११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

चुनौती थपिंदो

Share:
  
- चन्द्रकिशोर
प्रवृत्ति र प्रविधिले खतरनाक बनाएको सीमापार अपराध नियन्त्रण गर्न बलियो राजनीतिक इच्छाशक्तिको खाँचो छ।

बिलाश राई
तीनतिरबाट भारत र उत्तरतर्फ चीनले घेरिएको भूपरिवेष्टित राष्ट्र नेपालमा पहिले सीमापार अपराधको सन्दर्भ आउँदा भारतसँगको खुला सीमाका कारण हुने अपराधको मात्र चर्चा हुने गर्दथ्यो। तर पछिल्ला वर्षमा अपराधमा देखिएको प्रविधि र प्रकृतिले त्यसको आयाम फराकिलो पार्दै आकाश मार्गसम्म तन्काएको छ। अब सिमाना जोडिएको छिमेकी मुलुकबाट नभएर कुनै पनि मुलुकका अपराधीले यहाँको जुनसुकै मार्ग र अर्को मुलुकमा अवैध हुने काममा यहाँको भूमि प्रयोग गर्नुलाई सीमापार अपराध मान्न थालिएको छ।

अपराधको बदलिंदो प्रकृति

तर सीमापार अपराध भन्दा दक्षिणी सीमामा अपराधकै सन्दर्भ बढी उठ्ने गर्छ। सीमान्त गाउँहरूमा भारतीय डाँकाको प्रकोप, अपहरण, धम्की, तस्करी हुने गरेको लामो इतिहास छ। कतिपयले सीमान्त क्षेत्रमा अवैध कारोबार हुनु अन्तर्राष्ट्रिय रूपमै स्वाभाविक भएको पनि मान्छन्। तराईमै पनि संचारप्रविधि, आर्थिक क्रियाशीलता, शहरीकरण र यातायात सुविधाले अपराधको रूप र रंग फेरिएको छ। जस्तो, पहिला चोरले घरको भित्तामा सुरुङ बनाई चोरी गर्थ्यो। डाँकाहरू घरेलु हतियार बोकेर समूहमा आउँथे। सीमावर्ती मेला र बजारहरूमा पाकेटमारको विगविगी हुन्थ्यो। अहिले चाहिं धम्की, फिरौतीका घटना बढी हुन थालेका छन्। पहिला चोर–डाँकाले जिन्सी सामान बढी लैजाने गरेकोमा अब नगदमा जोड दिन थालेका छन्। हुन त, गाईवस्तुहरूको चोरी अहिले पनि सुनिन्छ। चालीसको दशकको अन्त्यतिर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मोरङमा भएको गाईवस्तु चोरीको घटनाबारे बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवलाई गुहार्नु परेको रोचक प्रसंग अझै पनि विराटनगरमा सुनिन्छ।

यताका अपराधी उता र उताका अपराधी यता आएर प्रहरी―प्रशासनको संरक्षणमा लुक्ने प्रवृत्ति परम्परागत सीमापार अपराध हो। वारि र पारिको मूल्यान्तरको लाभ लिई वस्तु ओसारपसार गरेर दुवै मुलुकको राजस्वमा घाटा पुर्‍याउनु अर्को सीमापार अपराध हो। भन्सार प्रक्रियामा चुहावट गराएर र खुला सिमानाबाट 'लाइन' मिलाएर यो अपराध गरिन्छ। यस्तो गर्नेहरूमा भरिया, भरियालाई अह्राउने खटाउने तथा प्रहरी प्रशासनसँग समन्वय मिलाउने र त्यसको लाभ लिने गरी तीन तह हुन्छन्। दुवैतर्फ हुने यी कारोबारीबीच तालमेल हुन्छ। जसबारे जानकार स्थानीय मिडियाले आ–आफ्नो स्वार्थ र अनुकूलका समाचार दिन्छन्।

सीमापार अवैध कारोबारबाट समानान्तर अर्थतन्त्र नै चलेको हुन्छ। जसबाट राज्यको केन्द्रसम्म रहेको समाजको एउटा हिस्सा लाभान्वित भइरहेको हुन्छ।

यस्ता कारोबार गर्नेहरूको ध्याउन्न कमाउन बाहेक केही हुन्न। लागूऔषध, जालीनोट, मानव तस्करी, हातहतियार, वन्यजन्तु, अमूल्य प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको बेचविखन गर्नु उनीहरूको काम हुन्छ। सुन चीनबाट नेपाल हुँदै भारत पुग्छ भने रक्तचन्दन भारतबाट नेपाल हुँदै चीन। जालीनोट, लागूऔषध, हातहतियार, मानव तस्करी छिमेकी भन्दा बाहिरबाट संचालित देखिन्छन्। तर, यस्ता अपराधमा संलग्नमध्ये तल्लो वा बीचका व्यक्तिहरू मात्र पहिचानमा आउँछन्, मूल योजनाकार, लाभ लिने व्यक्ति वा समूह पर्दापछाडि हुन्छन्। प्रविधि र स्रोतमा असीमित पहुँच रहेको यो तप्का लाभका लागि जे पनि गर्न तयार हुन्छ। पछिल्ला वर्षमा यस्ता अपराध सीमान्त क्षेत्रमा बढी देखा पर्न थालेका छन्। संक्रमणकालीन सुरक्षा व्यवस्थापनको कमजोर अवस्थाले यस्ता क्रियाकलाप गर्नेहरूलाई हौस्याएको छ। सामान्य पेशा गरेर रोजीरोटी गरिराखेका पनि लोभिएर यस्ता क्रियाकलापका मतियार बन्न लागेको देखिन्छ। नेपाली सीमाञ्चलका केही शहर यस्ता कारोबारका स्वर्णद्वार बनेका छन्।

इच्छाशक्तिको खाँचो

अपराध र अपराधीको बदलिंदो ढाँचाले सीमापार अपराध व्यवस्थापनमा चुनौती थपेको छ। तर, यस्ता घटना हेर्ने सामान्यजनको दृष्टिकोणमा परिवर्तन देखिनु भने सकारात्मक हो। पहिला पारिका नामूद अपराधी यता आउँदा यताको एउटा वर्ग तात्कालिक लाभ लिन पाउने भएकाले खुशी हुन्थ्यो। त्यस्ता अपराधी नातागोताकोमा बस्दा पनि अरूले चासो दिंदैनथे। तर, अहिले त्यस्तो छैन। पहिला भारतीय जालीनोटको कारोबार हुँदा 'हामीलाई के घाटा छ र' भन्नेहरू नेपाली जालीनोटको कारोबार हुन थालेपछि फेरिएका छन्। यो परिवर्तनका कारण आजभोलि प्रहरीले बढी सूचना पाउन थालेको छ।

तर, यति हुँदाहुँदै पनि सीमापार अपराध किन भयानक हुँदैछ, नागरिकहरू किन असुरक्षित महसूस गर्दैछन् भन्ने प्रश्न गम्भीर छ। नेपाली तराई क्षेत्र सुरक्षित ठान्दै अन्तर्राष्ट्रिय गिरोहहरू कसरी आइपुगे भन्ने प्रश्नबारे विमर्श हुन जरूरी छ। अहिलेसम्म ती अपराधका आयाम उजागर पनि हुनसकेको छैन। प्रहरीतन्त्र मार्फत चुहाइएका सूचनाको आधारमै नेपाली मिडियाले खबर दिइरहेको छ।

सीमापार अपराधलाई वैज्ञानिक तरीकाले व्यवस्थापन गर्न सुरक्षा संयन्त्रको पनि विकास गर्न आवश्यक छ। अपराधका माध्यम, तरीका र रूप फेरिंदै गए पनि प्रहरीको साधन र दक्षता पुरानै छ। सीमापार अपराधका अन्तर्राष्ट्रिय अनुभव र अभ्यासका आधारमा सुरक्षा संयन्त्रलाई प्रोत्साहन दिएर प्रविधि, प्रशिक्षण र प्रसाधन उपलब्ध गराउनुपर्छ। हुन त नेपाल प्रहरीले सीमित जनशक्ति र साधनस्रोतबाट केही क्षेत्रमा उल्लेख्य काम गरेकै छ। यसले देखाउँछ, कुनै माथिल्लो प्रहरी अधिकारीसँग चाहना र दृष्टिकोण भयो भने आफ्नो मातहतका संयन्त्रलाई परिचालन तथा सीमावर्ती समकक्षीसँग समन्वय गरेर सकारात्मक परिणाम पनि ल्याउन सक्छ।

तराईका विभिन्न जिल्लामा देखापरेका सीमापार अपराधका प्रवृत्ति पहिचान गरेर अरू जिल्लाहरूमा सूचना सम्पे्रषण गर्न र सीमावर्ती समकक्षीहरूसँग प्रभावकारी समन्वय गर्न आवश्यक छ। सीमापार अपराधका बहुआयामिक प्रवृत्तिबारे नागरिकमा सचेतना बढाउनु र प्रहरीतन्त्रको आत्मबल उकास्ने कार्यसूची निर्धारण गर्नुपर्ने पनि उत्तिकै खाँचो छ। खुला सीमान्त क्षेत्रमा केही अपराध हुनु स्वाभाविक भए पनि संस्थागत अपराध गर्नेहरूको मनोबल उच्च देखिनु भने खतरनाक हो। अपराधलाई अवसर मान्ने प्रहरी–प्रशासनका घुनपुतली यसका लागि दोषी छन्। कतिपयले बेरोजगारी, गरीबी, शहरीकरणले पनि संस्थागत अपराध बढाउन बल पुर्‍याएको बताउँछन्। तर तात्कालिक फाइदाका लागि माथिल्लो तहले दिने प्रश्रय अपराध बढाउने प्रमुख कारण देखिन्छ। उनीहरूले त्यसबाट महँगो राजनीतिको गर्जो टार्ने गरेको देखिन्छ।

सीमापार अपराध राजनीतिक आवरणमा हुन थाल्नु डरलाग्दो हुँदै हो। पहिला सीमापारका अपराधी अपहरण गरेर फिरौती लिएको आफैं प्रचार गर्थे, जसले अरूमा डर पैदा गराउँथ्यो। पछिल्लो समय राजनीतिक सशस्त्र समूहको नाम लिएर त्यही धन्दा गरिंदैछ। त्यसैले अहिले प्रहरीलाई राजनीति र अपराधी पहिचान गर्न गाह्रो भएको छ। अपराधलाई संरक्षण गर्ने प्रवृत्तिको पर्याप्त आलोचना हुन नसक्दा सीमापार अपराध फस्टाउने कारण बनेको छ। यो अपराध संस्थागत हुँदै जाँदा समाजका पुरानो मानक भत्किंदै गएका छन् र नयाँ मानक बन्दैछन्। तस्कर भनिएकाहरूले जनप्रतिनिधि बनेर राजनीतिमा स्थान बनाएका छन्। उनीहरू सामुदायिक संस्थाका अगुवा बन्दै सीमापारका जातीय विरादरीमा समन्वयकर्ता पनि भएका छन्। यो सीमापार अपराध व्यवस्थापनका लागि जटिल पक्ष हो। जसको अन्त्य उच्च राजनीतिक इच्छाशक्ति नभई सम्भव छैन।

comments powered by Disqus

रमझम