४-१० फागुन २०७० | 16-22 February 2014

दिनहुँ पुरस्कृत

Share:
  
- सन्त गाहा मगर
बाबुआमासँगै कारागारमा बस्न बाध्य बालबालिकाको उद्धारमा समर्पित इन्दिरा राना मगर (४२) 'द वर्ल्डस् चिल्ड्रेन्स् प्राइज' को अन्तिम तीनमा परेकी छन्।

तस्वीरहरुः देबकी विष्ट
गएको भदौमा बन्दी सहायता गृह (पिए) नेपालकी संस्थापक इन्दिरा राना मगर वर्ल्डस् चिल्ड्रेन्स् प्राइजको मनोनयनमा परिन्। आधिकारिक पत्र आए पनि उनले आयोजक 'द वर्ल्डस् चिल्ड्रेन्स् प्राइज फाउन्डेसन' को आग्रहमा ६ महीनासम्म त्यो सूचना गोप्य राखिन्।

गोपनीयता खोल्ने समय हुँदासम्म इन्दिरा, मलाला युसुफजई र जोन उडको नाम छनोटको अन्तिम तीनमा परेकी छन्। तालिवानको सांघातिक हमलामा परेकी किशोरी मलाला पाकिस्तानमा बालिका शिक्षाको प्रतीक मानिन्छिन् भने अमेरिकाका जोनले साक्षरता र लैङ्गिक समानताको अभियानबाट विश्वभर नाम कमाएका छन्। विभिन्न देशका १५ बालबालिका सदस्य रहेको जुरीले 'वर्ल्डस् चिल्ड्रेन्स् प्राइज' का लागि यी तीन हस्तीको नाम चयन गरेको हो। अति विपन्न र बाबुआमा कारागारमा रहेका नानीहरूको लालनपालन, शिक्षा र सीप सिकाइमा पुर्‍याएको असाधारण योगदानको लागि नेपालकी इन्दिरा छनोटमा परेको फाउन्डेसनले जनाएको छ। सानो 'नोबेल प्राइज' भनिने यो पुरस्कारको राशी एक लाख अमेरिकी डलर छ।

बाल अधिकारको क्षेत्रमा कार्यरत संघ–संस्था तथा स्कूलहरूले १५ अक्टोबरभित्र दिने भोटको आधारमा यी तीनमध्ये एक जना विजेता घोषणा गरिने फाउन्डेसनको वेबसाइटमा उल्लेख छ। अन्तिम मनोनयनका तीनै जनालाई आगामी अक्टोबरमा स्वीडेनमा सम्मानित गरिने पनि फाउन्डेसनले जनाएको छ।

इन्दिराको उदय

२०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्। उनले काठमाडौंको नयाँबजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापाको खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी छन्। खुदुनाबारीमा ९ जना 'डे केयर' मा छन्। ती बालबालिकाका लागि उनले जूनकिरी नामका दुई वटा प्राथमिक स्कूल पनि चलाएकी छन्। साँखुको जूनकिरीमा १२२ र खुदुनाबारीमा १०२ बालबालिका पढ्छन्।

यसैगरी, पाल्पा र भक्तपुरमा युथ होम खोलेकी छन्। सबै ठाउँमा गरेर ४१ कर्मचारी छन्। आवासगृहमा चाहिं ठूलाले साना बालबालिकाको हेरचाह गर्ने नियम बसाएकी छन्। ठूला दुईको भागमा साना पाँच जना तोकिएको छ। कर्मचारी नपुगेर नभई बालबालिकालाई जिम्मेवार बनाउन र पारिवारिक माहोल सिर्जना गर्न यसो गरेको इन्दिरा बताउँछिन्।

उनले ठूला नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाई–बुनाई, कृषि जस्ता आयमूलक काम पनि सिकाउने गरेकी छन्। इन्दिराले करागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गरिरहेकी छन्। सरकारले एक शिक्षक दिएको काठमाडौंको महिला कारागारभित्रको प्राथमिक विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गरेकी छन्। त्यहाँ पढ्ने ६० जना महिला बन्दीलाई कापी, कलम र किताबको जिम्मा पनि उनैले लिएकी छन्। “२३ वर्षअघि महिला कारागारमा साक्षरता अभियान चलाएरै मेरो समाजसेवा शुरु भएको थियो”, इन्दिरा भन्छिन्।

बाबुआमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व लिएर सीएनएन हिरो बनेकी पुष्पा बस्नेत पनि शुरुमा इन्दिराकै संस्था पिए, नेपालमा स्वयंसेवक थिइन्। उनले इन्दिराकै रोहबरमा कारागारबाट तीन जना नानी लगेर प्रारम्भिक बाल विकास केन्द्र आरम्भ गरेकी हुन्।

इन्दिरा आफैंले जन्माएकी एक छोरी मात्र भए पनि उनी अहिले साथमा रहेका १३ महीने अर्जुनदेखि बालबच्चा भइसकेका सयौंको 'आमा' बनेकी छन्। यी सबैले आमा भनेर बोलाउँदा उनलाई संसार जितेको अनुभूति हुन्छ। अभावपूर्ण बाल्यकाल बिताएकी इन्दिरा ११ वर्षमा एकैचोटि पाँच कक्षामा भर्ना भएकी थिइन्। २०५३ मा स्नातक गरेर समाजसेवामा लागेकी उनी आफूले हुर्काएर ठूलो बनाएका मध्ये केहीले सही बाटो नसमातेकोमा दुःखी छिन्।

वर्ल्डस् चिल्ड्रेन्स् प्राइजका लागि मलाला वा जोनले जित्दा इन्दिराले हार्ने छिन्। “तर, उनीहरु दुवै पुरस्कारका लागि योग्य छन्”, इन्दिरा भन्छिन्, “म त छोराछोरीको मुस्कानले पनि दिनहुँ पुरस्कृत भइरहेकै छु।”

comments powered by Disqus

रमझम