पाएपछि अधिकांश भूपू ब्रिटिश–गोर्खाले नेपाल छाडे पनि स्वदेशमै केही गर्छु भनेर लाग्नेको पौरखलाई हिमाल ले ज्यादै मिहिन ढंगबाट प्रस्तुत गरेको छ। विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गर्न अग्रसर प्रेम बेघा हुन् या केशरबहादुर आले मगरका कथा समेटेर हिमाल ले अन्य गोर्खालाई समेत स्वदेशमै केही गर्न प्रेरित गरेको छ। ब्रिटिश–गोर्खा सैनिकको जन्मभूमिप्रतिको त्याग सराहनीय छ।

करुणा प्रधान, नयाँबजार, काठमाडौं

प्रशस्त पैसा कमाएका, विदेशको लामो अनुभव सँगालेका, पेशाप्रति इमानदार गोर्खा सैनिकले मातृभूमिप्रति देखाएको मायालाई सरकारले गम्भीरतापूर्बक मनन गर्नै पर्छ। भोलिका दिनमा अन्य गोर्खालाई पनि स्वदेशमै लगानीको वातावरण बनाउनेतर्फ सरकारले ध्यान देओस्। कुमार भट्ट, कीर्तिपुर, काठमाडौं

हाम्रा सभासद

हिमाल (१९–२५ माघ) मा प्रकाशित शेरबहादुर तामाङको सकारात्मक खबरदारीको खाँचो पढेपछि नेताहरू जनतालाई कतिसम्म ढाँट्न जान्दारहेछन् भन्ने प्रष्ट हुन्छ। संविधानसभा बैठकमा निदाएको तस्वीर छापिएपछि प्रतिक्रिया लेख्दै सभासद तामाङले १३ मिनेटसम्म चलेको संसद्मा आँखा झिम्क्याएका वेला खिचिएको तस्वीर भनी स्पष्टीकरण दिने प्रयास गरेका छन्। जतिसुकै स्पष्टीकरण दिए पनि क्यामेराले झूटो बोल्दैन। हिमाल मा छापिएको तस्वीर निदाएकै अवस्थाको हो। १३ मिनेट चलेको संसद्मा निदाउने सभासदहरूले एक वर्षभित्र कसरी संविधान बनाउलान्?

विष्णु तामाङ, बनेपा, काभ्रे

जुन हुने नै थियो

हिमाल (१९–२५ माघ) मा प्रकाशित समाधान खोज्दा संकट सम्बन्धी एमाओवादी बारेको समाचारमा संविधानसभा चुनावमा नराम्ररी पराजित भएपछि संगठन सुधार्ने नाममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचनाको अभ्यास गर्ने उद्देश्यले निर्माण गरेका राज्यसमितिहरू विघटन गर्ने प्रस्ताव उनी र एमाओवादीका लागि साँच्चै थप संकटका कारण बनेका छन्। यसरी वैकल्पिक संरचना नबनाई राज्यसमिति विघटन गर्दा धेरै नेता–कार्यकर्ता पार्टीबाट पलायन हुने अवस्था आउन सक्नेतर्फ स्वयं एमाओवादी नेताहरू चिन्तित छन्। तर साँचो कुरा चाहिं के हो भने संविधानसभा चुनावमा पराजय भोग्नुपरेपछि राज्यसमिति विघटनको कुरा नगरेको भए पनि हिजोका दिनमा अवसरको पछि लागेर माओवादीमा जोडिन पुगेका नेता–कार्यकर्ताहरू विस्तारै पार्टी छाड्दै जाने अवस्था आउने थियो। आखिर जे रोप्यो त्यही फल्ने होइन र?

कृष्ण अर्याल, लाजिम्पाट, काठमाडौं

डिभोर्सको प्रताडना

हिमाल (१९–२५ माघ) मा प्रकाशित नेपाली गायिकाले व्यवसायिक सफलताको मूल्य दाम्पत्य जीवनबाट चुकाउनु परेको विषयमा डिभोर्सको मार समाचार पढेपछि नेपाली गायिकाको वास्तविक अवस्था बुझन सकिन्छ। गायिका मात्र होइन, चलचित्रका पर्दामा दर्शकसामु खुशी देखिने कतिपय नेपाली नायिकाको अवस्था पनि यस्तै छ। व्यवसायिक हिसाबले जतिसुकै सफल भए पनि चाहे गायिका हुन् या नायिका हरेकले वर्तमानमा खुशी हुने मात्र होइन, सुखद् भविष्यका लागि आफ्नो विगत बिर्सनुहुँदैन।

पूर्णिमा राजवंशी, डिल्लीबजार काठमाडौं

स्वास्थ्यप्रति सचेत

हिमाल (१९–२५ माघ) मा प्रकाशित चिकित्साभित्र मानवीयता खोज समाचार सान्दर्भिक साथै पठनीय पनि लाग्यो। चिकित्सा क्षेत्रमा अनियमितता बढिरहेका वेला यसको कारण र समाधानका उपाय पत्ता लगाउने उद्देश्यले यस क्षेत्रका विशेषज्ञ डाक्टरहरूलाई एकै ठाउँमा भेला गराएर हिमाल ले समाजलाई गुन लगाएको छ। चिकित्सा क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा डाक्टरहरूले औंल्याएका विषयलाई सरोकारवाला निकायले वेलैमा ध्यान दिन सकेमा भोलिका दिनमा यस्ता समस्याको समाधान खोज्न सहज हुने देखिन्छ।

दिनेश मरासिनी, पाटनढोका, ललितपुर

comments powered by Disqus

रमझम