११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

के हो आधार र बल

Share:
  
वाम कार्यक्रम, लोकतान्त्रिक पद्धतिप्रतिको प्रतिबद्धता र सामूहिक नेतृत्व प्रणाली एमालेको शक्ति हो।

४ मंसीरको निर्वाचनअघि एक वर्षसम्म हिमाल खबरपत्रिकाको सर्वेक्षणले नेकपा एमालेलाई दोस्रो स्थानमा देखाउँदा पत्याउने निकै कम थिए। वाम समर्थक र तल्लो वर्ग एमाओवादी र माओवादीमा लागेको तथा प्रजातन्त्र पक्षधर र मध्यम/माथिल्लो वर्ग नेपाली कांग्रेसमा रहेकाले एमालेको राजनीतिक 'स्पेस' दोस्रो दल बन्ने नरहेको उनीहरूको तर्क थियो। तर, निर्वाचन परिणामले उनीहरू सबैलाई चकित पार्दै एमालेलाई संविधानसभामा एमाओवादीभन्दा दोब्बर ठूलो र कांग्रेसभन्दा केही सानो दल बनायो।

२० को दशकको अन्त्यको झापा आन्दोलनको विरासतमा गठन भएको नेकपा (माले) २०४७ मा मनमोहन अधिकारी र सहाना प्रधान नेतृत्वको नेकपा (मार्क्सवादी) सँग एकीकरण भएपछि बनेको एमालेको विशेषता र शक्तिबारे अहिले पनि बहस जारी छ। २०३६ को विद्यार्थी आन्दोलन, २०४२ को राष्ट्रिय पंचायत तथा २०४३ को स्थानीय निर्वाचनमा 'जनपक्षीय' उम्मेदवार उठाउँदा आर्जन गरेको शक्ति र २०४७ देखि तत्कालीन महासचिव मदन भण्डारीको वाक्पटुले जुटाएको युवा पंक्ति अहिले पनि एमालेको आधार हुन्। २०५१ मा अल्पमत सरकारले ल्याएका कल्याणकारी कार्यक्रमहरूले त्यो आधारलाई अरू फराकिलो बनायो। २०५४ को विभाजन, १८ असोज २०५९ र १९ माघ २०६१ मा तत्कालीन राजाका कदम र खुला राजनीतिमा माओवादीको आगमनले त्यो आधार केही कमजोर पारे पनि पूरै भत्काउन सकेको थिएन। त्यसमाथि, माओवादीको विभाजन, उसले र उसका सरकारले गरेका कामका कारण माओवादीतर्फ लागेको पंक्ति एमालेमै फर्किन थालेको थियो। जसलाई, एमालेको एकताबद्ध निर्वाचन अभियानले परिणाममा परिणत गरिदियो।

लोकतन्त्रप्रति प्रतिबद्धताको परिणाम

सन् ९० को दशकमा पूर्वी यूरोप र सोभियत संघका कम्युनिष्ट सरकारहरू ढल्न थालेपछि बहुदलीयताको अभाव त्यसको कारण हो भन्ने बुझन भण्डारी नेतृत्वको एमालेले ढिलो गरेन र एकतन्त्रीय शासन स्थापनाको शिक्षाबाट दीक्षित पंक्तिलाई सहमत गराउँदै उसले आफूलाई 'बहुदलीय जनवादी' बनायो। पहिलेदेखि नै संगठनलाई विधि मार्फत चलाइरहेको उसले परम्परागत कम्युनिष्टभन्दा भिन्न तरीकाले महाधिवेशन र अधिवेशनहरू आवधिक र खुला रूपले गर्न थाल्यो। अरू दलहरूले भन्दा नेतृत्व चयनमा पनि उसले पारदर्शिता देखायो। कम्युनिष्ट ढाँचा जनाउने सचिव, महासचिव र इन्चार्जहरूको ठाउँमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरू बनायो। राष्ट्रिय राजनीतिमा पनि लोकतन्त्र पक्षधरता निरन्तर कायम राखेकाले उसलाई लोकतान्त्रिकको प्रमाणपत्र कसैको नचाहिने भयो।

२०४६ को परिवर्तन र लोकतन्त्रको पक्षमा आएको विश्वव्यापी लहरले नेपालको नयाँ पुस्तालाई अधिनायकवादको विरोधी बनाएको छ। तत्कालीन राजा ज्ञानेन्द्रको शासन नटिक्नुको कारण त्यही थियो। कांग्रेस पुरानो लोकतान्त्रिक पार्टी भए पनि उसमा देखिने परिवारवाद, दम्भ, कैयौं मामिलामा अलोकतान्त्रिक शैली नपचाउने जमात ठूलो छ। 'रेडिकल डेमोक्रेसी' मनपराउने तप्का, उदाउँदो मध्यमवर्ग र महत्वाकांक्षी जमात पनि नेपाली कांग्रेसको पक्षमा छैन। एमालेको अहिलेको मुख्य आधार यिनै वर्ग हुन्।

एमालेको यो आधारलाई तत्कालै कांग्रेस र एमाओवादीले भत्काउन सक्ने देखिन्न। हिंसात्मक विगत भएकाले एमाओवादीलाई लोकतान्त्रिक बन्न र अरूले लोकतान्त्रिक मान्न तत्काल सजिलो देखिंदैन। डिग्रीहरूले सुसज्जित रहेर पनि कैयौं मामिलामा परम्परालाई छिचोल्न नसक्ने भएकाले कांग्रेसले पनि उसलाई संकुचित पार्न सक्दैन। तत्काललाई देशभरिको नेटवर्कसहित अर्को 'रेडिकल डेमोक्रेटिक' शक्ति आउने सम्भावना पनि देखिंदैन।

तर, कमिटीहरू मार्फत सामूहिक नेतृत्व पद्धतिबाट चलेको एमालेको नेतृत्व पंक्ति विभाजित भयो भने चाहिं उसको भविष्य अहिले जस्तो सफा नरहन सक्छ। २०५४ को विभाजनले पहिलो शक्तिबाट उसलाई दोस्रो शक्तिमा झार्नुले स्पष्ट पार्छ, नेतृत्व व्यवस्थापन नभएर विभाजित भयो भने उसको जमीन हल्लिन सक्छ र अहिलेकै वा नयाँ शक्तिले त्यो ठाउँ ओगट्न सक्छ। उही उमेर, झ्न्डै उस्तै अनुभव र क्षमता रहेका नेताहरूलाई व्यवस्थापन गर्ने दुरुह कम गर्न त्यति सजिलो भने नहुन सक्छ।

सुवास देवकोटा

comments powered by Disqus

रमझम