२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

म्युजिकल मेघा

Share:
  
निर्देशक सम्झना उप्रेती रौनियारले नयाँ फिल्म मेघा लाई तीनदशक अघि स्वर्गीय गोपाल योञ्जनले कम्पोज गरेका सदाबहार गीतहरूबाट म्युजिकल बनाएकी छन्।

नम्रता श्रेष्ठ।
नेपाली गीत–संगीतका एक जना महान हस्ती गोपाल योञ्जनको शब्द–संगीत नयाँ स्वरमा आएको छ। सम्झनाले आफ्नो पहिलो फिचर फिल्म मेघा का लागि स्व. योञ्जनका सात वटा सदाबहार गीत–संगीतमा नयाँ कलाकारहरूलाई प्रयोग गरेकी छन्। फिल्म रिलिज हुनुअघि नै यु ट्युब मा राखिएका यी गीतहरू निकै लोकप्रिय भइरहेको सम्झना बताउँछिन्।

अहिले उदय सोताङ, दीपक लिम्बू, मिलन अमात्य, बानिका प्रधान, प्रेम बम्जन, रामचन्द्र काफ्ले र मनोज राजले गाएका यी गीत (यति चोखो..., काली पनि देखे..., तिमी देऊ या नदेऊ..., मेरो जोवन लैजाऊ..., जीवनको हरेक मोडमा..., आजकल म पिरतीलाई...) हरू पहिला नारायणगोपाल, अरुणा लामा, मीरा राणा, दिलमाया खाती र पूर्ण नेपालीको स्वरमा रेकर्ड भएका थिए। पछिल्लो एरेञ्जमेन्ट र साजसज्जा सचिन सिंह र चाँद सिंहले गरेका छन्।

गीत अनुसार फिल्म

निर्देशक सम्झनाले मेघा को कथालाई गीत अनुसार बगाएकी छन्। गीतहरूमा निहित 'पावर' का कारण त्यसो गर्नुपरेको उनको भनाइ छ। शुरुमा काली पनि देखें मैले... र तिमी देऊ या नदेऊ... बोलका दुई गीत मात्र फिल्ममा समावेश गर्न चाहेकी उनले योञ्जनका अरु गीतहरूको पनि शक्तिबाट लोभिएर फिल्मको कथा नै प्रभावित पार्ने निर्णय लिएकी थिइन्। “सातमध्येको एउटा थिएन कोही मेरो... बोलको गीत–संगीत चाहिं योञ्जनको रेकर्ड नभएको कृति हो”, सम्झना भन्छिन्। यो गीत फिल्ममा रिमा गुरुङ होडाले गाएकी छिन्। योञ्जन परिवारबाट सदाबहार गीत–संगीत पाएपछि मेघा लाई 'म्युजिकल फिल्म' बनाउन निर्देशकले निकै मिहिनेत गरिन्। गीतको रि–एरेञ्जदेखि रेकर्ड, कोरियोग्राफी र छायाङ्कनसम्ममा स्व. योञ्जनकी पत्नी रिञ्छेन आफैं खटिन्। गाइसकेको गीतलाई स्वरमा चित्त नबुझेपछि फेरि अर्कै कलाकारको स्वरमा रेकर्ड गरियो।

कोरियोग्राफीका लागि नृत्य निर्देशक कमल राईलाई कोलकाताबाट बोलाइयो। कथा र गीतको भाव अनुसार हिरो–हिरोइनलाई फूलबारीमा नचाउनु थिएन, त्यसैले फरक रुपमा प्रस्तुत गर्न कमललाई बोलाएको निर्देशक सम्झना बताउँछिन्। सयौं फिल्ममा कोरियोग्राफी गरिसकेका कमलले आफ्नो लागि यो प्रोजेक्ट सबभन्दा ठूलो चुनौती भएको बताए। “तीन दशकअघि नै 'हिट' भइसकेका गीतहरूलाई प्रस्तुत गर्नु सजिलो थिएन”, उनी भन्छन्।

खास चुनौती चाहिं अंग प्रदर्शन नगरी यी गीतका भाव र मर्ममा निहित सेक्स अपील प्रस्तुत गर्नुमा रहेको उनले बताए। फिल्मकी नायिका नम्रता श्रेष्ठ सात वटै गीतमा, नायक सिद्धार्थ कोइराला चार वटामा र रेमनदास श्रेष्ठ दुइटा गीतमा देखिनेछन्। कोरियोग्राफर कमल कलाकारहरूले गीतको भावलाई उम्दा रुपमा अभिव्यक्त गरेकोमा सन्तुष्ट छन्।

कालजयी सिर्जनाहरूलाई 'रि–एरेञ्ज' र नयाँ कलाकारको स्वरमा रेकर्ड गरिएकोमा पुराना गीत–संगीतका पारखीहरूले गुनासो पनि गर्न थालेका छन्। तर रिञ्छेन भने पुराना गीतको स्पुलमा तीन मिनेटको मात्र ट्रयाक हुने र फिल्ममा धेरै बाजा सहितको लामो गीत चाहिने भएकाले नयाँ बनाएको बताउँछिन्। उनी भन्छिन्, “नारायणगोपालले गाइसकेको गीतलाई नयाँ पुस्ताका श्रोताका लागि उनीहरूकै पुस्ताका कलाकारको स्वर राखेका हौं।”

रोमान्टिक फिल्म मेघा मा गीत–संगीत पनि त्यही अनुसार जुटेकोले सबै पुस्ताका श्रोता–दर्शकले मन पराउने आशा फिल्म युनिटको छ। निर्देशक सम्झना धेरै चलेका सबै नेपाली फिल्ममा गीत–संगीतको महत्वपूर्ण भूमिका देखिएकोले मेघा लाई 'म्युजिकल' बनाएको बताउँछिन्। सिन्दुर, जीवनरेखा, कुसुमे रुमाल, सम्झ्ाना, साइनो, चिनो, कन्यादान, दर्पणछायाँ जस्ता फिल्महरू 'हिट' हुनुमा गीतले अहम् भूमिका खेलेको मानिन्छ।

अनुशील

comments powered by Disqus

रमझम