४-१० फागुन २०७० | 16-22 February 2014

केन्द्रीय भूमिका चाहियो

Share:
  

हिमाल (२६ माघ–३ फागुन) मा प्रकाशित 'जबर्जस्त हिरोइन' समाचारमा नेपाली नायिकामाथि गरिएको समीक्षा सान्दर्भिक लाग्यो। यो समाचारले नेपाली फिल्ममा नायिकाको प्रस्तुतिमाथि स्वस्थ बहसको थालनी गरेको छ। तर, समाचारमा एक समयमा नेपाली फिल्ममा नायिकाको मानक बनेका गौरी मल्ल, शर्मिला मल्ल, कृष्टि मैनाली, निरुता सिंह, विपना थापा, जल शाह तथा नयाँ पुस्तामा जमिरहेका नायिकाको विषयमा पनि खोतलेको भए पठनीय हुनेथियो। नेपाली चलचित्रका नायिकाहरू नायकको सहायक जस्तो मात्रै हुनुले नायिकाको केन्द्रीय भूमिका स्थापित गर्न सकेको छैन।

विनिता अधिकारी, बालाजु, काठमाडौं

प्रेरणादायी समाचार

हिमाल (२६ माघ–३ फागुन) मा प्रकाशित 'समृद्धिको इन्जिन', व्यवसाय गर्न खोज्नेका लागि प्रेरणादायी छ। साना तथा मझौला उद्योगको क्षेत्रमा ब्याङ्क तथा वित्तीय संस्थाले लगानी बढाउनु सकारात्मक कुरा हो। यसले कर्जाको अभावमा हातमा भएको सीप र जाँगर थन्क्याएर बस्न बाध्य बनेकाहरूलाई उद्यमको मौका दिन्छ। तर, नेपालमा कुरा जति भए पनि काम हुनसकेको छैन। ब्याङ्क तथा वित्तीय संस्थाको पहुँच अझै पनि गरीब र न्यून आय भएकामाझ् पुगेको छैन। ब्याङ्कले अझै पनि धितो नराखी कर्जा दिंदैनन्। परियोजना प्रस्ताव वा बलियो योजनालाई नै धितो राखेर ऋण दिन थाले धितोको अभावमा ऋण लिन नसक्नेहरूलाई त्राण मिल्ने थियो कि!

विवेक राई, धरान

ब्याङ्कबाट ऋण लिएर आफूसँग भएको सीप प्रयोग गरी व्यवसायमा सफलता पाएका व्यक्तिका बारेमा समाचार प्रकाशित गरेर साप्ताहिक खबरपत्रिका हिमाल ले उनीहरूको उत्साहमा प्रेरणा थप्ने काम गरेको छ। देशका कुना कुनामा यसैगरी काम गरेका तर संचारमाध्यममा ठाउँ नपाएका उद्यमीहरूलाई हिमाल ले आउँदा दिनमा सम्झ्ने काम गरोस्।

रीता नकर्मी, सानेपा, ललितपुर

सेमेष्टर नै जाती

हिमाल (२६ माघ–३ फागुन) मा प्रकाशित त्रिविमा सेमेष्टर प्रणालीबारेको 'रामबाणको अपेक्षा' समाचारमा उठाइएको विषय सान्दर्भिक छ। त्रिविमा शिक्षाको गुणस्तर सुधार्न सेमेष्टर प्रणाली पक्कै पनि उपयोगी हुनेछ। तर, यसअघि त्रिविले स्नातकोत्तर तहमा शुरू गरेको विद्यार्थीको आन्तरिक मूल्याङ्कन पद्धतिको दुरुपयोग भएको गुनासोसँगै २०३६ को विद्यार्थी आन्दोलनपछि सेमेष्टर प्रणाली खारेज भएको हो। सेमेष्टरमा हुने आन्तरिक मूल्यांकनमा विभेद गर्न नहुनेतर्फ अध्यापकले ध्यान पुर्‍याउनु जरूरी छ।

देवेन्द्र शाह, नेपालटार, काठमाडौं

बाबुआमाको निगरानी

हिमाल (२६ माघ–३ फागुन) मा प्रकाशित डा. सुमनराज ताम्राकारको 'सम्बोधन अत्यावश्यक' सम्बन्धी स्वास्थ्य सामग्री समसामयिक छ। नेपालका खासगरी शहरी क्षेत्रमा किशोर वयमै यौनसम्पर्क राखेर हुने 'टिनएज प्रेगनेन्सी' को समस्या बढ्दो छ। यसले यौनहिंसा मात्र होइन, सामाजिक तथा पारिवारिक कलह र अन्य समस्या पनि निम्त्याइरहेको छ। इन्टरनेट, मोबाइल लगायतका कारण युवायुवतीहरू किशोर वयमै यौनको लतमा पर्न थालेको देखिन्छ। यसलाई रोक्न यौन शिक्षा र बाबुआमाको निगरानी जरूरी छ।

प्रदीप खनाल, विशालनगर, काठमाडौं

तमसोमा ज्योतिर्गमयः

हिमाल (२६ माघ–३ फागुन) मा प्रकाशित दाङमा गरीबीका कारण पढाइबाट बञ्चित बालबालिकाको विषयमा प्रकाशित समाचार पढेर दुःख लाग्यो। गन्धर्व बालबालिकाहरू शिक्षाको उज्यालोबाट वञ्चित हुनु भनेको उनीहरूको अँध्यारो भविष्यको सुरुआत हो। राज्यले शिक्षाको पहुँच बढाउन अनेकौं कार्यक्रम शुरू गरे पनि कतिपय स्थानमा त्यसको प्रभाव पुगेको छैन। गरीब बालबालिकालाई शिक्षाको पहुँच पुर्‍याउन ठोस र प्रभावकारी कार्यक्रम ल्याउनु जरूरी छ। तमसोमा ज्योतिर्गमयः अर्थात् अँध्यारोबाट उज्यालोतिर लैजाँऊँ।

किरण आचार्य, सानेपा, ललितपुर

comments powered by Disqus

रमझम