२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

मोटरसाइकलमा चार दिन हुइँकिंदा

Share:
  
- मेघना बाली
नेपालको जस्तै बाटोका लागि बनाइएको 'भिन्टेज' मोटरसाइकलमा पोखराबाट स्याङ्जा हुइँकिंदाको मज्जाले नेपालका अरु सबै रमाइलो बिर्सायो।

नेपालका प्राकृतिक दृश्य, भौगोलिक सम्पदा र ऐतिहासक स्थल पत्याउनै नसकिने रोमाञ्चक छन्। यहाँ सुन्दर आरक्ष, कला र संस्कृति, जीवन्त रहेका बस्ती, प्राचीन जीवन शैली कायम राखेका गाउँ र नखोजिएका असंख्य खजाना छन्।

यो सुन्दर देशको सबैभन्दा बढी पर्यटक पुग्ने शहर पोखराको भ्रमण मेरा लागि अलि फरक थियो। म पाँच दिनका लागि ५० वर्ष पुरानो इतिहास बोकेको 'भिन्टेज' मोटरसाइकल चढेर नेपालको अप्ठ्यारो सडकमा रोमाञ्चकारी यात्राका लागि आफूलाई तयार पार्दै थिएँ। मैले जीवनमै अनुभव नगरेको अनिश्चयको यात्रा हुँदै थियो तर, बाइकमा चढेर रोमाञ्चक यात्रा गर्ने सपना पूरा गर्न म जोखिम मोल्न तयार थिएँ।

जब हामी चढेको बस काठमाडौंलाई छोडेर पश्चिम पोखरातर्फ हुइँकियो, पृथ्वी राजमार्ग वरपर देखिने दृश्यले मन ढक्क फुल्यो। बिहानको सूर्य हाम्रा लागि बाटो बनाउँदै थियो– नागबेली सडकमा डम्म लागेको कुहिरोलाई पन्छाउँदै। बाटोमा तीन ठाउँ रोकिंदै ६ घण्टाको यात्रापछि म पोखराको लेकसाइडस्थित होटलको बेडमा पल्टिएँ, अर्को दिनको प्रतीक्षा गर्दै।

बिहान मोटरसाइकल चलाउने तालीमका लागि मैदान जान तयारी गर्दा मौसमको पहिलो वर्षा शुरु भयो। मैदानमा हर्टस् एण्ड टियर्स मोटरसाइकल क्लबका म्याट र प्रशिक्षक नरेश आका मोटे भेटिए।

“मोटरसाइकलमा तपाईंको अनुभव कस्तो छ?” म्याटको पहिलो प्रश्न थियो।
“एकपटक स्कुटरबाट लडेकी थिएँ, त्यसपछि मोटरसाइकल चढेकी छैन”, मैले भनें। उसले हेल्मेट मतिर फालेर हाँस्दै आफूले त्यस्तै उत्तरको अपेक्षा गरेको बतायो।

त्यसपछिका सात घण्टामा लड्दै, चिप्लिंदै मोटेसँग मोटरसाइकल चलाउन सिकें। साँझा हड्डी भिजाउने गरी परेको पानीसँगै त्यो दिनको तालीम सकियो।

तेस्रो दिन मेरा लागि अझ्ौ उत्साहपूर्ण र रोमाञ्चक रह्यो। 'भिन्टेज' मोटरसाइकलमा चढेर डाँडाकाँडामा बत्तिनुको मज्जाले नयाँ वर्षको राति ठमेलका गल्लीहरूमा गरिएको रमाइलो बिर्सायो। सूर्यास्तका वेला प्याराग्लाइडिङको दृश्य हेर्न मोटे र म मोटरसाइकलमा काँडे हुँदै साराङकोट पुग्यौं र वेलुका क्लब हाउस फर्कियौं। यसले मलाई मोटरसाइकलमा अरु अभ्यस्त बनायो।

अर्काे बिहान म्याट र म नागबेली सडकमा कावा खाँदै तानसेनका लागि हुइँकियौं। त्यसवेला लाग्यो, कुनै ठाउँको भरपूर मज्जा लिन मोटरसाइकलमा बत्तिनु जस्तो रमाइलो अरु केही छैन। राजमार्गमा केही इन्च मात्रै दूरी राखेर हुइँकिने बसहरूले सातो खाइदिन्थे भने सडक भत्केर बीचमा परेका भ्वाङमा जाकिंदा ढाडै भाँचिएला जस्तो हुन्थ्यो।

तर, यहाँका स्थानीयहरू यस्तै सडकमा अभ्यस्त छन् र त्यसरी यात्रा गर्दा वेला वेला आफूलाई पनि स्थानीय नै हुँ कि भन्ने भान हुन्छ। चूलोमा पुत्ताउँदै गरेको धूवाँको गन्ध सुँघ्दै, कपाल नुहाउँदै गरेकी महिला हेर्दै र हावाको तापक्रम अनुभव गर्दै मोटरसाइकलमा कुद्नुको मज्जा यसअघि कहिल्यै कल्पना समेत गरेकी थिइनँ। ५० वर्ष पहिले निर्माण भएर यस्तै सडकका लागि परिस्कृत गरिएको 'भिन्टेज' बाइकले निकाल्ने आवाजले समेत विछट्टको रोमाञ्च र स्वतन्त्रताको अनुभव गराउँथ्यो।

तर, तानसेनभन्दा १३ किलोमिटर पश्चिम सिर्जना फार्ममा पुग्नुअघि भ्वाङ परेको र घुम्तीले भारिएको सडकमा ओह्रालो झर्दा भने वेला वेला हंसले ठाउँ छाड्थ्यो। सिर्जना फार्म काठमाडौं भन्दा नितान्त वेग्लै र रमाइलो गन्तव्य बन्यो मेरा लागि।

लामो यात्राले थाके पनि पहाडको स्वच्छ हावा, फलफूल र तरकारी खेती गरिएका ठूला फाँट, आक्कलझुक्कल देखिने खसीबोका र चराको आवाजले मेरो मन रमाएको थियो।

त्यहाँ हामीलाई घरमा बनाइएको परम्परागत नेपाली रक्सीले स्वागत गरियो। त्यसपछि स्थानीय गृहिणीले बनाएको खाना खायौं। उनीहरूको आत्मीय कुराकानी, हाँसो र ख्यालठट्टामा रात गाढा भएको ख्यालै भएन, अर्को दिन बिहानै फर्कनु छ भन्ने पनि बिर्सियौं।

नेपालमा तीन महीनाको यात्रामा बिर्सनै नसकिने रमाइलो निकै भयो तर त्यो पाँच दिनको यात्रा भने ती सबैभन्दा अब्बल रह्यो। यदि तपाईंमा पनि साँच्चिकै फुर्ती र केही वेग्लै रमाइलो गर्ने साहस छ भने यो पढेर मात्रै नबस्नुस्, कुम्लो बोक्नुस् र दौडिहाल्नुस्।

comments powered by Disqus

रमझम