४-१० फागुन २०७० | 16-22 February 2014

हनिमुनमा होशियार

Share:
  
- डा. सुमनराज ताम्राकार
नवदम्पतीले योनीद्वारको झिल्ली (हाइमेन) छ, छैन भनेर टाउको दुखाउनु ठीक हुँदैन।

इन्टरनेट तस्वीर
सदा झैं यो माघ–फागुनमा पनि विवाहको लगन धेरै छन्। माघमा विवाह भएकाहरू अहिले मधुमास (हनिमुन) मा छन् भने चाँडै अरू थुप्रै जोडी त्यसतर्फ उन्मुख हुनेछन्। नवदम्पतीहरूले मधुमासको अवधिमा एकअर्कालाई बुझदै र जीवनभरको लागि मीठो सम्झ्ना सँगाल्दै यौनमा लिप्त हुन्छन् नै। यसक्रममा स्वास्थ्यको कुरालाई बिर्संदा जीवनभरका लागि पछुताउ हुन सक्छ।

यौनको मामिलामा विशेषतः पुरुषले बढी जिम्मेवारपूर्ण व्यवहार प्रदर्शन गर्नुपर्छ। उत्ताउलो भएर यौनकार्यका लागि तयार हुनुअगाडि पुरुषले आफ्नो पसिना र शारीरिक गन्धमा ध्यान दिनुपर्छ। त्यस्तो समस्या भए अत्तर वा डिओडेरेन्टको प्रयोग गर्नु राम्रो हुन्छ। यौनकार्य अगाडि धुम्रपान त गर्नै हुँदैन, बरु दुवैले हल्का मद्यपान गर्दा बेस हुन्छ।

यौनका समस्या

हनिमुनको समयमा हुने पटक–पटकको यौन सम्पर्कका कारण पिसाब नलीमा संक्रमण हुन सक्छ। यौन कार्यको क्रममा योनीद्वारमा कुनै किसिमको चोट लाग्दा, योनीमार्ग वा योनीद्वारमा गोनोरिया, क्लामाइडिया र ढुसीको संक्रमण हुँदा पाठेघरको मुखको सतहमा छोए मात्र पनि रगत बग्न सक्छ। यौन सम्पर्कका क्रममा घर्षणले छाला पाच्छिएर पनि पीडा हुने वा रगत बग्ने हुन सक्छ।

पुरुषहरू चाँडै यौन सम्पर्कको चरमसुखमा पुग्छन् भने महिलाहरूले अलि लामो समयमा मात्र त्यस्तो अनुभव गर्छन्। यो कुराको हेक्का पुरुष पार्टनरले राख्नुपर्छ। नवविवाहिताले आफू तृप्त नभएको कुरा व्यक्त नगर्न सक्छन्। यस्तो कुरालाई बेवास्ता गर्दा वा हल्का तवरले लिंदा स्वास्नी मानिसमा विस्तारै डिप्रेसन (उदासीपन) देखा पर्न सक्छ।

कतिपय दम्पतीका महिला पार्टनरले यौन सम्पर्कको समयमा पीडा महसूस गर्न सक्छन्। मेडिकल भाषामा 'डिस्परेउनिया' भनिने यस्तो समस्या पर्याप्त योनीरस उत्पादन नहुँदा हुन्छ। यसरी योनी सुक्खा हुँदा, यौन कार्यप्रतिको डरको कारणले यौनाङ्गको मांसपेशी संकुचन हुँदा, जीर्ण प्रकारको जननेन्द्रिय सम्बन्धी संक्रमण हुँदा वा पाठेघर वरिपरि रगत जम्ने समस्या (इन्डोमेटि्रओसिस) हुँदा यस्तो हुन्छ। यस्तो समस्यामा चिल्लो पदार्थको प्रयोग वा समस्या अनुसारको उपचार गर्नु उचित हुन्छ।

चाँडै बच्चा भयो भने थप जिम्मेवारी आइपरेर जोडी हुनुको रमाइलो अवधि घट्छ भनिठान्ने दम्पतीले विभिन्न साधन अपनाउन सक्छन्। गर्भ रहन नदिने परिवार नियोजनको सबभन्दा सुलभ साधन कण्डम (ढाल) छँदैछ। यसको प्रयोगमा सावधानी भने अपनाउनै पर्छ। कथंकदाचित कण्डम फुटेमा यौन कार्य तत्काल रोकेर यौनाङ्ग सफा गर्नु पर्दछ।

गर्भ रहने प्रक्रियामा डिम्ब निष्काशन, डिम्ब निसेचन र यौन सम्पर्कको क्रममा हुने वीर्य स्खलनको भूमिकाबारे ज्ञान भएका जोडीले प्राकृतिक तवरले गर्भ निरोध गर्न सक्छन्। गर्भ रहन सक्ने अवधिमा कण्डम एवं कमल चक्की प्रयोग गर्न सकिन्छ। यी दुवै उपाय असफल हुँदा आपतकालीन साधनको रूपमा पिल्स (चक्की) पाइन्छ। त्यसपछि पनि चिन्ता रहे सम्बन्धित विशेषज्ञसँग सल्लाह लिन या पिसाब जाँच गर्न सकिन्छ।

बेकारका कुरा

कतिपय दम्पतीमा पुरुषको यौनाङ्गको आकारलाई लिएर असमझ्दारी उत्पन्न हुन सक्छ। तर, लिंगको लम्बाइ वा मोटाइले केही फरक पार्दैन। नियमित यौन सम्पर्कले यौनाङ्गको आकार बढाउने कुरा आफ्नो ठाउँमा छँदैछ। यसैगरी, कतिपय दम्पती योनीद्वारको झिल्ली (हाइमेन) लाई लिएर चिन्तित भएका हुन्छन्। जबकि, साइकल–बाइक चढ्ने, घोडा कुदाउने वा शारीरिक परिश्रम गर्ने युवतीहरूको झ्िल्ली (भर्जिनिटी) थाहै नपाई गइसकेको हुन सक्छ।

कतिपय पुरुषमा छिटो वीर्य स्खलन हुने समस्या हुन्छ। यसको खास कारण थाहा नभए पनि मानसिक कारणले यस्तो हुने विश्वास गरिएको छ। यौनमा पार्टनरलाई सन्तुष्ट पार्न सक्दिनँ भन्ने चिन्ता र कहिलेकाहीं केही औषधिको कारणले पनि शीघ्र पतन हुन सक्छ। यौन सम्पर्क अघिको पाकक्रीडा (फोरप्ले) बाट आत्मविश्वास बढेर शीघ्र पतन नहुन सक्छ। यसको अलावा अगाडि नै यौनको सोचमा नडुब्ने, यौन सम्पर्कको क्रममा वेलावेला रोकिने, आसन परिवर्तन, कण्डम प्रयोग र वीर्य स्खलन नियन्त्रण अभ्यासबाट फाइदा पुग्छ। यौन सम्पर्कको समयमा ध्यान अन्यत्र मोडेर वा अगाडि नै हस्तमैथुन गरेर पनि मिलनको समय लम्ब्याउन सकिन्छ।

लिङ्ग उत्तेजित नहुने समस्या भएका पुरुषहरूले चिकित्सकको परामर्शमा औषधि प्रयोग गर्न सक्छन्। तनावपूर्ण र त्रासमय परिस्थितिमा हतार–हतार यौनसम्पर्क गर्न खोज्ने पुरुषले लिङ्ग उत्तेजित भएन भन्नु पनि बेकारको बात हुन सक्छ।

comments powered by Disqus

रमझम