२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

लुङदरमा लालकाजी

Share:
  
- रघु पन्त
विविधतापूर्ण लुङदर फर्फराइरहेका चित्रमा नेपालको शान्त, सुन्दर, स्निग्ध र समृद्ध सपना अभिव्यक्त भएका छन्।

तस्वीरहरु बिक्रम राई
हेलम्बुमा जन्मेको ह्योल्मोले लमजुङहुँदै चितवन पुगेर आफ्नो बासस्थान बनायो। लालकाजी लामा तिनै ह्योल्मो पुरुषका नाति हुन्। थर नै लामा लेख्ने लालकाजीले बुद्धलाई मनमा सजाएर तपस्या थाले। उनको तपस्या धर्मको नभई चित्रकला र मूर्तिकला मार्फत बोधिसत्वको खोजी थियो। काठमाडौंको सर्वनाम थिएटरको ग्यालरीमा चलेको पहिलो एकल प्रदर्शनी (६–२० माघ) मा लालकाजीका चित्रहरु हेर्दा लाग्थ्यो, रंगमा बुद्धत्वको खोजी गहिरिएको छ।

चित्रमा पहेंलो, रातो, हरियो र नीलो रंगको प्रयोग बढी छ। चित्रमा स्वयम्भू, बौद्धनाथ, चितवन, हेलम्बू लगायतका शहर र गाउँका विविध बिम्ब छन्। शान्त र सौम्य बुद्धका आकृतिले शान्ति र पवित्रताको सन्देश दिन्छन्।

चित्रकारले कतै रातो, कतै हरियो, कतै नीलो, कतै पहेंलो त कतै मिश्रित रुपमा प्रत्येकजसो चित्रमा लुङदर (बौद्ध धर्मावलम्बीको ध्वजापताका) लाई नछुटाइकन उतारेका छन्। कतै बौद्ध स्तूप ध्वजापताकाले घेरिएको छ, कतै बुद्धको आकृतिमाथि लुङदर फहराइरहेका छन्। कतै मन्दिरहरु लुङदरसँगै लहरै देखिन्छन् त कतै लुङदर–लुङदर र त्यसको पृष्ठभूमिमा विभिन्न गाउँबस्ती उतारिएको छ।

जीवनबोधको खोजीमा रंगको संयोजन गरिरहेका कुनै भिक्षु जस्ता लाग्छन्, लालकाजी चित्रभित्र खोज्दा। लामो कपाल पालेका, अलिकति श्याम वर्णका अग्ला लालकाजी झट्ट हेर्दा कलाकार भन्दा भर्खरै अठार सय खोलातिरबाट झारेका कुनै 'लामा' जस्ता लाग्छन्– सरल, सहज र सोझा। चित्रमा भने उनी शान्ति र सत्यको खोजीमा रंगहरुको छुट्टै संसार रच्न लागिपरेको प्रवीण कलाकार प्रमाणित हुन्छन्।

“चित्रमा लुङदरै–लुङदरको यति धेरै चित्रण किन?” भन्ने प्रश्नमा लालकाजीको जवाफ थियो, “हामी विविध जातजाति र भाषा–भाषीका मान्छेहरु जसरी यो नेपालभित्रका अनेकौं प्राकृतिक विशेषता भएका भूभागमा मिलेर बसेका छौ त्यसरी नै अनेकौं मन्त्र छापिएका नीला, पहेंला, राता, सेता ध्वजालाई डोरीले गाँस्दै लुङदर बन्छ।”

उनले यसरी लुङदर नेपाली र नेपालको प्रतीक भएकोले त्यसबाट आफू धेरै प्रभावित भएको खुलाए। लालकाजी लामाले बौद्ध ग्रन्थहरु पढेर भन्दा पनि बुद्धलाई अवचेतनमै ग्रहण गरे झै लाग्छ। बुद्ध, स्तूप, मन्दिर र गुम्बासँगको प्रेमबाट उनले चित्र सिर्जना गरेका छन्।

चित्रमा चित्रकारको व्यक्तित्व र मनस्थिति अभिव्यक्त भएको हुन्छ। यसरी लालकाजीका चित्र नियाल्दा उनी कम अमूर्त, बढी सरल र यथार्थवादी लाग्छन्। यथार्थमा आधारित उनको कल्पना र रंगको संयोजन चित्रमा परिपक्व ढंगले प्रयोग भएको देखिन्छ। स्थापित शैली र विषयवस्तुको प्रस्तुतिबीच जुन संयोजन हुनुपर्ने हो, त्यो कुशलतापूर्वक प्रस्तुत भएको छ।

'सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली' झै भने जस्तै हो लुङदरका विविध रंगमा हाम्रो राष्ट्रिय एकता देख्नु। जसरी एउटा रंग अर्को रंग विना पूर्ण हुँदैन त्यसरी नै सबै जातजातिका नेपालीको जीवन, संस्कृति र साझा भावना विना हामी नेपालीको पूर्णता बन्दैन। नेपाल प्राकृतिक रुपमा जति विविधतायुक्त छ संस्कृति पनि त्यति नै विविधताले समृद्ध छ। “चित्रमा यो समृद्धि, एकता र सम्पूर्णता देखियोस् भन्ने प्रयत्न गरेको छु”, हातमा फिका चियाको कप लिएका चित्रकारले सर्वनाम थिएटरको ग्यालरीमा भने।

नेपालको सामाजिक र धार्मिक सामञ्जस्यता मात्र हैन 'सम्यक्' दृष्टिकोण समेत मूर्त रुपमा देखिन्छ लामाका चित्रमा। त्यस हिसाबले हाम्रो जीवन र संस्कृतिको विविधतायुक्त समन्वयको चित्रण हो उनको यो प्रदर्शनी। चितवनको आफ्नो रमाइलो गाउँदेखि पैतृक थलो हेलम्बुसम्मलाई सम्झिएर चित्रमा उतार्ने लालकाजीले नेपालीको सहअस्तित्वलाई कलाको दर्शन बनाएको देखिन्छ।

विद्यार्थीकालदेखि निरन्तर सामाजिक परिवर्तनका लागि सक्रिय लालकाजी मूर्तिकलामा स्नातक उत्तीर्ण गरेर ललितकलामा स्नातकोत्तर भए। अहिले उनी त्रिभुवन विश्वविद्यालयमा चित्रकलाका अध्यापक पनि हुन्।

comments powered by Disqus

रमझम