४-१० फागुन २०७० | 16-22 February 2014

संयोगले राजनीतिका हिरो!

Share:
  
प्रधानमन्त्री सुशील कोइरालाको काँधमा मुलुकलाई संक्रमणबाट सामान्यकालमा प्रवेश गराउने अहम् जिम्मेवारी छ। सो पूरा गर्न सके उनी वास्तविक 'हिरो' सावित हुनेछन्।

बिक्रम राई
२८ साउन १९९६ मा विराटनगरमा जन्मेका सुशील कोइरालाको राजनीति प्रवेश संयोग थियो। तत्कालीन राजा महेन्द्रले १ पुस २०१७ मा जननिर्वाचित सरकार अपदस्थ गरेर निर्दलीय पञ्चायती व्यवस्था नलादेको भए सम्भवतः राजनीतिमा उनको प्रवेश नहुन सक्थ्यो। २१ वर्षे लक्का जवान सुशीलमा सिनेमाको 'हिरो' बन्ने भूत सवार थियो। त्यो उद्देश्य सफल पार्न उनी हलिउड (अमेरिका) जाने तयारीमा थिए। “त्यो वेलासम्म राजनीति मेरो प्राथमिकतामा थिएन, म सिनेमाको हिरो बन्न चाहन्थें” केही समयअघि हिमाल सँगको अन्तर्वार्तामा कोइरालाले भनेका थिए, “अमेरिका जाने भिसा पनि आइसकेको थियो, तर अचानक भएको राजनीतिक घटनाक्रमले मेरो बाटो मोडियो।”

त्यो घटनाले सुशीललाई ठूलीआमाका छोरा बीपी कोइरालाको सामीप्यमा पुर्‍यायो। त्यसपछिको प्रवास बसाइँमा बीपीको पारिवारिक सहयोगी हुने क्रममा उनमा राजनीतिप्रति रुचि बढ्न थाल्यो। र, कांग्रेसका अरू नेताहरूसँग पनि उनको निकटता बढायो। बीपीको निधनपछि भने उनी नेपाली कांग्रेसको राजनीतिमा सोझै जोडिन पुगे।

पञ्चायतको पछिल्लो कालखण्ड र बहुदलीय व्यवस्था पुनर्स्थापनापछिको अधिकांश समय गिरिजाप्रसाद कोइरालाका महत्वपूर्ण सहयोगी रहेका सुशील गिरिजाप्रसादको निधनपछि पार्टीको १२औं महाधिवेशनबाट सभापति निर्वाचित भए। ४ मंसीरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेपछि उनले मुलुकको कार्यकारी प्रमुख बन्ने मौका पाएका छन्। यसरी सिनेमाको हिरो बन्न नपाएका उनी मुलुककै 'हिरो' बन्ने ठाउँमा पुगेका छन्।

अन्तर्राष्ट्रिय मामिलामा रूचि

वन विभागका जागीरे बोधप्रसाद र कुमुदिनी कोइरालाका ६ छोरा र एक छोरीमध्ये सुशील जेठा हुन्। बुबा जागीरमा सरुवा भएर बाँकेको नेपालगञ्ज पुगेदेखि उनको परिवार त्यतै छ।

बीपीको भाइ भएकाले सुशील २०१५ को आम निर्वाचनपछि बीपी नेतृत्वको मन्त्रिपरिषद्का परराष्ट्रमन्त्री तुलसी गिरीका स्वकीय सचिव बने। २०१७ पछि भारत प्रवास बसाइँ र २०३३ को 'मेलमिलाप' पछिको समय गरी उनले झ्न्डै पाँच वर्ष राजनीतिक बन्दीको जीवन बिताए। २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ को आन्दोलनमा भूमिका निर्वाह गरेकाले गिरिजाप्रसाद कोइरालासँग पनि उनलाई नजिक बनायो। उनलाई नजिकबाट चिन्ने कांग्रेस नेताहरू लामो समय राजनीति नगरे पनि केन्द्रमा स्थापित हुनसकेकोमा सुशीललाई 'भाग्यमानी' मान्छन्।

लामो समय प्रवासमा बिताएका उनको अंग्रेजी भाषामा राम्रो पकड रहेको मानिन्छ। गिरिजाप्रसादसँग 'सोसलिस्ट इन्टरनेशनल' का सम्मेलनहरूमा सहभागी हुन पाएको मौकालाई उनले अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन प्रयोग गरे। त्यसैले उनी आफूलाई अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञ मान्छन्। तर, उनी अन्तर्राष्ट्रिय मामिलामा विज्ञ रहे/नरहेको परीक्षण हुन बाँकी रहेको उनका आलोचकहरूको भनाइ छ।

२०४६ पछि पार्टीको परराष्ट्र विभाग प्रमुख बनेका सुशीलले २०४८ को आम निर्वाचनमा बाँके–२ बाट प्रतिनिधिसभामा चुनिएपछि परराष्ट्रमन्त्रीको दाबी गरेको थोरैलाई मात्र थाहा छ। प्रधानमन्त्री गिरिजाप्रसादले मन्त्रिपरिषद्मा आउन आग्रह गर्दा उनले परराष्ट्रमन्त्री पाए मात्र मन्त्री बन्ने बताएका थिए। तर, गिरिजाप्रसादको परिवारका सदस्यहरूले रक्षा र परराष्ट्र अरूलाई नछाड्न सुझाएकाले त्यो वेला सुशीलको मनोकांक्षा पूरा भएन। त्यसपछि अरू मन्त्री नबन्ने बताउँदै उनी पार्टी संगठनमै सक्रिय रहे। २०५१ को मध्यावधि निर्वाचनमा पराजित भएकाले उनको मन्त्री बन्ने आकांक्षा पाँच वर्षका लागि थाती रह्यो।

२०५६ को आम निर्वाचनमा बाँके–२ बाट दोस्रो पटक जितेपछि उनले कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने इच्छा देखाए। तर, उपप्रधानसहित भौतिक योजना मन्त्रालय दाबी गरेका खुमबहादुर खड्का त्यो वेला उनका लागि बाधक बने। खुमबहादुर शक्तिशाली रहेको त्यो वेला भट्टराई सहित गिरिजाप्रसाद पनि खुमबहादुरलाई चिढ्याउन चाहँदैनथे। त्यसपछि उनले 'लाभका पदमा नबस्ने' बताउँदै पार्टी राजनीतिमा सक्रिय हुने निर्णय लिए। तर, उनले दुई पटक परराष्ट्रमन्त्रीको अफर आउँदा पनि अस्वीकार गरेको बताउने गरेका छन्।

रोल्पाको होलेरी प्रहरी थानामा आक्रमण गर्ने माओवादी लडाकूलाई घेराउ गरी पक्राउ गर्नेबारे दरबारसँग चलेको विवादले ४ साउन २०५८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि प्रधानमन्त्रीको उम्मेद्वार छान्न कांग्रेस संसदीय दलका नेताको निर्वाचन हुँदा शेरबहादुर देउवाको प्रतिस्पर्धी बने, सुशील। कांग्रेस नेताहरूका अनुसार, देउवा विरुद्ध चक्रप्रसाद बाँस्तोलालाई उठाउने गिरिजाप्रसादको चाहना भए पनि 'अवसर पाए प्रधानमन्त्री हुने' इच्छा राख्दै सुशील उठेका थिए। तर, खुमबहादुरको समूहले देउवालाई समर्थन गरेपछि सुशील पराजित भए। यसरी तेस्रो पटक सरकारमा जाने उनको प्रयास असफल भयो।

सादगी जीवन

तर, सादगी जीवनशैलीले नेपाली राजनीतिमा सुशीलको पहिचान वेग्लै बनाएको उनका आलोचक पनि स्वीकार्छन्। अविवाहित उनलाई परिवार, आफन्त र नातागोताको चंगुलमा परेको आरोप लाग्ने गरेको छैन। सन्त नेताको छवि बनाएका उनले अहिलेसम्म आर्थिक विवादमा पर्नुपरेको छैन। पहिलो संविधानसभा निर्वाचनमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि कार्यवाहक सभापति रहेका उनले राजीनामा दिएर नैतिकता देखाए, तर सभापति गिरिजाप्रसादले स्वीकार गरेनन्। बीपीसँगको लामो सामीप्यताले हुन सक्छ, उनको बोली र व्यवहार नरम र सभ्य छ।

विभाजनपछि जोडिएको पार्टीलाई पूर्ण रूपमा एकताबद्ध पार्न नसक्नुलाई आलोचकहरू सुशीलको कमजोरी मान्छन्। 'पार्टी पद्धति' शब्द पटक पटक दोहोर्‍याए पनि उनलाई सीमित कोटरीको भर पर्ने र त्यसकै दबाबमा निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ। 'कोठे राजनीति' गरेको अभियोग पनि खेप्दै आएका उनले महामन्त्री, उपसभापति र कार्यवाहक सभापति हुँदा गुट, उपगुटको संस्कारलाई 'संस्थागत' गरेको बताइन्छ।

आफू आर्थिक विवादमा नमुछिए पनि सुशीललाई 'भ्रष्ट' कहलिएकाहरूलाई संरक्षण दिएको आरोप पनि लाग्ने गर्छ। आफ्नो गुटका सदस्यलाई गलत गर्दा पनि संरक्षण गर्ने र विरोधीलाई भ्रष्टको बिल्ला भिराउने उनको स्वभाव रहेको बताइन्छ। आफूसँग असहमत कैयौं नेता र कार्यकर्ताको राजनीतिक जीवन समाप्त पारेको समेत आरोप लाग्ने गरेको उनलाई पार्टी पंक्तिमा असहिष्णु भनेर चिनिने गरिएको छ। जीवनको उत्तरार्द्धमा शैलजा आचार्यले निकटस्थहरूसँग 'म सुशीलको राजनीतिक भ्रष्टाचारको शिकार भएँ' भन्ने गरेकी थिइन्।

व्यवस्थापिका–संसद्बाट मुलुकको ३७औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि पार्टीभित्र र सत्ता साझ्ेदार नेकपा एमालेसँग चुलिएको विवादले कोइरालाको नेतृत्व क्षमताको परख गर्नेमा भने विवाद छैन। यो विवादमा देखिएको अकर्मण्यताले 'सुशीलले नेतृत्व गर्न सक्लान् र' भन्ने प्रश्न उठ्न थालेका छन्। सरकारको नेतृत्वमा पुग्न उनले देखाएको हतारो र त्यसक्रममा उनले देखाएको व्यवहार उनको छविभन्दा फरक छ। 'एकपल्ट प्रधानमन्त्री भइहालियो, उस्तै परे छाडौंला' भन्न थालेको उनका केही भित्रिया बताउँछन्।

गिरिजाप्रसादको निधनपछि नेतृत्वको संकट भोगिरहेको कांग्रेसलाई सुशीलले गिरिजाप्रसादले जसरी नेतृत्व दिने कैयौं कांग्रेसजनको अपेक्षा थियो। तर, उनले त्यो अपेक्षा पूरा गर्न नसकेको धेरैको भनाइ छ। अहिले उनीसामु मुलुकलाई संक्रमणबाट सामान्यकालमा प्रवेश गराउने अहम् जिम्मेवारी आएको छ। यो जिम्मेवारीलाई कसरी पूरा गर्छन् भन्ने विषयले उनको नेतृत्व क्षमताको निर्धारण गर्नेमा विवाद छैन।

रामेश्वर बोहरा

comments powered by Disqus

रमझम