४-१० फागुन २०७० | 16-22 February 2014

'नेपाल भन्ने चौघेरा रहेन'

Share:
  

उद्योगपति वसन्त चौधरीले साहित्यकारको परिचय पनि बनाएका छन्। कला र फिल्म क्षेत्रको लागि सीजी इन्टरटेनमेन्ट स्थापना गरेका उनी काव्ययात्रा लिएर विश्वभरका नेपालीमाझ पुगिरहेका छन्। ६ महीनाअघि अमेरिकाबाट शुरु भएको काव्ययात्रा अन्तर्गत उनले २५ माघमा काठमाडौंमा पनि प्रस्तुति दिए। चौधरीसँग अनुशील श्रेष्ठले गरेको कुराकानी।

अनुशील श्रेष्ठ
तपाईं आफूलाई के भनेर चिनाउँदा बढी आनन्दित हुनुहुन्छ?

म आफूलाई साहित्यको उपासक भन्छु। उपासनाको क्रममा केही सिर्जना पनि गर्छु, तर कवि भनेर दाबा गर्दिनँ। व्यवसायी त म हुँ नै, तर स्वच्छतामा विश्वास गर्ने हुँदा व्यापार गर्ने चल्तीको तरीका अपनाउँदिनँ।

काव्ययात्रा के को लागि र कुन चरणमा पुग्यो?

नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्यले गत वर्ष न्यूयोर्कबाट शुरु गरेको काव्ययात्रा अन्तर्गत पाँच देश पुगिसकें। यो वर्षभित्र २० मुलुक पुग्ने अठोट छ।

कति वटा देश पुर्‍याउने योजना छ?

२० देशमा। अब व्यवसायबाट पनि निवृत्त हुने वेला आउन लागेको छ। त्यसपछि साहित्यमा 'फुलटाइमर' हुन सक्छु। त्यसैले, काव्ययात्रा २० बाट बढेर नेपाली पुगेका सबै देशसम्म पुग्न सक्छ।

विदेश र आफ्नै राजधानीको कविता वाचनमा के फरक रह्यो?

म जस्तो भर्खर साहित्यमा आएको मान्छेको कार्यक्रममा देशका मूर्धन्य साहित्यकारहरू आएर एक घण्टा सुनिदिनुभयो, काठमाडौंमा। अमेरिकाको चार शहरमा कार्यक्रम गर्दा हरेकमा डेढ सयदेखि अढाई सयसम्म नेपाली मलाई सुन्न आउनुभयो। स्वदेश र विदेशको भिन्नता वा समानता यिनै हुन्।

साहित्य–संस्कृतिका विषयमा विदेशस्थित नेपालीको अवस्था कस्तो पाउनुभयो?

बेलायतमा नेपाली साहित्यको स्तर निकै माथि पाएँ। पाँच दिन मरेर काम गर्नेहरू बाँकी दुई दिन साहित्यको रसमा डुब्दा रहेछन्। अमेरिकामा पनि एकअर्कामा साहित्य सिर्जना सुनाएर बस्ने गरेको पाएँ। सिक्किममा त नेपाली भाषा–साहित्यप्रतिको सम्मान शब्दमा वर्णन गर्न सकिन्न।

उतै हुर्किरहेका नयाँँ पुस्तामा नेपाली सांस्कृतिक चेत कतिको देख्नुभयो?

नयाँ पुस्ताले नेपाली लिपि बिर्सन्छन् भन्ने चिन्ता छ। त्यसैले, नेपाली भाषाप्रति झुकाव होस् भनेर मेरो कार्यक्रममा ३० प्रतिशत किशोरकिशोरीलाई आमन्त्रण गर्ने गरेको छु।

काव्ययात्राका निजी अनुभव कस्तो छ?

शुरुमा मेरो यात्रालाई यसरी सबैले मनपराइदिनुहुन्छ भन्ने लागेको थिएन। तर, म जति ठाउँ पुगें अपार माया र सद्भाव पाएँ। अब हामी बाँचेको नेपाल भन्ने चौघेरा रहेन। नेपाली जहाँ–जहाँ छन् त्यहाँ–त्यहाँ नेपाली भाषा, साहित्य र संस्कृति फैलिएको पाएँ।

देशप्रेम र मायाप्रेमका गीतमध्ये कुनबाट बढी आनन्द आउँछ?

प्रेमको सर्वोच्चभाव त देशप्रेममै हुन्छ।

काव्ययात्रा बाहेक अरु नयाँ के योजना छन्?

हिन्दी र नेपाली दुवैमा लेख्ने भएकाले टाइम्स म्युजिक कम्पनीबाट एउटा नेपाली कलाकारहरूको र अर्को भारतीय गायक–गायिकाको स्वरमा अल्बम निकाल्दैछु। सीजी इन्टरटेनमेन्टबाट पनि नेपाली कला, साहित्यको क्षेत्रमा काम गरिरहेका छौं। नयाँ फिल्मको लागि चार वटा प्रोजेक्ट आएका छन्, त्यसमा विमर्श हुँदैछ।

comments powered by Disqus

रमझम