११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

संकटमा कान्छो विश्वविद्यालय

Share:
  
राजनीतिक खिचातानीका कारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालय संकटमा परेको छ।

बच्चु बिक
स्थापनादेखि नै बन्द–हडताल झेल्न बाध्य सुदूरपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपति प्रा.डा. जयराज अवस्थी सहित सात जना पदाधिकारीले 'असुरक्षा र काम गर्ने वातावरण नभएको' भन्दै २८ माघमा राजीनामा दिएपछि संकटमा परेको छ। १२ दिन सुदूरपश्चिम बन्द गरेर २०६७ मा स्थापना भएको यो विश्वविद्यालयले असार २०६८ मा प्रा.डा. अवस्थीलाई उपकुलपति पाएको थियो। त्यसपछि रजिष्ट्रार र डीनहरूको नियुक्तिका लागि स्थानीयले फेरि आन्दोलन गरे। रजिस्ट्रार प्रा.डा. हेमराज पन्त, मानविकी संकायका डीन डा. टेकराज पन्त, शिक्षाशास्त्र संकायका डीन प्रा.डा. नारद अवस्थी, विज्ञान तथा प्रविधि संकायका डीन डा. भवानी चन्द ठकुरी र व्यवस्थापन संकायका डीन भारती जोशीको नियुक्तिपछि भने विश्वविद्यालयभित्रै बन्द र हडताल शुरू भयो। विद्यार्थीले 'राजनीतिक भागबण्डा' मा पदाधिकारी नियुक्ति गरिएको भन्दै बन्द र हडताल गरेका थिए।

विश्वविद्यालयमा भदौ २०६९ मा पढाइ शुरू भएपछि मात्र ७५ दिन तालाबन्दी भएको थियो, २३ माघदेखि शुरू भएको पछिल्लो तालाबन्दी अहिले पनि जारी छ।

विश्वविद्यालय र विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसमा तालाबन्दी गर्ने अनेरास्ववियू र दुवै अखिल क्रान्तिकारीसँगै पढाइ संचालनको पक्षमा रहेको नेविसंघले पनि आफ्नो निवासमा तोडफोड तथा ढुङ्गामुढा गरेपछि उपकुलपति प्रा.डा. अवस्थी सहित सात जना पदाधिकारीले सामूहिक राजीनामा दिएका हुन्।

राजनीतिक चलखेल

सहमतिमै भागबण्डाबाट उपकुलपति नियुक्त भए पनि डीन तथा अन्य पदाधिकारी र कर्मचारी नियुक्तिले दलहरूमा असन्तुष्टि बढाएको थियो। डीन नियुक्त हुँदा कांग्रेस, एमाले र एमाओवादीको मात्रै परेको भन्दै वैद्य माओवादीले भ्रातृ संगठनलाई उकासेपछि बन्द–हडतालको क्रम शुरू भएको थियो। सिद्धनाथ बहुमुखी क्याम्पस समायोजन गर्ने क्रममा त्यहाँ कार्यरत एमाले निकटका कर्मचारी स्थायी हुने भएपछि कांग्रेस र एमाओवादी पनि असन्तुष्ट भएर आफ्ना भ्रातृ संगठनलाई तालाबन्दी गर्न उक्साएका थिए। अहिले कांग्रेस नजिकका दुई जना शिक्षक नियुक्त भएपछि एमाले, एमाओवादी र वैद्य माओवादीका भ्रातृ संगठन विरोधमा उत्रिएका हुन्।

अहिले उनीहरू उपकुलपति प्रा.डा. अवस्थीको राजीनामा स्वीकृत गराएर आफू निकटलाई उपकुलपति बनाउन लागेका छन्। एमाले कोटामा उपकुलपति भएका प्रा.डा. अवस्थीसँग असन्तुष्ट एमालेका स्थानीय नेता पनि अर्को व्यक्तिलाई उपकुलपति बनाउने पक्षमा छन्। उनीहरू बैतडी घर भएका प्रा.डा. तारादत्त भट्टलाई उपकुलपति बनाउन चाहन्छन् भने कांग्रेसको संस्थापन पक्ष दार्चुला घर भएका प्रा.डा. अक्कलबहादुर मिश्र र देउवापक्ष प्रा.डा. अमरराज जोशीलाई बनाउन लागिपरेका छन्।

भविष्य अन्योलमा

पदाधिकारीहरूको राजीनामाले ५ फागुनदेखि पढाइ शुरू हुनुपर्ने स्नातक तहको सिभिल इन्जिनियरिङको प्रवेश परीक्षाको नतीजा रोकिएको छ। ४८ सीटका लागि प्रवेश परीक्षा दिएका १२० विद्यार्थी अहिले अन्योलमा छन्। विश्वविद्यालय स्रोत केही दिनमा सहज वातावरण नबने इन्जिनियरिङको पढाइ नहुने बताउँछ। माघ मसान्तभित्रै प्रकाशन हुनुपर्ने स्नातक तह दोस्रो सेमेस्टरको परीक्षाको नतीजा पनि रोकिएको छ भने पहिलो र तेस्रो सेमेस्टरको परीक्षा तयारी अवरुद्ध बनेको छ। विश्वविद्यालय शिक्षा आयोगले माघ मसान्तभित्रै शुरू गर्ने तयारी गरेको प्राध्यापक र कर्मचारीको पदपूर्तिको प्रक्रिया पनि अघि बढ्न सकेको छैन। जसका कारण, विश्वविद्यालय अन्तर्गत अध्ययनरत करीब दुई हजार विद्यार्थीको पढाइ अवरुद्ध भएको छ।

टेन्डर प्रक्रियामा रहेको केन्द्रीय प्रशासनिक भवन र विज्ञान तथा प्रविधि संकायको भवन यो वर्ष निर्माण नहुने सम्भावना देखिंदैछ। महिला तथा पुरुष छात्रावासको भवन निर्माणको अवस्था पनि त्यस्तै छ। चालु शैक्षिक सत्रदेखि शुरू हुने भनिएको एमफिल र पीएचडीको कार्यक्रम पनि अवरुद्ध हुने निश्चित छ। सुदूरपश्चिमका नौ वटा जिल्लामा एक–एक वटा आङ्गिक क्याम्पस बनाउने नीति अनुरूप यो वर्ष कैलालीको कैलाली बहुमुखी क्याम्पस र बझाङको जयपृथ्वीबहादुर सिंह क्याम्पसलाई अनुबन्धन गर्ने निर्णय पनि प्रभावित हुने भएको छ।

बच्चु बिक, महेन्द्रनगर


कतारको कमाइ गाउँमै

गोपाल गडतौला
झापाको लखनपुर–१ का गोविन्द खनाल (३२) सँग कतारको होटलमा पाँच वर्ष कुक काम गरेर अडाइ वर्षअघि फर्कंदा गाउँमै केही गर्ने सोच मात्र थियो। तर, उता कमाएको केही रुपैयाँले कुखुरापालन थालेपछि अहिले उनलाई घर नै कतारभन्दा बढी भएको छ। घर वरिपरि पाँच वटा खोरमा भर्खरका चल्लादेखि तीन केजी भन्दा बढी तौलका १९०० कुखुरा हुर्काएका उनी भन्छन्, “अहिले सम्झ्ँदा बेकारमा कतार गइएछ भन्ने लाग्छ।”

अढाइ वर्षमा बाह्र छिमल कुखुरा बेचेर रु.९ लाख कमाएका गोविन्द मिहिनेत र संयोग मिल्दा विदेशमा भन्दा गाउँमै बढी कमाइ हुने बताउँछन्। तर, बिहानै उठेर रातभरि थुप्रिएको सुली सोहोर्नु, चारो र पानी दिनु, रोग लागे–नलागेको हेरविचार गर्नु सजिलो भने छैन। कुखुरा किन्न दमक, लखनपुर र केरखाका मासुपसले आफैं आउने हुनाले उनले बजार लैजान परेको छैन। दिनहुँ काम गर्नुपरे पनि आफ्नोखुशी हुनेभएकाले व्यवसायको वेग्लै मज्जा रहेको उनको अनुभव छ। गोविन्द भन्छन्, “अर्काले लाए अह्राएको कामभन्दा आफ्नो काममा आनन्द आउने रहेछ।”

१३ वर्षअघि स्कूले पढाइ छोडेर भारतको दिल्ली पुगेका उनले होटलमा मजदूरी गर्ने क्रममा कुक सिकेका थिए। २०६२ मा घर फर्किएपछि रु.१ लाख ऋण लिएर कतारको राजधानी दोहा पुगेका उनले त्यहाँको ब्लुस्टार होटलमा मासिक साढे ६०० रियल (करीब रु.१३ हजार) मा कुक काम थालेका थिए। फर्किने वेला उनको मासिक तलब १८०० रियल पुगेको थियो।

गोपाल गडतौला, झापा


निरव वर्ल्ड टप

ए लेभलमा नेपाल टप गरेका रातो बंगलाका विद्यार्थी। एएस लेभलमा वर्ल्ड टप गरेका निरव कोइराला (इन्सेटमा)।
क्याम्ब्रिज इन्टरनेशनल एक्जामिनेसन (सीआईई) अन्तर्गतको गत जूनमा भएको एएस लेभल परीक्षामा नेपाली विद्यार्थी निरव कोइरालाले वर्ल्ड टप गरेका छन्। ललितपुरस्थित रातो बंगला स्कूलका विद्यार्थी कोइरालाले पाएको सफलताबारे स्कूलकी ए लेभल को–अर्डिनेटर रजनी उपाध्याय भन्छिन्, “उनको मिहिनेतले यो सफलता संभव भएको हो।” सीआईई अन्तर्गतको अंग्रेजी भाषा–साहित्य विषयमा वर्ल्ड टप गरेका उनी उच्च शिक्षाका लागि अमेरिकाको ग्रिनेल कलेज पुगेका छन्।

रातो बंगलाका अरू विद्यार्थीले गत जूनमा भएको ए लेभलको परीक्षामा विभिन्न १० विषयमा नेपाल टप गरे। सीआईई अन्तर्गत ए लेभलका एकाउन्टिङ, बिजनेश स्टडिज र अर्थशास्त्रमा श्रव्य तिम्सिनाले नेपाल टप गरे भने श्रेयाश्री विष्ट र सुहासा मल्लले ए लेभलको समाजशास्त्र, यशोज शाक्यले गणित र विशेष यादवले फिजिक्समा नेपाल टप गरे।

ए लेभलको क्याम्ब्रिज इन्टरनेशनलको परीक्षामा निरज पराजुली, सीआईई अन्तर्गत एएस लेभलको परीक्षामा शन्तम झा, इशान घिमिरे र अक्रिश अधिकारीले नेपाल टप गरे। झाले जेनेरल पेपर, घिमिरेले वातावरण व्यवस्थापन र अक्रिश अधिकारीले समाजशास्त्रमा परीक्षा दिएका थिए। को–अर्डिनेटर उपाध्यायले सन् २००७ पछि रातो बंगलाले सीआईई अन्तर्गत ए लेभलमा धेरै विषयमा राम्रो नतीजा ल्याएको बताइन्।

सेन्छेलुङ लिम्बू


बनेन क्षेत्रीय रंगशाला

सविता श्रेष्ठ
मध्यमाञ्चल क्षेत्रको खेलकुदलाई गति दिने उद्देश्यले चितवनको रत्ननगर नगरपालिका―७ टिकौलीमा २०६६ सालमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे र युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले शिलान्यास गरेको क्षेत्रीय रंगशालाको निर्माण अलपत्र परेको छ। सरकारले देशका पाँचै विकास क्षेत्रमा क्षेत्रीय रंगशाला निर्माण गर्ने निर्णय गरे अनुसार मध्यमाञ्चलका लागि यो ठाउँ तोकिएको थियो।

रंगशाला निर्माणका लागि त्यो वेला विनियोजन गरिएको रु.२ करोड ५० लाख बजेट पनि खर्च हुनसकेको छैन। रंगशाला निर्माणको जिम्मा पाएको राष्ट्रिय खेलकुद परिषद्ले २५ असार २०६७ मा परामर्श कार्य सम्बन्धी प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरे पनि पछि 'विशेष कारण' देखाउँदै सूचना निकालेर टेन्डर रद्द गरिएको थियो।

जैविक मार्ग कारण

टिकौली चौरमा रंगशाला बन्न नसक्नुमा त्यो ठाउँ जैविक मार्गमा पर्नु कारण रहेको देखिन्छ। त्यही कारण त्यो चौरको स्वामित्व रहेको वन विभागले त्यहाँ रंगशाला बनाउने स्वीकृति दिएको छैन। रंगशाला निर्माणका लागि स्थान पहिचान गर्न गठित कार्यदलका सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य राजु श्रेष्ठ जैविक मार्गमा रहेको ठाउँलाई सर्वदलीय समितिले छनोट गर्नु रंगशाला निर्माण हुन नसक्नुको प्रमुख कारण मान्छन्।

२९ असोज २०६६ मा जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको सर्वदलीय बैठकले 'जैविक विविधताको कारणले बाधा नपर्ने भएमा' भन्दै टिकौलीमा रंगशाला निर्माण गर्ने निर्णय सहितको सिफारिश गरेको थियो। बैठकले भरतपुर–१ को आँपटारी, रत्ननगर–७ को टिकौली चौर, भरतपुर–६ को यज्ञपुरी र भरतपुर–११ को गणेशस्थानलाई प्राथमिकताका आधारमा सिफारिश गरेको थियो।

तर, जैविक मार्गको विषयले रंगशाला निर्माणलाई बाधा पुर्‍याउने सम्भावना बेवास्ता गरेर रंगशाला शिलान्यास गरियो। जसले, खेलाडी र खेलप्रेमीलाई निराश पारेको छ। खेलमैदान नहुँदा क्षेत्रीय खेलकुद कार्यक्रम हुन समस्या पारेको छ।

नारायणगढको क्याम्पाचौरमा रहेको खेलमैदानमा अरू कार्यक्रम र मेलाहरू हुने गरेका छन्। रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मेवारी दिइएकाले जिल्ला खेलकुद विकास समितिले भूमिका निर्वाह गर्न नसकेको समितिका सचिव रामजी ढकालको भनाइ छ।

सविता श्रेष्ठ, चितवन

comments powered by Disqus

रमझम