शब्द/तस्वीर देबकी बिष्ट र कमल रिमाल
मंसीरको चिसोमा कर्णाली नदीमा चल्ने सिरेटो कम तिखो छैन। मलिन अनुहारमा हजार आशा बोकेकी लक्ष्मी सुन्हा (३२) को पातलो ज्यानलाई एकसरो लुगाले छोपेको छ। हिमालबाट बगेर आएको पानीमा उभिएर सुन खोज्न बालुवा चालिरहेकी उनीसँगै छन्, १६ वर्षका छोरा सुरेश पनि। “एक वर्षदेखि मानसिक बिरामी छ”, अलि अस्वाभाविक व्यवहार गरिरहेका छोराबारे उनले सुस्तरी भनिन्, “पैसा नभएर उपचार गर्न सकेनौं।”
बिहान १० बजेदेखि अपरान्ह ४–५ बजेसम्म सुन खोज्ने लक्ष्मीको स्वरमा गहिरो विशाद छ। घरमा तीन जना स–साना छोरी छोडेर आएकी उनले श्रीमान् चाहिं चामल किन्न बजार गएको बताइन्। “दिनमा कहिले ३–४ लाल भेटिन्छ, कहिले कत्ति पनि भेटिन्न”, लक्ष्मीले भनिन्, “यसबाटै सबैथोक जुटाउनुपर्छ।”
लक्ष्मीकै आसपासमा अरू ८–९ जना सुन्हा बालुवामा सुन खोज्ने अथक् प्रयासमा जुटेका छन्। उनीहरूको तन्मयता यति गहिरो छ कि वरिपरि के हुँदैछ, को आयो थाहा पाउँँदैनन्। यहाँ सुन खोज्नेहरू सबै कैलाली, राजापुरका हुन्। उनीहरूसँग सुन किन्न व्यापारी गाउँमै आउँछन्। भाउ छ– लालको रु.५३०।
श्रीमतीका साथ सुन खोजिरहेका तिल्का सुन्हा (४०) ले यसलाई आफ्नो पुर्ख्यौली पेशा भएको बताए। पहिले जग्गाजमीन भए पनि सुनको लागि कर्णाली धाउँदाधाउँदै बाबुबाजेहरूले जमीन हड्पिएको पत्तै नपाएको उनले बताए। अर्थात् कर्णालीको सुनले राजापुरका सुन्हाहरूको दुःख कहिल्यै हरेन। भातको सपनामा सुन खोजिरहेका उनीहरू निरक्षर छन्।
सडक र सुकुलमा सुन
उता विराटनगरमा सडकमै सुन पाइँदो रहेछ, जसलाई हप्तैपिच्छे टिपेर सिलिगुडी लगिन्छ। सुन पाइने मुख्य स्थान सुन पसलहरू भएको बाटा रोड, जलजला रोड र हनुमानदास रोड हुन्। ४ पुसको बिहान तीन जना भएर हनुमानदास रोडमा एक मन जति धूलो जम्मा पारेका संजय बेहेरे (२३) ले त्यसलाई धोएपछि गहना बनाउने क्रममा उडेका सुनका कणहरू भेटिने बताए। “कणहरू जम्मा गरेर सिलिगुडी लगेर पगाल्छौं, बेच्छौं”, उनले भने।
संजयसँगै रहेका फुलचन्द मडानी (२८) ले आफूहरू सहित भारत महाराष्ट्रको गोन्दीया जिल्लाका करीब १५० जनाले सुन खोज्न पश्चिम बंगालको सिलिगुडीमा डेरा जमाएको बताए। उनीहरू सातामा एक पटक विराटनगर, इटहरी, धरान, इनरुवा, दमक, बिर्तामोड लगायतका नेपाली शहरमा आउँछन्। पश्चिममा लहानसम्म पुगेको मडानीले बताए।
यता ललितपुरमा पनि सुकुलबाट सुन संकलन हुन्छ। सुनको मूर्ति बनाइने वा सुनको जलप लगाउने ठाउँको सुकुलमा छरिने सुनका कण संकलन गर्न भारतको जयपुरबाट मानिसहरू आउने च्यासलका नील श्रेष्ठले बताए। मूर्तिमा सुनको जलप लगाउने उनले संकलकहरूले ब्रस, कपास र सुकुल लिएर जाने गरेको बताए। “त्यसबाट सुनका कणहरू निकालेपछि हाम्रो सामान जस्ताको त्यस्तै फिर्ता गरिदिन्छन्”, श्रेष्ठले भने।