४-१० फागुन २०७० | 16-22 February 2014

सन्तुलनको खोजी

Share:
  
- दिनकर नेपाल
नेपाली गाउँहरूले सुर हराउँदा हाम्रो मौलिकता बेसुर हुनपुगेको छ।

रासस
केही वर्षअघिको एउटा मंसीरमा म बाल्यकालका सम्झ्नाहरू बोकेर मामाघर हिंडेको थिएँ। त्यतिवेला, गाउँभरि मान्छे हुन्थे। फुर्सदमा गाउँघर विछट्ट रमाइलो हुन्थ्यो। दाइँका वेला दयेंरेहरू हाँसो–ठट्टाबाट उत्सव सिर्जना गर्थे। मियो पुजिन्थ्यो, धूप हालिन्थ्यो। त्यो सुगन्धमा आठ–दश वटा गोरु रिंगाउँदा एक प्रकारको रोमाञ्च सिर्जना हुन्थ्यो। हामी केटाकेटी परालमा खेल्थ्यौं, रमाउँथ्यौं। र, दिनभरिको थकानपछि पाइने भोजनको स्वाद बिर्सिनसक्नु हुन्थ्यो।

पहाडको एउटा गाउँमा बाली भित्र्याउने वेलाको यस्तो उत्सव कता हो कताको कुरा जस्तो लाग्छ अहिले आएर। यसपल्ट त बाँझ्ा खेतबारीको थोते अनुहारले हाम्रो स्वागत गरे। गाउँमा बूढाखाडा र बालबच्चा मात्र भेटिए। गाउँभरि खोजेर ल्याइएका दुइटा लुते गोरुबाट शुरू भयो, दाइँ। दयेंरेका नाममा सानिमा र म मात्र भयौं। आज नेपालको हरेक गाउँ र परिवारको यस्तै अवस्था छ। अहिले खेतीपाती मात्र होइन, चाडपर्वको पनि सुर हराएको छ। दशैं आउनु एक महीना अघिदेखि गाउँले मिलेर बाटो खन्ने, चौपारीहरू मर्मत गर्ने, पीङ हाल्ने र आउँदो समयको बारेमा छलफल गर्ने― सबै इतिहासको कुरा जस्तो भइसक्यो।

राजनीतिक अन्योल र नयाँ विश्व–परिवेशले विदेशिनुलाई बाध्यता बनाइसकेको छ। खाद्यान्नमा हाम्रो देश पूर्ण रूपमा परनिर्भर बनिसकेको छ। उत्पादनका तथ्यांकहरूले भविष्यको डरलाग्दो तस्वीर देखाइरहेका छन्। विशुद्ध आर्थिक प्रभावको कुरा एक ठाउँमा छ भने यस्ता घटनाले समाज र संस्कृतिमा शनै शनै गरिरहेको प्रहार गम्भीर चिन्ताको विषय बनेको छ।

'जेनेरेशन ग्याप' कि सांस्कृतिक विखण्डन!

दाइँ सकिनै लाग्दा परालको भारी बाँध्नुपर्ने भयो। हामी सिक्ने–गर्ने वेलामा विदेशिएका 'विकासे' पुस्ता पर्‍यौं। सयौं वर्षदेखि किसानले गरिरहेको यो काम हाम्रा लागि महाभारत भयो। हाम्रा पुस्ताले पराल नचिन्दा बूढापाका खिसी गर्छन्। 'पुराना सबै कुरा सही थिए, नयाँ सबै पतीत छन्' भन्ने एक प्रकारको नैतिकतावादीहरू सबै ठाउँमा भेटिन्छन्। त्यस्ता मान्छेहरू पुरानो जमानाको बखानमा 'नोस्टल्जिक' हुँदै नयाँ पुस्तालाई गाली गर्छन्। तर, परिवर्तन युगौंदेखि निरन्तर छ। आउँदो समय पनि रोकिने छैन!

अर्कोतिर, पुराना सबै रुढीवाद हुन् र नयाँ सबै प्रगति हो भन्ने ढ्यांग्रो ठोकाइ पनि सुनिन्छ। यो पनि एउटा अन्धता हो। अहिलेको नेपालमा धेरै पुस्ता अलग–अलग परिवेशमा फरक सोचहरू लिएर बाँचेका छन्। सांस्कृतिक विविधतासँगै सोचमा पनि शताब्दीयौंको फरक देख्न सकिन्छ। आगामी पुस्ताका लागि सूचनाप्रविधि नेपालमै पनि सस्तो हुनेछ। इन्टरनेटलाई जीवनको अनिवार्य आवश्यकता बनाएर हुर्कने त्यो पुस्ताले कम्प्युटर चलाउन नजान्ने हजुरबुबा–हजुरआमाहरूलाई अजिबको जीव ठान्दा हुन्!

'जेनेरेशन ग्याप' अर्थात् पुरानो र नयाँ पुस्ताबीचको सोचमा फरकले गर्दा यस्तो हुने नै भयो। समाधान यी दुई धार बीचको सन्तुलनमा छ। यो सन्तुलनको खोजी हिजोको पुस्ताले पनि गर्‍यो, हामी आज गर्दैछौं र भोलिका पुस्ताले पनि गर्नै पर्छ। तर, अहिलेको परिवर्तनको गति यति तीव्र छ कि एउटै पुस्ता अनेक पुस्तान्तरणबाट गुजि्ररहेको छ। यही कारण अलमल अलि धेरै छ। अलमल छ भनेर तैं चूप, मै चूप बस्ने हो भने परिवर्तनको प्रभाव असन्तुलित हुन बेर लाग्दैन।

परालको बिटोलाई परालको डोरीले बाँधेर परालकै नाम्लोले बोक्ने सीप हाम्रा अग्रज पुस्ताहरूले जानेका थिए। त्यस्ता कैयौं स्वाभाविक–सरल विधि–सीपहरूको समग्रता नै हाम्रो मौलिकता, आफ्नोपना र संस्कृति हो। तर त्यो निरन्तरता अहिले टुट्न पुगेको छ। हामीलाई चाहिएको परिवर्तन पुरानो सबै भत्काएरै कि केही रचनात्मक हस्तक्षेपबाट आउनुपर्ने हो? सोच्नै पर्ने भएको छ।

comments powered by Disqus

रमझम