११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

ज्यानमारा लापरबाही

Share:
  
- कुन्द दीक्षित
नेपालको आन्तरिक उडानमा चार दशकदेखि जोतिएको ट्वीनअटर विमानहरूको सेवा निकै पछुताउपूर्ण बनेको छ।

सन् १९७२ मा लुक्ला विमानस्थलमा पार्क गरिएका नेपाल वायुसेवा निगमका पहिलो दुई ट्वीनअटर विमान। यी दुवै विमान दुर्घटनामा परिसकेका छन्।
४ फागुनमा अर्घाखाँचीको मसिने लेकमा नेपाल वायुसेवा निगमको नाइन्एन–एबीबी ट्वीनअटर विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो। हवाई असुरक्षामा नेपाल यति बदनाम छ कि नेपाली विमानसेवा प्रदायकहरू तीन महीनादेखि यूरोपियन यूनियनको कालोसूचीमा छन्। हुन पनि, २०६३–६८ को अवधिमा आठ हवाई दुर्घटना भए, जसमा ११४ जनाको ज्यान गएको छ।

क्यानाडामा निर्मित डीएचसी–६ ट्वीनअटर नेपालको जस्तै अप्ठ्यारो पहाडी क्षेत्रमा चुनौतीपूर्ण उडानलाई ध्यानमा राखेर बनाइएको हो। त्यसैले ट्वीनअटर विमानलाई 'पंखावाल ल्यान्ड रोभर' पनि भनिन्छ। अनुभवी पाइलटहरूका अनुसार ट्वीनअटर मर्मत गर्न र चलाउन सजिलो हुनुका साथै टिकाउ पनि छ। तर, जहाज जति नै बलियो भए पनि लापरबाही ढङ्गले उडाइयो भने त्यसले गन्तव्यमा नपुर्‍याउँदो रहेछ।

नेपालको जस्तो अप्ठ्यारो भूगोल र क्यानाडाको आर्कटिक क्षेत्रको जस्तो कठोर मौसममा उडान भर्न बनाइएका ट्वीनअटरहरू बढी दुर्घटनामा परेका छन्। सन् १९६५ यता 'डे हेभिल्यान्ड क्यानाडा' कम्पनीले बनाएका ८४४ मध्ये २६३ वटा ट्वीनअटर संसारभरि दुर्घटनामा परिसकेका छन्। ती दुर्घटनामा १,४२३ जनाको ज्यान गएको छ। जबकि, ६७३ वटा बीचक्राफ्ट– १९०० विमानमध्ये ३३ वटा मात्र दुर्घटनामा परेका छन्।

नेपाली आकाशमा उडेका कुल २५ ट्वीनअटरमध्ये १६ वटा दुर्घटनामा ध्वस्त भइसकेका छन्। नेपाल वायुसेवा निगम (पहिले शाही नेपाल वायुसेवा निगम) ले २०२८ सालदेखि ट्वीनअटर विमान उडाउन शुरू गरेको हो। यो अवधिमा निगमको १२ वटा ट्वीनअटरमध्ये सात वटा दुर्घटनामा ध्वस्त भइसकेका छन्। निगमसँग बचेका चार वटामध्ये तीन वटा इञ्जिन नभएर थन्किएका छन् भने एउटा 'तारा एयर' ले भाडामा लिएको छ।

पछिल्लो दुर्घटनामा परेको ट्वीनअटर निगमले दोस्रो विश्वयुद्धकालीन डीसी डकोटा विमानलाई प्रतिस्थापन गर्ने क्रममा २०२८ सालमा ल्याएको दुईमध्ये एउटा थियो। त्यसअघि शाही उडान सेवाले नेपाल भित्र्याएको एउटा एन–आरएफ ट्वीनअटर एक वर्षमै दुर्घटनामा परेको थियो। त्यसपछि नेपाली सेनाले ल्याएको आरएएन– २६० ट्वीनअटर पनि २०३९ सालमा जोमसोममा दुर्घटनामा पर्‍यो।

पछिल्लो दुर्घटनामा परेको जहाज ४२ वर्ष पुरानो थियो भन्ने थाहा पाउँदा धेरैले आश्चर्य माने तर, यी ट्वीनअटरहरू यति बलिया हुन्छन् कि मर्मत र उड्डयन नियम पालना गरे जति बूढो भए पनि उडिरहन्छन्– नयाँ जस्तै। यसको बडी मात्र पुरानो हुन्छ, इन्जिन सधैं नयाँ हुन्छ। माल्दिभ्स्मा पनि ४५ वर्ष पुराना ट्वीनअटर उडिरहेका छन्।

२०५१ सालयता भएका विमान दुर्घटनामध्ये ९० प्रतिशत सीएफआईटी (कन्ट्रोल्ड फ्लाइट इनटू टेरेइन) को कारणबाट भएका छन्। प्राविधिक भाषामा सीएफआईटी भनिने यस्तो दुर्घटनामा पाइलटले लापरबाहीवश जहाजलाई बादलले छोपेको पहाडमा ठोक्काउन पुग्छन्। नेपालमा इन्जिनियरिङ त्रुटिबाट कुनै पनि ट्वीनअटर विमान दुर्घटना नभएको विभिन्न प्रतिवेदनले देखाएका छन्।

लुक्ला र ताल्चा जस्ता खतरनाक धावनमार्गमा सहजै विमान अवतरण गराउने नेपालका पाइलटहरूले विश्वभर ख्याति कमाएका छन्। तर, धेरैजसो विमान दुर्घटना 'टेकअफ' र 'ल्याण्डिङ' कै क्रममा हुने गरेकाले चुनौतीपूर्ण पहाडी भूगोलमा विमान उडाउने पाइलटहरूको तालिम र अनुभवको पुनः मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।

२६ वैशाख २०५५ मा पोखराबाट काठमाडौं उडेको नेकोन एयरको एचएस–७४८ बाहेक काठमाडौं आउजाउ गर्ने 'ट्रंक रुट' मा कुनै विमान दुर्घटनामा परेका छैनन्। विमान दुर्घटनाका लागि मौसम र भूगोल बाहेक अन्य पक्ष पनि जिम्मेवार छन्। व्यक्तिगत लाभ लिएर कर्मचारीहरूले 'ओभरलोड' गरेका विमान दुर्घटना भएको भेटिएको छ।

ग्राफिक्सः किरण महर्जन

त्यसो त, नेपालमा सडकयात्रा पनि कम जोखिमपूर्ण छैन। जुनसुकै प्रविधिको उपयोग गर्दा त्यसका नियमहरू पालना गर्नै पर्ने हुन्छ। तर, नेपालमा मेशीनरीको नियमित मर्मतसम्भार र नियमसंगत सञ्चालन कमैले गर्छन्। सञ्चालनमा नियमको पूर्ण पालना नहुनु, सजिलो प्रक्रिया अपनाउन खोज्नु र अहम् प्रदर्शन दुर्घटनाका कारण हुने गरेका छन्। विमान उडाउँदा यस्ता कुरामा ध्यान नदिनु त आत्महत्या गरेसरह नै हो। विना मर्मतसम्भार पुरानै पार्टपुर्जाका भरमा प्रतिस्पर्धा गरिरहेका र आर्थिक रूपमा जर्जर वायुसेवा प्रदायकहरू कालोसूचीमा पर्नु अनौठो कुरा हैन।

धेरैजसो हवाई दुर्घटना मानवीय गल्ती, मौसम र सीएफआईटीकै कारण हुने हुँदा सबै आन्तरिक उडानमा कडाइका साथ आँखाले हेर्ने भीएफआर (भिजुअल फ्लाइट रुल्स) लागू गरिनुपर्छ। विमानहरूमा जमीन, डाँडाकाँडाको नजिक पुगेको पूर्व जानकारी दिने 'इन्हान्स्ड ग्राउण्ड प्रोक्सिमिटी वार्निङ सिस्टम', जहाजमा परेको बरफ पगाल्ने र मौसम सम्बन्धी जानकारी दिने राडार जडान हुनु अनिवार्य बनाउन उड्डयन नियम नै संशोधन गर्नु जरूरी छ।

तर, जतिसुकै सुरक्षा व्यवस्था अपनाइए पनि मानवीय लापरबाहीबाट भने केहीले पनि जोगाउन सक्दैन। यस्तो ज्यानमारा लापरबाहीका लागि अब कुनै बहाना बाँकी पनि छैन।

comments powered by Disqus

रमझम