२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

'अर्को वर्ष ए डिभिजनमा उक्लिछौं'

Share:
  

८१ वर्षअघि स्थापना भएको ६ पटकको ए डिभिजन लिग विजेता रानीपोखरी कर्नर टीम (आरसीटी) का अध्यक्ष सुरेशकाजी शाक्य भन्छन्, “आर्थिक समस्याले यो वर्ष घटुवामा परे पनि अर्को वर्ष ए डिभिजनमा उक्लिन्छौं।”

बिक्रम राई
आरसीटी ए डिभिजनबाट रेलिगेशनमा पर्नुको कारण के हो?

राम्रो नतीजा आउने गरी लगानी गर्न असमर्थ रह्यौं। क्लबको पुरानो ऋण र कम आम्दानीका कारण खेलाडीमा लगानी गर्न सकेनौं। आर्थिक समस्याले नै हामीलाई रेलिगेशनमा पारेको हो।

फूटबलको स्तर बढेकाले तपाईंहरू रेलिगेशनमा परे जस्तो लाग्दैन?

फूटबलको स्तर बढेको त कसरी भन्नु र? सबैजसो टीमबीच १९–२० भन्दा फरक देखिंदैन। हामीले १/२ गोल अन्तरले खेल गुमाएको न हो। थप लगानी गर्न सकेको भए रेलिगेशनमा पर्दैनथ्यौं।

अब पुनः ए डिभिजनमा पुग्न सक्ने विश्वास छ त?

अहिले हामी फूटबल खेल्ने कि नखेल्ने भनेर छलफल गर्दैछौं। आउँदो फागुन मसान्ततिर बस्ने क्लबको साधारणसभाले फूटबल खेल्ने या नखेल्ने टुंगो लगाउने छ। फूटबललाई निरन्तरता दिने निर्णय भएमा नयाँ रणनीति, योजनाका साथ अघि बढ्नेछौं। त्यसपछि हामीलाई अर्को वर्ष नै ए डिभिजनमा उक्लिन गाह्रो पर्ने छैन।

क्लब टिकिरहन कसको बढी भूमिका रहन्छ?

स्वभावैले क्लबले बढी मिहिनेत गर्दै राम्रो व्यवस्थापन र तयारी गर्नुपर्छ। तर, क्लबलाई टिकाउन एन्फाले झन् बढी जिम्मेवारी निर्वाह गर्नुपर्छ। एन्फाले अहिले क्लबहरूलाई दिंदै आएको आर्थिक सहयोग बढाउनुपर्छ।

फूटबलको विकास गर्न चाहिं कसले के गर्नुपर्छ?

अहिले जसरी झारा टार्ने किसिमले लिग खेलाइनु हुन्न। लिगलाई प्रभावकारी बनाउनुपर्छ। एन्फाले उत्पादन गरेका खेलाडी मात्र पर्याप्त हुँदैनन्। त्यसैले, देशैभरि धेरैभन्दा धेरै टुर्नामेन्ट आयोजना गर्नुपर्छ। नयाँ नयाँ खेलाडी उत्पादन गर्न ध्यान दिनुपर्छ।

comments powered by Disqus

रमझम