११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

अमिलो फल गुनिलो बन्दै

Share:
  
- जीवनप्रसाद राई
बेकामे मानिएको अग्लो रूखमा फल्ने अमिलो लप्सी अब पैसा फलाउने गुनिलो फल बन्दैछ।

जीवनप्रसाद राई
जंगलमा पाइने अमिलो फल भनेर चिनिने लप्सी सम्पन्नताको माध्यम बन्न लागेको समाचार धेरैलाई अपत्यारिलो लाग्न सक्छ। २०२७ मा जन्मिएर १५ वर्षदेखि लप्सी खेतीमा लागेका पर्वत मुडिकुवा गाविसका थानेश्वर भुषाललाई हेर्ने हो भने यो तथ्य पत्याउन कर लाग्छ।

मुडिकुवाको बारीमा ७०० लप्सीका बोट र ५० हजार भन्दा बढी बिरुवा रोपेका थानेश्वरले लप्सीका परिकार बनाउन घरमा 'सोलार ड्रयार' सहितको प्रशोधनशाला पनि बनाएका छन्। सफा एप्रोन लगाएर मात्र छिर्न पाउने सो प्रशोधनशालामा उत्पादित लप्सीको माडा, अचार, क्यान्डी, जामबाट वार्षिक रु.३०–३५ लाख कारोबार गर्ने उनले रु.१० लाखभन्दा बढीको बिरुवा नै बेच्छन्। बीउबाट निकालिने बिज्जु बिरुवाको प्रतिबोट रु.६ र कलमीको प्रतिबोट रु.३० मा बिक्री हुन्छ।

उद्यमी आवश्यक

लप्सी फलाउने, बिरुवा उत्पादन गर्ने र प्रशोधन गर्ने काम एउटैले गर्नुपर्दा समस्या परेको महसूस गरेका उनी लप्सी उद्योगमा लगानी गर्ने कम्पनी अघि नसरेकोमा चिन्तित छन्। कृषि र उद्योग भिन्न व्यक्ति वा कम्पनीले गर्ने हो भने लप्सीबाट बढी फाइदा पाउन सकिने उनको विश्वास छ।

थानेश्वरले लप्सी खेती र प्रशोधनमा संघ–संस्था र व्यक्तिलाई तालिम पनि दिएका छन्। बिरुवा कलमी गर्ने प्रविधि र लप्सीको दानाबाट बन्ने परिकारबारे उनीसँग अहिले पनि जर्मनी, जापान, बेलायत, ताइवान, चीन, कोरिया, अमेरिका, क्यानडा, इटाली, भारत लगायतका मुलुकबाट आएका मानिसले तालिम लिइरहेका छन्।

थानेश्वरले हात पारेको यो उपलब्धिमा पर्वत सामुदायिक विकास केन्द्रका अध्यक्ष ऋषिकेश तिवारीको महत्वपूर्ण भूमिका देखिन्छ। एक दशकअघि उनले नै थानेश्वर लगायत १५ जनाको समूहलाई लप्सी फलाउने तालिम दिएका थिए। उनीहरूमध्ये पर्वतकै शंकरपोखरीका यज्ञबहादुर थापा र दिवाकर तिवारी, मुडिकुवाका जितबहादुर नेपाली, विन्दु रम्तेल लप्सी खेतीमा लागेका छन्। पर्वतलाई लप्सीको राजधानी बनाउने तिवारीको योजना अनुसार ५५ मध्ये ४० गाविसमा ५० हजार भन्दा बढी बिरुवा रोपिएका छन्।

तिवारी चाहिं वर्तमान सभासद रामेश्वर फुयालले २०५१ मा काठमाडौंका ३७ गाविसमा थालेको लप्सी रोपाउने अभियानबाट प्रभावित भएका थिए। फुयालले त्यो वेला सबै राजनीतिक दलका प्रतिनिधिलाई लप्सीको बोट छुन लगाउँदै रोप्न लगाएका थिए। आलापोट र गागलफेदी गाविसको सीमामा रहेको उनको १५ रोपनी बारीमा २०० बोट लप्सी रोपिएको छ। त्यसैको आम्दानीबाट परिवार धानिएको उनी बताउँछन्।

यस्तै अभियानका कारण अहिले लप्सी खेती २८ भन्दा बढी जिल्लामा फैलिएको छ। काठमाडौंका दक्षिणकाली, फर्पिङ, टल्कुडडेचौर लगायतका गाविसमा रूखबाटै लप्सी बिक्री हुन्छ, धनकुटामा सुन्तला र मुस्ताङमा स्याउ बिक्री भए जस्तै। लप्सीका ११ परिकार उत्पादन गर्ने काभ्रेका सिद्धिबाबा श्रेष्ठ, लप्सीको परम्परागत खेती गर्ने काभ्रेकै लेखकुमारी शाह र भोजकुमारी शाहको उन्नति पनि कम लोभलाग्दो छैन।

अन्तर्राष्ट्रिय बजारको सम्भावना

लप्सीमा विद्यावारिधि गरेका जल तथा ऊर्जा आयोगका सचिव डा. कृष्णचन्द्र पौडेलका अनुसार लप्सीमा पोटासियम, फस्फोरस, एमिनो एसिड, भिटामिन सी लगायत मानव शरीरलाई अत्यावश्यक तत्व पाइन्छ। धेरै उत्पादन गरेर यसलाई कुपोषण हटाउने माध्यम बनाउन सकिने उनको धारणा छ। हातले टिप्न सकिने सानो बोटमा फलाउन सकिने गरी लप्सीलाई विकास गर्दा अहिले जसरी ढुङ्गाले झ्ार्नु नपर्ने र सग्लो फलले अन्तर्राष्ट्रिय बजार पाउने सचिव पौडेल बताउँछन्। लप्सीलाई सुकाउने ठाउँ, प्रयोगशाला, प्रशोधनशाला, परिकार बनाउने ठाउँ, भाँडाकुँडा तथा प्याकिङ आधुनिक र सफा हुनु पनि आवश्यक रहेको उनको भनाइ छ। लप्सीमा पाइने तत्व लेखेर ट्रेडमार्क सहित परिकार बेच्नुपर्ने पनि सचिव पौडेलको सुझाव छ।

लप्सीको काठ फर्निचर र दाउराका रूपमा प्रयोग गर्न सकिने तथा दानाभित्रको च्याम्पटी भनिने बियाँलाई सजाउने सामान बनाउन सकिने पौडेल बताउँछन्। च्याम्पटी अत्यन्तै कडा हुने भएकाले ईंटा पोल्न र सुन पगाल्न पनि उपयोगी हुने उनको भनाइ छ।

यी सबै गुणका कारण लप्सीको बजार ठूलो छ। कृषि विशेषज्ञ डा. त्रिलोक्यनाथ श्रेष्ठका अनुसार जापानमा मात्र वार्षिक १० टन लप्सी क्यान्डीको माग छ। अचार मन पराइने चीनको तिब्बत र दक्षिण भारतमा पुर्‍याउन सक्ने हो लप्सीको बजार बढ्नेमा शंका छैन।

जंगलमा आफैं हुर्किने भएकाले लप्सीको खेती गर्न पनि सजिलो छ। यसका लागि उपयुक्त हावापानी रहेको मध्यपहाडी क्षेत्रमा रहेको खाली जमीनमा लप्सी खेती गर्दा प्रशस्तै उत्पादन लिन सकिन्छ। तर, त्यसका लागि इच्छाशक्ति भने आवश्यक छ।

comments powered by Disqus

रमझम