नयाँ महन्त नियुक्तिको निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै रतनसागर मन्दिरका महन्त वैकुण्ठ दास 'वैष्णव' को समूहले पनि २० माघमा गुठीको कार्यालयमा तालाबन्दी गरेको छ। रामतपेश्वर र वैकुण्ठ दासबीच पहिलेदेखि नै शत्रुता थियो।
गुठीको जग्गा अतिक्रमण र जानकी मन्दिरको आम्दानीमा अनियमितता गरेकाले रामतपेश्वरलाई पदमुक्त गर्नुपरेको गुठी संस्थान सञ्चालक समितिका अध्यक्ष पञ्चलाल महर्जन बताउँछन्। रामतपेश्वरलाई महन्त नियुक्त गर्दा समयावधि उल्लेख नरहेकाले पाँच वर्षपछि उनको पदावधि समाप्त भएको उनी बताउँछन्। रामतपेश्वर २७ साउन २०६३ मा महन्त नियुक्त भएका थिए।
यिनै कारण गुठीले नियुक्त गरेका जगदीश जानकी मन्दिर छिर्न सकेका छैनन्। उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष श्याम साह जानकी मन्दिरमा पूर्व महन्तका शिष्य मात्र महन्त बन्न सक्ने हुनाले गुठीले निर्णय गर्दैमा जगदीश महन्त हुननसक्ने धारणा राख्छन्।
तर, जगदीशलाई धनुषा–४ बाट निर्वाचित बाहुबली सभासद संजय साहको 'आशीर्वाद' रहेको बताइन्छ। स्रोत अनुसार, साह दलबल सहित जगदीशलाई जानकी मन्दिर प्रवेश गराउने तयारीमा छन्।
जगदीशका अर्का समर्थक महन्त वैकुण्ठमाथि जनकपुरको बिरखकुटीको राधाकृष्णको मूर्ति बेचेको रामतपेश्वर र जगन्नाथ दासको आरोप छ। वैकुण्ठमाथि कर्तव्य ज्यान, नक्कली नागरिकता, किर्ते हस्ताक्षर लगायतका मुद्दा अदालत, अख्तियार, प्रशासन कार्यालयमा विचाराधीन छन्। कात्तिक २०६८ मा महोत्तरीका निमित्त शिक्षा अधिकारी लालकिशोर झाको हत्याको प्रमुख योजनाकार वैकुण्ठ रहेको प्रहरीको दाबी सहित जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ।
दुई महन्तबीचको लडाईंले जानकी र रतनसागर मन्दिर पूजा आराधनाभन्दा भिडन्तस्थल बन्ने खतरा देखिंदैछ। रामतपेश्वरले गुठीको निर्णयलाई चुनौती दिंदै सर्वोच्च अदालतमा रिट दायर गरेको बताउँदै धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल भन्छन्, “सर्वोच्चको आदेशको पर्खाइमा छौं।”
ईश्वरचन्द्र झा, जनकपुर
इन्टरनेटबाट रु.११ लाख सहयोग
नचिनेको मानिसले इन्टरनेटमा गरेको आह्वान हेरेर सहयोग गर्नेहरू पनि यो दुनियाँमा रहेछन् भन्ने उदाहरण दमक–१३ का भेषराज न्यौपाने (२८) को प्रसङ्गमा देखिएको छ। १८ मंसीरमा उनले 'उज्यालो भविष्यका लागि पुस्तक' भन्ने नारा बनाएर इन्डिइगोगो डटकममा पाँच हजार अमेरिकी डलर सहयोगको आह्वान गर्दा दुई महीनामै १० हजार ८११ डलर (करीब रु.११ लाख) उठ्यो। आफ्नो घरमा रहेको पुस्तकालयलाई मनग्ये सहयोग उठेकोमा खुशी हुँदै उनले भने, “मेरो अभियानलाई साथ दिने पाएकोमा खुशी लागेको छ।”
फागुन २०६१ मा घरबाट लडेर घाइते भएपछि उनी ह्विलचेयरमा बस्नुपर्ने, अर्कैले खुवाएर दिसापिसाब पनि अर्कैले गराउनुपर्ने गरी अपाङ्ग बने। त्यसपछि उनले जीवनको उद्देश्य र सहारा बनाए पुस्तकलाई। (हे. हिमाल ३० मंसीर, पुस्तक बन्यो जीवनको सहारा)। त्यसपछि घरमा स्थापना गरेको पुस्तकालय दमक पब्लिक लाइब्रेरीलाई साथ दिन आइपुगे, शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोगमा काम गर्ने आको फुराकावाका पति अमेरिकी नागरिक ब्रायन हल। उनैले लाइब्रेरीलाई सघाउन तयार पारेको पाँच मिनेट लामो भिडियो डकुमेन्ट्री इन्डिइगोगोमा राखियो। अहिलेसम्म सोही डकुमेन्ट्री हेरेर १२८ जनाले दशदेखि एकहजार अमेरिकी डलरसम्म सहयोग गरेको भेषराज बताउँछन्। इन्डिइगोगोले उठेको रकममा चार प्रतिशत राखेर बाँकी दिने जानकारी दिएको उनको भनाइ छ। उनको पुस्तकालयलाई १२ मंसीरमा दमकस्थित शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) का कर्मचारीले रु.३ लाख सहयोग गरेका थिए।
पुस्तकालयको सफलताले उत्साहित भेषराज स्नातकको पढाइ पुनः शुरू गर्ने योजनामा छन्।
गोपाल गडतौला, दमक
उद्यमी बस्ती पात्लेफाँट
स्थानीय युवाको मिहिनेत र लगनले धनकुटा नगरपालिका नजिकको पात्लेफाँटले 'उद्यमी बस्ती' को परिचय पाउन थालेको छ। निर्वाहमुखी खेती हुने त्यहाँ अहिले बंगुर, ब्रोइलर कुखुरा, माछापालन र च्याउखेतीमा लाग्ने युवाको संख्या उल्लेखनीय छ। साना र घरेलु उद्योग संचालनका लागि दुई वर्षमा यहाँ झ्ण्डै रु.४ करोड लगानी पनि भित्रिएको छ।
धनकुटा नगरपालिकाका रोशेष श्रेष्ठ सहित सात जना युवाले पात्लेफाँटमा ३८ रोपनी जमीन भाडामा लिएर बंगुरका पाठा उत्पादन गर्न थालेका छन्। डेढ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको सो फर्मबाट वार्षिक १५ सय बंगुरका पाठा उत्पादन गर्ने लक्ष्य रहेको रोशेषले बताए। दुई वर्षको बीचमा पात्लेफाँटमा कृषि सम्बन्धी दुई दर्जन फर्म खुलेका छन्।
धनकुटाकै फलाँटे गाविसका दीपेन्द्र राईले पनि दुई वर्षदेखि पात्लेखोला किनाराको जमीन भाडामा लिएर कुखुरा र बंगुरपालन गरिरहेका छन्। रु.२२ लाख लगानी भएको उनको फार्ममा पाठा उत्पादनका लागि २० वटा बंगुर र मासुका लागि १६ वटा बंगुर पालिएका छन्। सो फार्मले स्थानीय पाँच जनालाई रोजगारी पनि दिएको छ।
धनकुटा नगरपालिका–७ का नरेशमान राई सहित तीन जनाले भने वार्षिक रु.२५ हजार भाडा तिरेर लिएको त्यहाँको १० रोपनी जमीनमा अर्गानिक तरकारी खेती शुरू गरेका छन्। उनीहरूको माछा र कुखुरापालन गर्ने लक्ष्य छ।
धनकुटा–५ का प्रदीप राईले पनि करीब रु.१५ लाखको लगानीमा त्यहाँ बंगुर र कुखुरा पालन थालेका छन्। आधुनिक खेती गर्न अनुकूल हुने देखेर छिन्ताङका कमल राईले दुई वर्षदेखि त्यहीं च्याउ खेती गरिरहेका छन्। नजिकै धनकुटा बजार भएकाले उत्पादन बिक्रीमा समस्या नभए पनि प्राविधिक सहयोगको खाँचो रहेको कमल बताउँछन्।
उद्यमी युवालाई प्रेरित गर्न माग, आवश्यकता र सम्भावनाका आधारमा सरकारले सीप विकास तालीम, प्रविधि–परामर्श तथा उत्पादित वस्तु बिक्रीका लागि उपयुक्त बजार व्यवस्थामा सहयोग गर्नुपर्ने घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र थापा मगर बताउँछन्।
हरिबहादुर लम्जेल, धनकुटा