२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

जिम्मेवार भए सफल हुन्छ

Share:
  
- डा. विद्यानाथ कोइराला
शिक्षकको बेवास्ता र गैरजिम्मेवार व्यवहारका कारण अफाप भएको सेमेष्टर प्रणालीलाई लिकमा ल्याउन शिक्षक र विद्यार्थी दुवै क्रियाशील हुनुपर्छ।

शिक्षामा स्तरीयता ल्याउने उद्देश्यले बेलायतको समुन्द्री किनारा कर्नवालमा सेमेष्टर प्रणाली जन्मिएको थियो। सेमेष्टर प्रणालीमा विद्यार्थीले नियमित पढ्नुपर्छ र शिक्षकहरू पेशामा इमानदार हुनुपर्छ। विद्यार्थीले दिनहुँको पाठसँगै सेमेष्टरको बीचबीचमा तोकिएको कार्य पनि अनिवार्य गर्नुपर्दछ। दिनहुँ नपढ्ने र तोकिएको कार्य नगर्ने विद्यार्थीसँग पढाइ छोड्नुको विकल्प बाँकी हुँदैन। यस अर्थमा शिक्षक र विद्यार्थीलाई पढ्न र पढाउन सक्रिय पार्न सेमेष्टर प्रणाली चाहिएको हो।

त्रिवि शिक्षाशास्त्र संकायले भित्र्याएको सेमेष्टर प्रणाली। आन्तरिक स्वरुपको थियो। मध्य–सेमेष्टरको आन्तरिक जाँच भए पनि वार्षिक परीक्षामा त्यसको अंक नजोडिने। राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–३२) ले सेमेष्टर प्रणाली अंगीकार गर्‍यो– क्रेडिट जोडिने, मध्यसेमेष्टर नहुने। २०३६ पछि सेमेष्टर प्रणाली गयो, संस्कारका कारण। विद्यार्थीलाई जहिले पनि भर्ना हुनुपर्ने। नपढी पास हुनुपर्ने। नियमित हाजिर नहुने। शिक्षक नोट मात्र लेखाउने। तोकिएको कार्य नदिने। विद्यार्थीले लेखे पनि नहेरिदिने। अन्तिम जाँचमा पनि कुन राजनीतिक दलको हो भनी अंकन गर्ने। यस अर्थमा बेइमान शिक्षक। शैक्षिक क्यालेण्डर मिच्ने विद्यार्थी, कर्मचारी र राजनीतिज्ञ मात्र होइन, प्रवेश परीक्षा छान्ने आधार नबनाउने प्रबन्धक, व्यवस्थापक सबै बेइमान। यसरी शिक्षकको बेवास्ता र गैरजिम्मेवार संस्कारले सेमेष्टर प्रणाली अफाप भयो।

त्रिविले एमफिल कार्यक्रमको सेमेष्टर प्रणालीमा सीमित कोटामा भर्ना गर्छ। नवोदित अन्य विश्वविद्यालयले पनि यो प्रणाली स्वीकारेका छन्। त्रिविको हकमा भने प्रवेश परीक्षा दह्रो बनाउने, निश्चित संख्यामा विद्यार्थी भर्ना गर्ने, शिक्षकलाई क्याम्पसमा नियमित बस्न सक्ने भौतिक तथा मानसिक परिवेश बनाउने शर्तबन्दी गर्ने संभावना छ। यसैगरी सुविधासम्पन्न ल्याब बनाउने, इ–पुस्तकालय, खुला मोडबाट पनि समकक्षी कार्यक्रम चलाउने, अनियमित विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरी खुला मोडमा धकेल्ने, पेशागत बेइमानी गर्ने शिक्षकलाई नियमित कक्षाका विद्यार्थीकहाँ पस्नै नदिने अनि कथंकदाचित शैक्षिक क्यालेण्डर विथोलिएमा तुरुन्तै विकल्प दिने। यसका साथै विद्यार्थीलाई दलीय राजनीतिबाट सचेत राजनीतिज्ञ बनाउनका लागि दलका झोलेभन्दा माथि उठ्न प्रेरित गर्नै पर्छ।

अबको बाटो

सेमेष्टर प्रणाली सर्वोषधि नभए पनि पढ्न बाध्य गर्ने प्रणाली हो। पढाउन बाध्य गर्ने परिवेश हो। त्यसैले जहिले पनि भर्ना हुन चाहने विद्यार्थीलाई खुला मोडमा हाल्नै पर्छ। तिनलाई सेमेष्टर प्रणालीमा नराख्ने अरू काम दिने। तिनको काम हो खुला मोडको विद्यार्थीलाई सेवा दिने। सामग्री बनाउने। नियमित हुनु नपर्ने। विद्यार्थीको समयमा उपलब्ध भए हुने। इमानदार पेशाकर्मी शिक्षक छानेर सेमेष्टर प्रणालीमा राख्ने। प्रश्न उसैले बनाओस्। कापी उसैले जाँचोस्। पाठ्यक्रम उसैले बनाओस्। पाठपत्र उसैले देओस्। परियोजना कार्य उसैले गराओस्। नगर्ने विद्यार्थीलाई खुला मोडमा पढाओस्। यसो गर्न शिक्षकलाई साधनसम्पन्न इ–पुस्तकालय, बस्ने ठाउँ, सहयोगी हात, शिक्षण–सहायक, अनुसन्धान सहायक चाहिन्छ। यी सहायकहरू गतिला विद्यार्थीबाटै लिनुपर्छ, जो स्थायी हुँदैनन्, तलब पाउँछन् वा शुल्क तिर्दैनन्।

विश्व ब्याङ्कले पैसा दिन्छ भनेर सेमेष्टर लागू गर्ने भए यो कार्य बन्द गरौं। गुणस्तरीय शिक्षाको रहर भए द्वैध मोडको प्रणाली शुरू गरौं। शिक्षक छनोटमा ध्यान दिऔं। प्रवेश परीक्षा दह्रो बनाऔं। सबैको निम्ति उच्च शिक्षा दिन आमसञ्चारका साधनमा जोडिने खुला मोड प्रणाली लागू गरौं। गुणवत्ता विद्यार्थीलाई उच्च शिक्षा दिने हो भने सेमेष्टर प्रणाली लागू गरौं। आगे प्रबन्धककै मर्जी। दाता वा साहूकारकै मर्जी। प्रशासनकै मर्जी।

comments powered by Disqus

रमझम