११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

पाँचतारे होटल शुरू गर्दैछौं

Share:
  

शाहिल अग्रवाल, संयुक्त प्रबन्ध निर्देशक, शंकर गु्रप पाँच दशकअघि बर्माबाट विराटनगर बसाइँ सरेका रावतमान गोल्यानले 'साऊ उद्योग' को नाममा टाँक कारखाना खोलेर अहिलेको शंकर समूहको आधार तयार पारेका थिए। अहिले करीब साढे दुई दर्जन कम्पनी मार्फत वार्षिक रु.४० अर्बको हाराहारीमा कारोबार गर्ने यो समूह देशको ठूलो व्यावसायिक समूहमध्ये पर्छ। जलविद्युत् र सेवा उद्योगमा लगानी गर्ने तयारीमा रहेको यो समूहलाई शंकरलाल गोल्यान र उनका दुई छोरा शुलभ र शाहिलले हाँकिरहेका छन्। लन्डनमा अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातक पढेर फर्किएका शाहिल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य समेत हुन्। शाहिल भन्छन्, “बढीमा ६ महीनाभित्र पाँचतारे होटल निर्माण शुरू गर्दैछौं।”

बिक्रम राई
तपाईंहरूको लगानी र कारोबार अहिले कस्तो छ?

अहिले हामी छड, सिमेन्ट, प्लास्टिक, पोलिमर, टेक्सटाइल, फास्ट मुभिङ कन्ज्युमर गुड्स, स्टील पाइप, नन उलन फेब्रिक उत्पादन र व्यापार गर्छौ भने अन्तर्राष्ट्रिय कम्पनीहरूको प्रतिनिधि पनि छौं। हामीले कोइला, जिप्सम, क्लिङ्कर, स्टील, वायर रड्सको पनि व्यापार गरिरहेका छौं। रिलायन्स, जिन्दल, टाटा, मित्तल जस्ता कम्पनीको नेपालमा प्रतिनिधित्व गरिरहेका छौं भने महिन्द्रा टु ह्वीलर्स बिक्री गरिरहेका छौं। एप्पल सहितका थुप्रै नयाँ मोबाइल कम्पनी, सार्प, कोन्का र आफ्नै ब्रान्ड फोर्स सहित विद्युतीय सामानको पनि बिक्री गरिरहेका छौं। फास्ट मुभिङ कन्ज्युमर गुड्स अन्तर्गत मार्लबोरो, १०० प्लस नामको ड्रिङ्क्स पनि हामीबाट वितरण हुन्छ। हामी अन्तर्गत करीब ३० कम्पनी, दर्जन उद्योग छन्। अहिले हामीले वार्षिक करीब रु.४ हजार करोडको कारोबार र करीब १० हजारलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिएका छौं। हाम्रा उद्योगले देशमै सबैभन्दा बढी विद्युत् खपत गर्छन्।

ठूला व्यावसायिक समूहको प्राथमिकता उद्योगभन्दा व्यापारमा देखिन्छ। तपाईंहरू पनि पछिल्लो समय व्यापारतिर केन्द्रित हुन थाल्नुभएको हो?

सन् १९६० देखि नै हामी व्यापारमा केन्द्रित हौं। नेपालमा आन्तरिक उत्पादन वृद्धि भएर माग पनि बढेपछि उद्योगमा केन्द्रित भएका हौं। तर, सन् २००८–०९ पछि विश्वव्यापी आर्थिक मन्दीले नेपालमा घरजग्गा कारोबारमा गिरावट, ऊर्जा अभाव, मजदूर समस्या, पूर्वाधार अभाव, माग वृद्धि हुन नसक्नु, उद्योग–मैत्री नीतिको अभाव जस्ता कारण सबैले व्यापारमा ध्यान बढाए। पछिल्लो समयमा सबै व्यवसायीले स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका सेवा क्षेत्रतिर पनि लगानी विस्तार गर्न थालेका छन्। उद्योग गर्न गाह्रो भएकाले यस्तो भएको हो। तैपनि हामीले नेपालमा कच्चा पदार्थ भएका उत्पादनमूलक उद्योग छोडेका छैनौं। हामी क्लिङ्कर उत्पादन गरेर सिमेन्ट उत्पादन बढाउने क्रममै छौं। देशमा पूर्वाधार निर्माण बाँकी रहेकाले सिमेन्ट, डन्डी लगायतको उत्पादनमा प्रशस्त सम्भावना छ। जलविद्युत्मा हरेक व्यापारिक घरानाले लगानीको तयारी गरिरहेका छन्।

बर्माबाट आउनुभएको तपाईंको हजुरबुबाको व्यवसायलाई तपाईंको बुबाले सन् १९८० मा नयाँ दिशा दिए जस्तै तपाईंको पनि नयाँ क्षेत्रमा लगानी गर्ने योजना छ?

अहिले पनि हाम्रो व्यवसायमा बुबासँगै दाइ, म र परिवारका अन्य सदस्यले संयुक्त जिम्मेवारी सम्हालिरहेका छौं। म र दाइ व्यवसायमा लागेको १४/१५ वर्ष पुगिसकेको छ। हामी आएपछि नै उत्पादनमूलक उद्योगमा ध्यान दिएका हौं। अहिले हामीले व्यापार, उत्पादनमूलक उद्योगमा एकसाथ काम गरिरहेका छौं। अब हाम्रो ध्यान सेवा क्षेत्रमा हुन सक्छ।

सबैजसो पारिवारिक व्यापारको विरासत अहिले युवा पुस्ताको काँधमा सरेको छ। किन यसो भएको होला?

अहिले व्यवसायमा व्यावसायिकता बढेको छ। बुबा–हजुरबुबाको जमानामा विश्वासका आधारमा व्यवसाय चल्थ्यो। अहिले व्यापारिक भएकाले कानूनी आधारमा चल्छ। ब्याङ्किङ, बीमा लगायतका सेवाले पनि व्यावसायिक हुन सघाएका छन्। हामी जस्तो विश्वविद्यालय पढेर आएको पुस्ताले जानेको व्यावसायिक बन्न नै हो। अहिले काठमाडौंमा बसेर पनि अमेरिका, अस्ट्रेलियाको सूचना लिएर संसारभरि व्यवसाय चलाउन सकिन्छ। प्रविधिको विस्तार र सोसल मिडियाले दुनियाँमा परिवर्तन ल्याएका छन्। पहिला प्रोप्राइटर वा एकल निर्णयकर्ताको रूपमा व्यवसाय बढी चल्थ्यो, अहिले निर्णय व्यक्तिले होइन, टीमले गर्ने चलन आएको छ। अब पब्लिक लिमिटेडका रूपमा पनि कम्पनीहरू सञ्चालन हुने अवस्था छ।

नेपालमा उत्पादनमूलक उद्योगहरू चाहिं किन पब्लिकमा नगएका होलान्?

ब्याङ्किङ, बीमा, होटल, जलविद्युत् अहिले पब्लिकमा गएर सञ्चालन भइरहेका छन्। यसअघि पब्लिकमा गएका उत्पादनमूलक उद्योगहरू सफल हुन नसकेकाले सर्वसाधारणको विश्वास गुमेको हो। तर, अब यो विश्वास क्रमशः फिर्ता आउन सक्छ। अरू ठाउँमा जस्तै नेपालमा पनि उत्पादनमूलक उद्योग पब्लिक लिमिटेड कम्पनीबाट चल्ने क्रम शुरू हुँदैछ। तर त्यसका लागि कम्पनीहरूको पारदर्शिता आवश्यक छ।

तपाईंहरूले ठूलो महत्वकांक्षाका साथ शुरू गरेको मिहो चाउचाउमा किन असफल हुनुभयो?

नेपाली बजारमा चाउचाउ उद्योग शुरू गरेको करीब पाँच वर्षमा ७–८ ब्रान्ड मार्फत हाम्रो बजार हिस्सा १८–२० प्रतिशत पुगेको छ, यो कम होइन। अहिले हाम्रो लगानीको मुख्य विस्तार यही क्षेत्रमा भइरहेको छ। तर, ब्रान्डका रूपमा मिहोले अपेक्षित बजार ओगट्न सकेन। काठमाडौंमा मन पराएर मिहोमा उपभोक्ताको ध्यान तानिए पनि अन्य ब्रान्डभन्दा उति फरक नदेखेपछि पुरानैतिर फर्किएको जस्तो देखियो। अहिले हामी उपत्यका बाहिरका बजारमा केन्द्रित हुन थालेका छौंं। तर, हामी फेरि काठमाडौं फर्किंदैछौं।

नेपालका व्यावसायिक समूहहरू पूर्णतः व्यावसायिक हुन नसकेको र अपारदर्शी प्रोफिट मेकिङमा लागेको आरोप छ नि?

नेपालको व्यवसाय गर्ने तरिका, यहाँको राजनीतिक तथा प्रशासनिक पद्धति र समग्र क्षेत्रमा व्याप्त भ्रष्टाचारका कारण त्यस्तो भएको भनिन्छ। आजभन्दा ७/८ वर्षअघिसम्म नेपालको कर प्रणालीमा ठूलो समस्या थियो, अझ्ौ सुधार हुनसकेको छैन। अहिले पनि किराना वा खुद्रा कारोबार गर्नेले कर प्रणाली बुझ्ोका छैनन्। व्यवसायसँगै कर प्रणाली पनि परिवर्तनतिर उन्मुख छ। पुरानो तौरतरिका र कर खाता व्यवस्थापन गर्दै आएका कम्पनीले परिवर्तन गर्न थाल्दा केही तल–माथि परेको हुन सक्छ। नियतवश भन्दा पनि नजानेर कतिपय कमजोरी भएका हुनसक्छन्। तर, कम्पनीहरू पारदर्शी बन्न जरूरी छ।

तपाईंहरू आफैं पनि बहुचर्चित नक्कली भ्याट बिल प्रकरणमा मुछिनुभयो, हैन?

नेपालमा कति वटा व्यवसायमा ननफाइलर (कारोबारको विवरण नबुझाएका) पनि रहेछन्। हामीले बजारबाट जुन सामान खरीद गर्छौं, त्यसको भ्याट क्रेडिट लिन्छौं। तर, हामीबाट भ्याट लिनेले भ्याटको विवरण बुझाउँदो रहेनछ। कम्पनीले भ्याट बुझाए/नबुझाए बारे हेर्ने जिम्मेवारी कर प्रशासनको हो। मेरो एउटै कम्पनीको एक हजार वटा भेन्डर भयो भने सबैको फाइल हेरेर मात्र कारोबार गर्न सम्भव हुँदैन। बरु कतिपय कम्पनीले नक्कली भ्याट बिल नै छापेर बेचेको देखिएको छ, उनीहरूलाई कारबाही भएन।

सरकारले आन्तरिक र बाह्य लगानी विस्तारका लागि प्रोत्साहन गरिरहेको बताउँछ। तर, अपेक्षित लगानी किन बढ्न नसकेको हो?

लगानी विस्तारका लागि लगानी–मैत्री नीति पहिलो शर्त हो। लगानी गर्नुअघि लगानीकर्ताले प्रतिफलको सम्भावना हेर्छ। एयरपोर्ट यस्तो छ कि प्रशस्त सम्भावना भएको पर्यटन क्षेत्रले समेत अपेक्षित फड्को मार्न सकेको छैन। बिजुली, पानी, एयरपोर्ट, सडक लगायतका पूर्वाधार नबनी लगानी कसरी भित्रिन्छ? लगानीकर्तालाई आकर्षित गर्न सरकारले केही सुविधा घोषणा गर्नै पर्छ।

नेपाली उद्योगपतिहरूले भारत लगायतका देशमा लगानी गरिरहेको सुनिन्छ। नेपालीलाई विदेशमा लगानीको ढोका खोल्न कत्तिको आवश्यक छ?

विश्व नै एउटा गाउँ बनिसकेको छ। बाहिरको लगानी भित्र्याउन पहल गर्नेले बाहिर लगानी गर्न नदिने नीति लिनु उचित होइन। त्यसो हो भने श्रम पनि त बाहिर बिक्री गर्नु भएन। एकै पटक सबै क्षेत्रमा होइन, प्रभावकारी नियमन गरेर निश्चित क्षेत्रमा, निश्चित तौरतरिकाले विदेशमा लगानी खोल्नु राम्रो होला। कानूनले बाटो खोले भारत, चीन, बर्मा लगायतका देशमा आफ्नो दक्षता र क्षमता भएका क्षेत्रमा लगानी गर्न सक्छौं।

लगानी विस्तार र विविधीकरण गर्ने कुनै योजना छन् कि?

स्टील, सिमेन्ट, जलविद्युत् लगायतका क्षेत्र हाम्रा प्राथमिकता हुन्। स्टील उत्पादनमा क्षमता बढाउने र सिमेन्टको लागि स्वदेशमै क्लिङ्कर उत्पादन गर्ने योजना छ। त्यसका लागि खानी हेरिरहेका छौं। सडक, पुल निर्माण क्षेत्रमा पनि काम गर्ने योजना छ। तेल, चामल, मैदा, दानामा पनि लगानी विस्तार गर्न खोज्दैछौं। बढीमा ६ महीनाभित्रै पाँचतारे होटल निर्माण शुरू गर्दैछौं। काठमाडौं र काठमाडौं बाहिर होटलका लागि जग्गा किन्दैछौं। आतिथ्य व्यवसायमा प्रशस्त सम्भावना देखिन्छ। तिब्बत आउने ६० लाख पर्यटकमध्ये २० प्रतिशत मात्रै नेपाल आए पनि नेपालको पर्यटन उद्योगले नयाँ गति पाउनेछ। नेपालमा बन्न नसक्ने र आयात गर्नै पर्ने बाध्यता भएका अटो, खाद्य लगायतका क्षेत्रमा पनि हामी नयाँ उत्पादन भित्र्याउन लाग्दैछौं।

रमेश कुमार

comments powered by Disqus

रमझम