४-१० फागुन २०७० | 16-22 February 2014

चर्चित गीत अपरिचित गायक

Share:
  

'तिमी आउने बाटोमा फूलै रोपिदिएँ आइनौ', 'सुनैको दरबार दिन तिम्लाई सक्दिनँ', 'तिमी करोडमा म त रोडमा', 'सुनैको पैंचो सुनैले तिरौंला', 'मौका परेपछि' जस्ता युवापुस्ताको मुखमा झुन्डिएका गीतका गायक डिजराज पौडेल (३५) भने त्यति चिनिंदैनन्। गीत चर्चित भएर पनि गायक चर्चित नहुनुको कारण के होला त? 'शायद नाम नै अप्ठ्यारो भएकोले हुन सक्छ' उनको अनुमान छ।

सिन्धुलीको लदाभीरमा जन्मिएर एक दशकअघि संगीतको दुनियाँमा सफल बन्न काठमाडौं आएका उनलाई नाम नचले पनि कामको भने खाँचो भएको छैन। जिल्लाहरूमा हुने महोत्सव तथा राजधानीका कलेज र स्कूलले गर्ने कार्यक्रममा उनको भ्याई–नभ्याई छ। शास्त्रीय संगीतका गुरु धनबहादुर गोपाली र उनवी चाम्लिङसँग संगीत सिकेका उनी वि.सं. २०६५ मा गाएको 'तिमी आउने बाटोमा' चलेपछि स्कूलमा पढाउने पेशा छाडेर पूर्णकालीन गायक बने। सम्बोधन, सुनैको दरबार, घडेरी, गोरेटो गरी पाँच वटा अल्बम निकालेका उनी आफू चर्चित नहुनुमा पैसा खर्च गरेर टेलिभिजन र रेडियोमा म्युजिक भिडिओ र गीत नबजाउनुलाई पनि कारण मान्छन्।

प्रविधिको विकासले गीतहरू सित्तैंमा डाउनलोड गर्न पाइने भएपछि क्यासेट किन्ने चलन हराएकाले अहिले गायकहरूको कमाइ पहिले जस्तो नभएको उनको भनाइ छ। तर, स्टेज कार्यक्रमहरू धेरै हुन थालेकाले त्यसको भर्पाइ हुने गरेको बताउँदै उनी भन्छन्, “गीत चलेपछि कार्यक्रमहरूमा बोलाइने हुनाले गुजारा चलाएर केही बचाउन सकिएको छ।”

comments powered by Disqus

रमझम