आमालाई तीज–सम्झना !

Share:
  
- डा. अरुणा उप्रेती
p64

तस्बीर: ऋषिराम कट्टेल

मेरी आमै,
फेरि तीज आएपछि तिम्रो सामाजिक–सांस्कृतिक जीवनमा अर्को व्यस्तता थपिएको छ, केहीअघि गौरा पर्वमा जस्तै। तिमी सधैं व्यस्त भइरह्यौ। व्यस्ततामा तिमी आफ्नो उमेर पनि बिर्सन्छ्यौ। ७५ वर्षकी तिमी कहिलेकाहीं ढाड दुख्यो, खुट्टा दुख्यो भनेर गुनासो गर्छ्यौ, तर जब व्यस्तताको बेला आउँछ 'ऐ दूरका सितारा, मेरो चाँदनी कहाँ छ' भन्ने गीत गुन्गुनाउँदै व्यस्ततामै हराउँछ्यौ। यो गीत मेरा पिता प्रायः गुन्गुनाइरहन्थे, शायद त्यसैले तिमीलाई प्रिय लागेको!

म तिमीलाई सुदूरपश्चिमका ती महिलाहरूको जीवन सम्झाउन चाहन्छु, जसका लागि अझै पनि तीजले दर खाने खुशी लिएर आउँदैन। कति जना त तीजको ब्रतमा पनि घाँसपात गरेर, गाईभैंसीको दूध दुहेर राख्छन्; तर प्रसादको रूपमा त्यो दूध खान पाउँदैनन्। तिमीले पनि जिन्दगीमा धेरै सुख पाइनौ। मलाई स्कूल पठाउँदा खाजा खान ५० पैसा दिन तिमीलाई गाह्रो हुन्थ्यो र भातमा चिनी हालेर पठाउँथ्यौ, जुन मेरो लागि अमृत समान हुन्थ्यो। तिमीले दशैंमा हालिदिएको एकजोर लुगामा म वर्षभरि रमाउँथें। ती दिनहरू र तिमीले गरेका कठोर संघर्ष सम्झ्ेर यो तीजमा तिमीलाई यो पत्र–उपहार पठाएकी हुँ।

तिमी ४६ वर्षकी हुँदा मेरा पिता बितेका थिए। त्यो बेलाको धार्मिक मान्यता अनुसार तिमी एक वर्षसम्म सेतो लुगा लगाएर घरभित्रै बस्यौ, दिनरात आँशु खसाल्यौ, एक छाक खायौ र आफ्नो शरीर सुकायौ। त्यो हृदयहीन धार्मिक कुसंस्कृतिको विरोध गर्न सक्ने क्षमता मसँग थिएन। मैले 'अब तिम्रा पति छैनन्, तीजमा कसको आयु बढोस् भनेर ब्रत लिन्छौ' भनेर सोध्दा तिमीले भनेकी थियौ, “ब्रत अरू कसैको लागि होइन, मेरै शरीर स्वस्थ रहोस् भनेर लिन्छु। ब्रतकै निहुँमा कति दिदीबहिनी भेटिन्छन्, सुखदुःख साटिन्छन्, आँशु पोखिन्छन्, मन हलुको हुन्छ। यसले जीवनलाई आशावादी बनाउँछ। ब्रत लिएर लोग्नेको आयु बढ्छ भन्ने कुरै हैन।” यसरी तिमीले अति साधारण शब्दमा मलाई जीवनको ठूलो दर्शन बुझायौ।

भारत उत्तरप्रदेशको सानो गाउँ लखिमपुरबाट १० वर्षको उमेरमा तामदानमा चढाएर सात–आठ दिन लगाई ल्याइएकी तिमीलाई तीजको बेला को लिन आओस् र माइतीबाट? त्यतिबेला तिमी कसको लागि ब्रत बसिरहेको हुँ भन्ने ज्ञान नभए पनि मीठा खानेकुरा र चुरापोते पाइने आनन्दले उत्सुक हुन्थ्यौ। अहिले मलाई त्यो बेला तिमीले सुनाएका धेरै कथाहरू याद आइरहेछन्। बालविवाहमा परेकी तिमीले शुरूमा फलफूल र गुलियो चिया खान पाइन्छ भनेर तीजको ब्रत बस्यौ। कसैले टीका लगाएर १०–१५ पैसा दिन्छ भन्ने आशामा त्यसो गर्‍यौ, जुन तिम्रा लागि खजाना भन्दा कम हुँदैनथ्यो!

यस्ता चाडपर्व नहुँदा हुन् त जीवन कति निरस हुँदो हो! दुःख र पीडामा छट्पटिएका मनमा क्षणिक भए पनि घाउमा मल्हम लगाउने काम चाडपर्वले गर्छन् भन्ने कुरामा मलाई पनि विश्वास लाग्न थालेको छ। हरेक तीजमा तिमीले मलाई पनि चुरापोते, टीका दियौ। यी वस्तुहरू म आफैंले कहिल्यै किनिनँ। तिमी 'चुरापोते जस्ता चिज आफूलाई सुन्दर, स्वस्थ र आत्मविश्वासी बनाउन लगाउने हो, ब्रतले स्वास्थ्यलाई राम्रो पार्छ र पेटलाई एक दिन भए पनि आराम दिन्छ' भन्थ्यौ। तिम्रा कुरा मेरो मनमा नमेटिने गरी बसेका छन्। विज्ञानले पनि समय–समयमा कम खानाले र ब्रत बस्नाले शारीरिक स्वास्थ्यमा राम्रो असर पर्छ भनेर सिद्ध गरिसकेको छ। नपढेकी भए पनि तिमीले मलाई ब्रतको वैज्ञानिक तथ्य बुझायौ।

तीजको ब्रत लिएर तिमी थकित भएको बेलामा म कहिलेकाहीं जिस्क्याउने गर्थें, “यही हो तिम्रो ब्रतको स्वाद? शरीरलाई दुःख दिएर पनि के ब्रत लिनु? लौ यो मीठो आलु क्वाप्प खाऊ।” त्यसबेला तिम्रो मन दुख्थ्यो र भन्थ्यौ, “फूल फुलन्ती, कोपिला झ्रन्ती। भोलि तिमी कमजोर भएपछि तिम्रा छोरीहरूले पनि यसैगरी हँस्सी उडाउँदा मेरो सम्झ्ना गरौली।” नभन्दै, अहिले मेरा छोरीहरू मेरो भेषभुषा देखेर, मलाई फेसबुक चलाउन नआएको देखेर, लिपिष्टिक लाउन नजानेको भनेर हँस्सी उडाउँछन् र म तिमीलाई सम्झ्िन्छु। शायद जीवनको रीत यसरी नै चलिरहन्छ। यो तीजमा तिमी र तिमी जस्ता आमाहरूलाई लाख–लाख सम्झ्ना! 

comments powered by Disqus

रमझम