डेढ दशकअघि अध्ययनका लागि सिंगापुर आएका तरहरा–२, सुनसरीका सुरेन्द्र गुरुङ (४०) ले यतै घरजम गरेको एकदशक भयो। एउटा मल्टी नेशनल कम्पनीमा अपरेशन म्यानेजर रहेका गुरुङ श्रीमती लोरिटा जूनसहित दुई छोरीका साथ 'ह्याप्पी लाइफ' बिताइरहेका छन्।
१३ वर्षअघि रोजगारीका लागि सिंगापुर आएका चितवन, मेघौलीका प्रभाकर पराजुली (४६) ले त्यसको पाँच वर्षपछि नै 'स्कीलफूल जब' का कारण 'पर्मानेन्ट रेसिडेन्सी' (पीआर) पाए। त्यसपछि नेपालबाट परिवार झिकाएका सफल व्यवसायी पराजुली अहिले नेपाली सोसाइटी, सिंगापुरका उपाध्यक्ष पनि छन्।
दश वर्षअघि विद्यार्थीका रूपमा सिंगापुर आएका काठमाडौंका पुरुषोत्तम भारती (३०) को भने सिंगापुरियन केटीसँगको घरबार टिकेन। श्रीमतीसँग 'डिभोर्स' गरेका उनी नाबालिग छोरीको 'डिपेन्डेन्ट' भिसामा राम्रैसँग सिंगापुर बसिरहेका छन्। वेटरका रूपमा कार्यरत उनले छोरीका निम्ति असल बाबु भएको सन्तुष्टि पोखे।
सिंगापुर सरकारले नेपालीका लागि सन् २००८ मा अध्ययन भिसा र २०१० मा रोजगार भिसा बन्द गर्दा दुवै क्षेत्रका करीब १० हजार नेपाली विस्थापित भएका थिए। अहिले पीआर पाएका करीब एक हजार नेपाली र करीब दुई हजार भारतीय मूलका नेपाली रहेको अनुमान छ। तीमध्ये ४० परिवार नेपाली सेफ भएको गैर–आवासीय नेपाली संघ (एनआरएन) सिंगापुरका अध्यक्ष किशोर पन्त बताउँछन्। त्यसबाहेक, छात्रवृत्तिमा सिंगापुरका विश्वविद्यालयहरूमा पढिरहेका नेपाली विद्यार्थीको संख्या भने करीब दुई दर्जन छ।
एनआरएनका अध्यक्ष पन्त आफैं पनि सिंगापुरको स्थायी बासिन्दा भएको १६ वर्ष भइसक्यो। एउटा बहुराष्ट्रिय कम्पनीमा बजार प्रबन्धक रहेका पुतलीसडक, काठमाडौंका पन्त चार वर्षयता गोर्खा पुलिस र 'पीआर' भएका बाहेकका नेपाली सिंगापुरमा नरहेको बताउँछन्।
नेपालीलाई कडाइ!
सिंगापुर सरकारले नेपालीका लागि अध्ययन र रोजगारी खुला गर्दा शान्ति सुरक्षामा समस्या अनुभव गरेर भिसा नै बन्द गरेको थियो। नेपालीको बढ्दो आगमनसँगै शान्त सिंगापुरमा झै–झ्गडा बढेको, दलालहरूले रोजगारका लागि भन्दै धेरै मान्छेलाई ल्याएर अलपत्र पारेको जस्ता घटना बढेको भन्दै भिसा रोकेको थियो। नेपालीको 'लफडा' जमात बढ्दै जाँदा आम सिंगापुरेमा गोर्खा पुलिसको छवि बिग्रने अवस्था आउन सक्ने देखेर पनि सरकारले एकाएक भिसामा रोक लगाएको एनआरएनका अध्यक्ष पन्त बताउँछन्।
सिंगापुरमा करीब सात वर्ष विताएर भिसा बन्द भएपछि मलेशियातिर व्यवसाय सारेका झापाका काजी राई (३१) का अनुसार सन् २००२ तिरबाट सिंगापुरमा नेपाली विद्यार्थी भित्रिने क्रम बढेको थियो। त्योसँगै विकृति बढ्न थाल्दा समस्या उत्पन्न भएको बताउने उनी दलाल मार्फत सिंगापुर आएका नेपाली विद्यार्थीहरू कलेजमा होइन, बाहिर समातिन थालेपछि २००८ मा अध्ययन भिसा नै बन्द भयो। राई भन्छन्, “२००८ मा ६ जना नेपाली विद्यार्थी रेस्टुरेन्टमा समातिएपछि नयाँ भिसा नीति आयो।”
५५ लाख जनसंख्या भएको सिंगापुरले त्यसको दुई वर्षपछि नेपालीलाई दिंदै आएको 'हाई स्कील जब' को अवसर पनि बन्द गर्यो। त्यो अवस्थामा कतिले पीआर लिन स्थानीयसँग 'फेक' विवाह गरेको तर, सरकारले त्यसमा पनि कडाइ थालेपछि त्यो खेलो पनि सकिएको राई बताउँछन्। “भ्रमण भिसामा भने नेपालीलाई कुनै रोकावट छैन”, राई भन्छन्, “नेपालीलाई एयरपोर्टमै 'अन अराइभल भिसा' दिने थोरै देशमध्ये पर्छ, सिंगापुर।”
जमेका नेपाली
रोजगार भिसामा आएर पीआर पाएका चितवनका प्रभाकर पराजुलीले परिवार झिकाएको सात वर्ष भइसक्यो। हिमालयन ग्रील नामक स्टोरका मालिक उनी हङकङ, थाइल्याण्ड र इन्डोनेशियाबाट सामान आयात गरेर नेपाल र इन्डोनेशिया निर्यात पनि गर्छन्। सिंगापुरमा काम गर्ने राम्रो वातावरण भए पनि अल्पसंख्यक भएकोले नेपालीले अलि बढी संघर्ष गर्नुपर्ने बताउँछन्।
सहकर्मी लोरिटा जूनसँग घरजम गरेका तरहरा–२ का सुरेन्द्र गुरुङले छोरीहरूको नाम गोयनथ अमृता गुरुङ र भिक्टोरिया सावित्री गुरुङ राखेका छन्। उनलाई सपरिवार नेपाल फर्कन असाध्य मन लाग्छ, तर सिंगापुरको अवसर र छोरीहरूको भविष्यले बाँधेको छ। “नेपाल जान नपाए पनि श्रीमती र छोरीहरूलाई नेपाली भाषा–संस्कार बुझाउन चाहन्छु”, गुरुङ भन्छन्, “बुबा–आमाको आउजाउले यसमा थोरै सहयोग पनि भएको छ।”
उनी जस्ता सिंगापुरमा घरजम गरेर बस्ने नेपाली परिवार करीब एक दर्जन छन्। यहाँ नेपाली सेफहरूको संख्या उल्लेख्य छ। सिंगापुरको पीआर लिएका ४० जना सेफ तारे होटलहरूमा उच्च कमाइ गरिरहेका छन्। उनीहरूले 'नेपाली सेफ समाज' नै गठन गरेका छन्। तीमध्येका एक काठमाडौंका सन्तबहादुर लामा (५५) १३ वर्षदेखि सिंगापुरमा छन्। प्रायःजसो सेफका श्रीमतीहरू रेस्टुरेन्टमा वेटर काम गर्छन्।
सिंगापुरमा सफल
अल्बर्ट होटलमा समेत 'ब्रेकफाष्ट' आपूर्ति गर्ने क्याफेलाई विश्वप्रकाशले २००२ मा नै एकलौटी बनाइसकेका छन्। २००३ मा मुस्तफा एरियामा खोलेको कान्तिपुर क्याफे भने उनले गत वर्ष बिक्री गरे, कामदारको अभाव भएर। उनले आफूसहित पाँच जनाबाट शुरू गरेको व्यवसायमा अहिले चिनियाँ, फिलिपिनो, भारतीय, सिंगापुरे र नेपाली गरी ३० जना कामदार छन्। सिंगापुरकै नागरिक बनिसकेका उनी केही पाउन केही गुमाएको अनुभव सुनाउँछन्। “अब म मनको मात्र नेपाली रहें”, विश्वप्रकाश भन्छन्, “नेपालको राजनीति ठीक हुनासाथ लगानी लिएर जान्छु।”
उनी एउटा अन्तर्राष्ट्रिय ब्रान्डको फ्रेञ्चाइज खोल्ने उद्देश्यका साथ दोस्रो संविधानसभा निर्वाचनपछि काठमाडौं गएका पनि थिए, तर नेपालको राजनीतिक वातावरणप्रति विश्वस्त हुन सकेनन्। अब त्यो 'भेन्चर' अस्ट्रेलिया या अमेरिका जाने उनले बताए। आफूले सिंगापुरको 'सिस्टम' का कारण व्यावसायिक सफलता पाएको बताउने उनी नेपालमा भने राजनीतिप्रेरित बन्द–हडताल अभिशाप भएको ठान्छन्। “सिंगापुरमा दुई जनालाई रोजगारी दिंदा पनि सरकारले सम्मान र सहयोग गर्छ, बन्द–हडताल हुँदैन, सबै पक्षमा जवाफदेहीको भावना छ”, उनी भन्छन्। उनको भनाइमा, कानूनको पालना र जवाफदेहिताका कारण सिंगापुर सफल भएको हो। यहाँका राजनीतिज्ञ र कर्मचारीदेखि शिक्षक र व्यवसायीसम्म सबैले सार्वजनिक हितलाई महत्व दिन्छन्।
विश्वप्रकाश श्रीमती सुभद्रा, छोरीहरू सुप्रिया र सारिकाका साथ सिंगापुरमा बस्छन्। बुबाआमालाई भेट्न भ्याएसम्म काठमाडौं गइरहने उनी भन्छन्, “केही गरिहाल्ने हुटहुटी र देशको राजनीतिक माहोलले मेल नखाँदा विदेशी भइयो, तर भित्री मन उतै जाऊँ भनिरहन्छ।”