४-१० फागुन २०७० | 16-22 February 2014

'लगानीको वातावरण बन्नेमा आशावादी छौं'

Share:
  

सरकारले गत महीना ३४ उद्यमीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान गर्‍यो। अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यवसायीलाई प्रदान गरिएको यो सम्मान सन् २०१६ को अन्त्यसम्म कायम रहनेछ। डाबर नेपालले भारततर्फको निर्यात र यसको प्यारेन्ट कम्पनी डाबर इन्डियाले नेपालबाट निरन्तर आयात गरेबापत सीआईपी सम्मान पाएका छन्। डाबर नेपालका कन्ट्री म्यानेजर एच.एस. वेदी भन्छन्, “यो सम्मानले व्यवसायीको मनोबल बढाएको छ।”

देबकी बिष्ट
डाबर नेपाल र डाबर इन्डिया दुवैले सीआईपी सम्मान पाएका छन्। नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा तपाईंहरूको योगदान कस्तो छ?

नेपालमा ठूलो उत्पादन र निर्यात गर्ने कम्पनीमध्ये डाबरले नेपालबाट भारततर्फ निर्यातको १० प्रतिशत हिस्सा ओगट्छ। उत्पादनमूलक उद्योग मार्फत कर, रोजगारी सिर्जना तथा आर्थिक क्रियाकलापको विस्तारमा हाम्रो योगदान महत्वपूर्ण छ। हामी वार्षिक करीब रु.९ अर्ब बराबरको कारोबार गर्छौं। बढ्दो आयातका कारण ठूलो व्यापार घाटा खेपिरहेको नेपालमा डाबर नेपालले निर्यात व्यापारमा महत्वपूर्ण योगदान तथा डाबर इन्डियाले नेपालमा कम्पनी स्थापना गरेर यहाँबाट निरन्तर माग सिर्जना गरी आयात गरेकोले सम्मान पाएको हो। विभिन्न देशमा अनेकौं सुविधा हुँदाहुँदै पनि हामी नेपालमा लगानी गरिरहेका छौं, त्यसैको सम्मान हो यो। व्यवसायीका लागि गर्वको विषय बनेको यस्तो सम्मानले लगानीकर्तालाई उत्साहित बनाउँछ। अर्थतन्त्रमा योगदान दिइरहेका कम्पनीलाई यस्तो सम्मान गर्दा लगानीकर्ताको मनोबल बढ्ने हुँदा यसको निरन्तरता आवश्यक छ।

बहुराष्ट्रिय डाबर इन्डिया मार्फत सन् १९९२ मा स्थापना भएको डाबरले यो बीचमा जति व्यावसायिक लगानी विस्तार गर्ने सम्भावना थियो, त्यो हुन सकेन नि किन?

हाम्रो प्राथमिकताको जुस उत्पादनमा वर्षेनि लगानी थपिरहेका छौं। डाबरले नेपालबाट ठूलो मात्रामा भारतमा जुस निर्यात गरिरहेको छ। जसका लागि नेपाल नै मुख्य फ्याक्ट्री बनिरहेको छ। भारतमा विभिन्न राज्यमा उत्पादनमूलक उद्योगमा विभिन्न कर छूट तथा अन्य सुविधा भएकाले हामी त्यहीं केन्द्रित भइरहेका छौं।

बहुराष्ट्रिय कम्पनीलाई नेपालमा काम गर्ने वातावरण कस्तो छ? सुधार गर्नुपर्ने ठाउँ र पक्षहरू के के होलान्?

राजनीतिक अस्थिरता नै लगानीको वातावरणका लागि यहाँको मुख्य चुनौती हो। साथै; विद्युत् अभाव र कतिपय नीतिगत कठिनाइले पनि चुनौती थपेका छन्। पछिल्ला केही वर्षदेखि नेपालमा संविधान निर्माणको विषय प्राथमिकतामा पर्नु सकारात्मक भए पनि यसले आर्थिक अजेण्डालाई छायाँमा पारेको छ। संविधान निर्माणपछि आर्थिक अजेण्डाले प्राथमिकता पाउनेमा आशावादी हुनुपर्छ। जस्तोसुकै अप्ठ्यारो वेलामा पनि हामीले लगानी र उत्पादन गर्न छोडेनौं। हामी नेपालमा काम गरिरहने कुरामा प्रतिबद्ध छौं।

नेपाल यतिवेला ठूला आयोजनाका लागि विदेशी लगानी खोजिरहेको छ, तर अपेक्षित लगानी भित्रन सकेको छैन। तपाईंको बुझ्ााइमा नेपालमा विदेशी लगानी कसरी भित्र्याउन सकिएला?

ठूलो मात्रामा विदेशी लगानी भित्र्याउन ठूलै सुधारको खाँचो छ। भारतले भर्खरै १८० देशलाई अनअराइभल भिसा दिने निर्णय गर्‍यो। यसले पर्यटक भित्र्याउन मात्र नभई लगानीको वातावरण बनाउन पनि ठूलो मद्दत गर्ने विश्वास गरिएको छ। नेपालले पनि ठूलो लगानी भित्र्याउने हो भने सानोतिनो सुधार होइन, नीतिगत र अन्य पक्षमा पनि ध्यान दिनुपर्छ। लगानीकर्ताको आत्मविश्वास बढाउनु जरूरी छ।

तपाईंहरू नेपालमा जडीबुटी लगायत कच्चा पदार्थ संकलन गरेर प्रोसेसिङका लागि भारत पठाइरहनुभएको छ, नेपालमै प्रोसेसिङ गर्ने खालको उद्योग स्थापना गर्न सम्भव छैन?

नेपालमा संकलन र उत्पादन भएको जडीबुटी हाम्रै उत्पादनमा ठूलो मात्रामा प्रयोग गरिरहेका छौं। बनेपामा रहेको हाम्रो ग्रीन हाउसले किसानसँग मिलेर काम गर्छ। उनीहरूले उत्पादन गरेको जडीबुटी खरीद गरिरहेका छौं। हामी मुख्य रूपमा नेपालमै उत्पादन गरिरहेका छौं।

नेपालमा नयाँ लगानी अथवा व्यवसाय विस्तार गर्ने तपाईंहरूको कुनै योजना छ?

हामी लगानी विस्तार गरिरहेका छौं, तर अहिले काम गरिरहेकै क्षेत्रमा। जुसको उत्पादन र निर्यातमै थप केन्द्रित हुने योजनामा छौं।

युनिलिभरको नेपाली कम्पनी युनिलिभर नेपालले सर्वसाधारणमा गएर नेपालीलाई पनि शेयर लगानीको अवसर दिएको छ, तपाईंहरू सर्वसाधारणमा जाने सम्भावना छैन?

अहिलेलाई त्यस्तो कुनै योजना छैन।

रमेश कुमार

comments powered by Disqus

रमझम