४-१० फागुन २०७० | 16-22 February 2014

सरकारी जमीनमा बस्ती

Share:
  
दमक नगरपालिकाको स्वामित्व रहेको पशुहाटमा ३८ वर्षदेखि अनधिकृत बस्ती छ।

गोपाल गडतौला
पशुहाटको कम्पाउण्डमा बनाइएका टहरा।
नैनकुमारी राई (६३) को चार जनाको परिवार ३५ वर्षदेखि दमक–१२ मा रहेको पशुहाटको कम्पाउण्डमा लोकल मदिराको पसल चलाएर गुजारा चलाइरहेको छ। जहाँ उनी जस्ता ६८ परिवारको बसोबास छ।

२०३२ मा तत्कालीन प्रधानपञ्च धनबहादुर श्रेष्ठले सो ठाउँमा मेला लगाएपछि स्थानीय किसानले साप्ताहिक रूपमा पशुहाट शुरू गर्न माग गरे। सोही वेलादेखि तत्कालीन नगरपञ्चायतले बुधबार पशुहाट लगाउँदै पशु किनबेचका लागि आउनेहरूलाई चिया–नास्ता बेच्न लिखत वेगर अस्थायी टहरा बनाउन अनुमति दियो। त्यसवेला बसेका सात परिवार, तिनका छुट्टिएका छोराछोरी र आफन्तहरूले पनि घर बनाएपछि पशुहाट भित्र यत्रो बस्ती बनेको हो। अहिले पशुहाटको उत्तरतर्फको कम्पाउण्ड पर्खाल बाहिर मात्रै अरू २४ परिवार घर बनाएर बसेका छन्।

नगरपालिकाको स्वामित्वमा रहेको पशुहाटको साढे ६ बिघामध्ये डेढ बिघामा उनीहरूको बसोबास छ। नगरपालिकाले वैकल्पिक बसोबासको व्यवस्था नगरेसम्म सो ठाउँ नछाड्ने उनीहरूको अडान छ। नैनकुमारी भन्छिन्, “ऊवेला कोही बस्न नमान्दा बजार लगाउन बसाएकाले अर्काे ठाउँ नपाएसम्म हामी छाड्दैनौं।”

योजना छैन

झापा, मोरङ र इलामका पशुपालकलाई बजारको व्यवस्था गर्न शुरू भएको यहाँको पशुहाटको आयस्ताले दमकमा क्याम्पस स्थापना गर्न सघाउ पुगेको थियो। पशु बिक्री गर्नेले रु.१०० को रु.२ दिनुपर्ने नियम बनाएर कर उठाउँदै नगरपालिकाले डेढ दशकसम्म क्याम्पसलाई वार्षिक रु.१ लाखभन्दा बढी दिएको थियो। आर्थिक वर्ष २०७०/७१ का लागि पनि पशुहाट रु.६५ लाखमा ठेक्का लागेको छ। दमक–१२ का निवर्तमान वडाध्यक्ष भीम पौडेल पशुहाटले नगरपालिकालाई डेढ दशकदेखि वार्षिक रु.५० लाखभन्दा बढी आम्दानी दिएको बताउँछन्।

तर, आम्दानीको स्रोत भए पनि नगरपालिकासँग पशुहाट व्यवस्थित गर्ने योजना रहेको देखिंदैन। चार वर्षअघि पशुहाटभित्रका घर हटाउँदै पक्की कबल बनाएर भाडामा लगाउने उसको योजना अझै दराज बाहिर आउन सकेको छैन।

नगरपालिकाका निमित्त कार्यकारी अधिकृत इन्जिनियर तीर्थनारायण श्रेष्ठ भन्छन्, “त्यो योजना कार्यान्वयन भएर पक्की कबल बन्यो भने पनि त्यहाँ बसेकाहरूलाई नै भाडामा दिन प्राथमिकता दिनुपर्छ।”

रतुवामाई वृक्षरोपण आयोजनाभित्रको बस्ती ।

झापाको लखनपुर―१ मा रहेको रतुवामाई वृक्षरोपण आयोजनामा पनि त्यसरी नै अनधिकृत बसोबास रहेको देखिन्छ। पाँच वर्षअघि चाँजु खोलाले घरखेत बगाएपछि सुकुम्बासी बनेका ११ परिवार इलामको चुलाचुली र झापाको सीमामा पर्ने सो ठाउँमा घर बनाएर बसेका छन्। घरले चर्चेको जमीन प्रत्येक परिवारले डेढ कट्ठा जमीन कोठेबारीमा प्रयोग गरेका छन्। तिनैमध्येकी कुमारी बिक (४८) भन्छिन्, “अहिलेसम्म कसैले हट्न नभनेकाले यहीं बस्न पाइएला भन्ने आशा छ।”

तर, आयोजना प्रमुख भक्तिप्रसाद गौतम भने विपत् पर्दा बस्न दिएकाले बन्दोबस्त मिलाएर हटाउने योजना रहेको जानकारी दिन्छन्। आयोजना हेर्ने सरकारको वन पैदावार विकास समितिका अध्यक्ष मनोज उप्रेती चाहिं आयोजनाको जमीनमा बस्ती रहेको थाहा नभएको बताउँछन्।

गोपाल गडतौला, झापा


बुढेसकालमा बेसहारा

सविता श्रेष्ठ
विषालु च्याउ खाएर गत ३१ जेठमा घरका पाँच सन्तानले ज्यान गुमाएपछि चितवनको कविलास–७ चौकीडाँडाका मैतबहादुर चेपाङ (८१) र कमिनी चेपाङ (७४) सहाराविहीन भएका छन्। अहिले खेती गरेर घर चलाउने जिम्मेवारी उनीहरूको काँधमा आएको छ।

दुई घण्टा पैदल हिंडेर खानेपानी ल्याउने, बाख्रा चराउने, घाँसपात र दाउरा ल्याउने तथा खेती गर्ने सबै जिम्मेवारी कमिनीले निर्वाह गर्नुपरेको छ। लट्ठीको सहाराले मात्र हिंड्न सक्ने मैतबहादुर घर कुर्न मात्र सक्छन्।

विषालु च्याउले छोरा बुद्धिबहादुर (३५), बुहारी सोमती (३६) र नातिहरू अर्जुन (१३), मानबहादुर (९) र सन्तकुमार (६) को ज्यान लिएपछि च्याउ नखाएका उनीहरू सहित दुई वर्ष र ६ महीनाका दुई नाति मात्र बाँचेका थिए। दुई वर्षको नाति चोकमानलाई पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङले पाल्न लगे भने कान्छो नातिलाई मैतबहादुरकी छोरीले हुर्काइरहेकी छिन्।

दुई छोरा र एक छोरीका बाबुआमा उनीहरू छोराहरू भिन्न भएपछि कान्छोसँग बस्दै आएका थिए। छोरा बुद्धिबहादुरले खाँबो गाडेर त्यसमा जस्ता छाएको भए पनि बेर्न नसकेकाले घर बन्न सकेको छैन। बसिरहेको पुरानो घरको छानो छाउनुपर्ने वेला भएको बताउँदै आँगनमा चोया काढ्दै गरेका मैतबहादुर भन्छन्, 'बुबाआमाले केही गर्नुपर्दैन भन्ने छोरो गएपछि आफैंले छाउनुपर्ने भयो।”

छोरो हुँदा घरभरि बाख्रा, कुखुरा रहेका र त्यसैको आम्दानीले घर चल्ने गरेको अहिले उनीहरूसँग सम्झ्ना मात्र छ। “हुर्किएको छोरो गएपछि दुःख हुने नै भयो”, मैतबहादुर भन्छन्।

सविता श्रेष्ठ, चितवन


मोबाइल नै पुस्तक

प्रकाश लम्साल
दृष्टिविहीनहरूले पढ्ने ब्रेल लिपिको पुस्तक राज्यले उपलब्ध नगराएपछि बारा डुमरवानाका दृष्टिविहीन विद्यार्थीले शिक्षकले पढाएको मोबाइलमा रेकर्ड गरेर पढ्दै जाँच दिने गरेका छन्। एसएलसी परीक्षा दिने दृष्टिविहीन विद्यार्थीको स्थिति पनि योभन्दा फरक छैन।

श्री नेपाल राष्ट्रिय उच्च मावि डुमरवाना व्यवस्थापन समितिका सदस्य बिदुर खड्का ब्रेल लिपिको पुस्तक जिल्ला शिक्षा कार्यालयसँग माग्दा माग्दा थाकेको बताउँछन्। कार्यालयले केन्द्रमा खबर गरेको बताए पनि एकदशकदेखि सबै पुस्तक नदिएको उनको भनाइ छ। ब्रेल लिपिको पाठ्यपुस्तक बजारमा किन्न पाइँदैन। यो वर्ष अर्थशास्त्र, लेखा र कार्यालयको पुस्तक नपाइएको खड्का बताउँछन्। एसएलसीको तयारीमा रहेका दृष्टिविहीन विद्यार्थीले परीक्षाका वेला कक्षा ८ सम्मका विद्यार्थीलाई साथमा राखेर लेख्न लगाउने गर्छन्। मोबाइल सर्वसुलभ हुनुअघि त्यहाँका विद्यार्थी शिक्षकको पढाइ क्यासेट चक्कामा भरेर सुन्ने गर्थे। प्राचार्य अक्षयकुमार चौधरी पढाइमा मोबाइल प्रयोग गर्नुपर्ने भएकाले दृष्टिविहीनलाई छुट्टै कक्षा चलाउनुपरेको बताउँछन्। अन्य विद्यार्थीसँगै दृष्टिविहीनलाई कक्षामा राख्दा मोबाइलमा होहल्ला रेकर्ड भएर नबुझिने समस्या आएको उनको भनाइ छ।
कक्षा ९ मा अध्ययनरत दृष्टिविहीन सुरेश मण्डल मोबाइलमा सुन्नुभन्दा ब्रेल लिपिमा अध्ययन गर्नु सजिलो हुने बताउँछन्। शिक्षक कृष्ण तिमिल्सेनाको चाहिं ठूलो स्वरमा नपढाउँदा बुझ्िने गरी मोबाइलमा रेकर्ड नहुने भएकाले पढाउन गाह्रो भएको अनुभव छ। रेकर्ड गर्ने मोबाइल विद्यार्थीले नै किन्ने गरेका छन्।

यो विद्यालयमा कक्षा १ देखि १० सम्म तीन दर्जन दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन्। उनीहरूलाई सहयोग गर्दै आएको जापानको 'हेलन केलर फाउण्डेसन' ले सात वर्ष यता सहयोग गर्न रोकेको छ। यो विद्यालयबाट रौतहट, बारा र पर्साका २१ दृष्टिविहीन विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका छन्।

प्रकाश लम्साल, बारा


महिला माछा र पुरुष बंगुरपालनमा

भावुक योगी
बर्दियाको बगनाहा―१ खुनपुरका महिला माछापालनमा लागेर आत्मनिर्भर बन्ने प्रयासमा छन् भने त्यसैको छिमेकी गाउँ बगनाहा वनकट्टीका पुरुषले उन्नत जातका २० वटा बंगुर पालेका छन्।

दुवैथरी उत्साहित

खुनपुरका विपन्न परिवारका १७ जना महिलाको समूहले पाँच कट्ठा जमीनमा खनिएका चार वटा पोखरी भाडामा लिएर माछापालन थालेको छ। गत वर्ष जेठबाट माछापालन थालेको सो समूहले अहिलेसम्म एक क्वीन्टल ७० किलो माछा बेचिसकेको समूहकी सचिव पुष्पा थारूले बताइन्।

पोखरीमा ग्रासकार्प, नैनी, कमनकार्प, सिल्भर जातका एक हजार ५०० भुरा हालेका उनीहरूलाई थारू महिला उत्थान केन्द्रको ग्रामीण जीविकोपार्जन सुधारका लागि जलवायु उत्थानशीलता कार्यक्रमको आर्थिक र प्राविधिक सहयोगले मद्दत गरेको सहजकर्ता उर्मिला चौधरीले बताइन्। माछा किन्न गाउँकै र छिमेकी गाउँबाट ग्राहक आउने गरेकाले बिक्रीको समस्या नभएको समूहकी सचिव थारू बताउँछिन्। समूहकी अध्यक्ष चन्द्रनी थारू यो वर्ष तीन हजारभन्दा बढी माछा पोखरीमा छाड्ने र तेब्बर माछा उत्पादन गर्ने योजना सुनाउँछिन्।

बंगुरपालन गर्न थालेका वनकट्टीका १७ पुरुष पनि उस्तै उत्साही छन्। बंगुरपालन आम्दानीको राम्रो स्रोत बन्ने थाहा पाएर व्यावसायिक रूपमा बंगुरपालन गर्न थालेको सिसवारा बंगुरपालन समूहका रमैया थारूले बताए।

गत जेठदेखि पाखि्रबास, ड्युरो लगायत उन्नत प्रजातिका बंगुरका पाठा ल्याएर पाल्न थालिएको र केही हप्तामा तिनले पाठा जन्माउने समूहका सचिव बासुल थारूले जानकारी दिए। यो समूहलाई पनि थारू महिला उत्थान केन्द्रको ग्रामीण जीविकोपार्जन सुधारका लागि जलवायु उत्थानशीलता कार्यक्रमले आर्थिक र प्राविधिक सहयोग गरेको छ। २० वटा बंगुरका पाठा सहित पानी तान्ने मोटर लगायत सामग्रीका लागि रु.९० हजार सहयोग पाएको बासुल बताउँछन्।

बर्दियामा केही वर्षयता बंगुरपालन, माछापालन र तरकारी खेतीप्रति किसानहरू आकर्षित भएका छन्। ती कामबाट राम्रो आम्दानी हुने भएकाले विपन्न परिवारका महिला र पुरुषलाई सहयोग गरिएको थारू महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक प्रिज्मासिं थारूले बताए।

भावुक योगी, बर्दिया

comments powered by Disqus

रमझम