११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

तस्वीर मात्र नहोस्

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (४―१० फागुन) मा प्रकाशित 'निमित्त कार्यकारी' शीर्षकको राजनीतिक समाचार सान्दर्भिक लाग्यो। नेपाली राजनीतिमा आएको महत्वपूर्ण परिवर्तनमा नेपाली जनताले ज्यानको बाजी लगाएर विकृति र विसंगतिका विरूद्ध लडेको कुरा कसैले पनि भुल्नुहुँदैन। तर सत्ता आफ्नो हातमा आएपछि दलले ती सबै कुरा भुलेपछि यो अवस्था सृजना भएको हो। त्यागी र इमान्दार नेताका रूपमा चिनिने कांग्रेस सभापति सुशील कोइराला मुलुकको ३७औं प्रधानमन्त्री निर्वाचित भएका छन्। कोइराला सरकारका सामु आएको संविधान निर्माणको गहन जिम्मेवारी पूरा गर्नका लागि सानातिना दलीय स्वार्थ छाडेर अघि बढ्नुको विकल्प छैन। त्यसकारण आफ्नो छवि जोगाउनका लागि पनि कोइरालाले सबै दललाई मिलाएर अघि बढ्नुपर्छ। होइन भने विगतका प्रधानमन्त्रीले झैं आसेपासेका कुरा सुनी त्यसै अनुसार काम गरेर सिंहदरबारमा तस्वीर झुन्ड्याउँदैमा केही हुनेवाला छैन। रोजाइ प्रधानमन्त्रीकै हो, तस्वीर मात्र झुन्ड्याउने कि संविधान पनि लेख्ने!

विकास पौडेल, ललितपुर

दलहरू देश र जनताप्रति कति वफादार छन् भन्ने कुरा हिमाल को समाचारबाट प्रष्ट हुन्छ। सत्तामा पुग्नको लागि विभिन्न आश्वासन दिए पनि सत्तामा पुगेपछि सबै बिर्सने नेतृत्वको प्रवृत्तिका कारण सिंहदरबारमा तस्वीर बढ्ने बाहेक अरू केही नभएको हो। त्यसतर्फ प्रधानमन्त्री कोइरालाको ध्यान जाओस्।

शिवप्रसाद दाहाल, इमेलबाट

कामको वातावरण बनाऊ

साप्ताहिक खबरपत्रिका हिमाल (४―१० फागुन) मा प्रकाशित 'छैन नियमन' समाचार पढेपछि अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भित्र्याउन मद्दत गरेको वैदेशिक रोजगार व्यवसायमाथि भरपर्दो नियमन हुन नसकेको तर्फ औंल्याइएको छ। वैदेशिक रोजगारमा जाने अधिकांश नेपाली पाइला–पाइलामा ठगिने घटना अब नौलो रहेन। वैदेशिक रोजगारमा गएकाले पठाएको रेमिट्यान्सले देश चलाइरहेको सरकारले यसलाई व्यवस्थित गराउन प्रभावकारी नियमन गराउन नसक्नु लाजमर्दो कुरा हो। वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनका लागि अघिसरेका केही जिम्मेवार सरकारी अधिकारीलाई सरकार र सरोकारवाला सबै पक्षले निःशर्त सहयोग गर्नुपर्छ। जसले गर्दा भोलिका दिनमा सर्वसाधारण ठगिन पाउने छैनन्।

सुलोचना चौधरी, इमेलबाट

ठगलाई राजनीतिक ओत

साप्ताहिक खबरपत्रिका हिमाल (४―१० फागुन) मा घरायसी उपभोक्तालाई अनुदानमा ग्यास दिने नाममा बाँडिएको कार्डबाट ग्यास बिक्रेता र उद्योगले लाखौं ठगी गरेको सन्दर्भमा प्रकाशित 'हाकाहाकी ठगी' सम्बन्धी समाचार सान्दर्भिक लाग्यो। ग्यास मात्र होइन, अन्य क्षेत्रमा पनि यसैगरी सर्वसाधारणमाथि हाकाहाकी ठगी भइरहेको छ। ठग गिरोहमा संलग्नका यस्ता गतिविधिबारे कुनै प्रतिक्रिया जनाउन नसक्ने सर्वसाधारण टुलुटुलु हेरेर बस्न बाध्य छन् भने दलीय नेतृत्वले उनीहरूलाई संरक्षण दिएको छ। निर्णायक तहका व्यक्ति नै ठगीमा संलग्न भएपछि सर्वसाधारणले कहाँबाट न्याय पाउने?

विप्लव आचार्य, इमेलबाट

आशलाग्दो समाचार

साप्ताहिक खबरपत्रिका हिमाल (४―१० फागुन) मा प्रकाशित 'सुन होला नेपालमा?' समाचारले आशा जगाइदिएको छ। प्राकृतिक रूपमा धनी हाम्रो देशमा सुन जस्तो दुर्लभ धातुको सम्भावना हुनु भनेको हामी सबैका लागि खुशीको कुरा हो। सुन जस्तै नेपालमा तामा, फलाम लगायतका धातु पनि भएको कुरा वेलाबखतमा उठ्ने गरेका छन्। सरकारले यतातिर ध्यान दिएर दुर्लभ धातुको खोजी गर्न थाल्ने हो भने वैदेशिक रोजगारमा जाने युवालाई नेपालमै काम मिल्नेथियो। यति मात्र होइन, यस्ता धातुको निर्यातले देशको अर्थतन्त्रलाई बलियो बनाउने निश्चित छ। सरकारले काम गर्ने हो भने यसबाट लाभैलाभ हुन्छ।

मदन राई, इमेलबाट

स्याबास इन्दिरा

साप्ताहिक खबरपत्रिका हिमाल (४―१० फागुन) मा प्रकाशित 'दिनहुँ पुरस्कृत' समाचार पठनीय लाग्यो। अनाथ र असहायको लागि इन्दिराले गरेको प्रयास साँच्चिकै मनछुने खालको छ। आफैंले जन्माएका बालबच्चाको बेवास्ता गर्ने अभिभावकले इन्दिराको कामबाट धेरै कुरा सिक्नै पर्छ। हरेक समुदायमा इन्दिरा जस्ता ममतामयीहरूको खाँचो छ।

सुनिता माली, इमेलबाट

comments powered by Disqus

रमझम