केही वर्ष अगाडिसम्म 'भ्यालेन्टाइन डे' को चर्चासम्म नहुने रुकुम सदरमुकाम मुसिकोटलाई पछिल्लो समयमा यो प्रेम दिवसले तरंगित बनाउन थालेको छ। प्रेम दिवस माया गर्नेहरूका लागि त महत्वपूर्ण हुने नै भयो, व्यापारीहरूलाई पनि वरदान सावित भएको छ। 'भ्यालेन्टाइन डे' को अवसरमा फूल, कार्ड र कस्मेटिक्सदेखि पर्स, पेटी, घडी, ग्याजेट र फर्निचरसम्मको बिक्री बढेको रुकुमका व्यवसायी मिलन पुन बताउँछन्। यस पटक एकअर्कालाई उपहार दिने मात्र होइन, एकान्त खोज्दै रुकुमकोट, कमलदह, स्यार्पुताल, डग्रे मन्दिर, कोटगाउँ, सानोभेरी लगायतका स्थानमा पुग्ने जोडी पनि धेरै देखिए।
उता पर्यटकीय जिल्ला सोलुखुम्बुमा 'भ्यालेन्टाइन डे' ले आफ्नो रंग नदेखाउने कुरै भएन। सोलुका उपहार बिक्रेता पर्खिधन कुलुङले आफ्नो पसलमा यस पटक तीन जोडी विदेशी र सयौं स्थानीय युवा–युवतीले रु.४० हजारभन्दा बढीको सामान किनेको बताए। सोलुखुम्बुमा पनि 'भ्यालेन्टाइन डे' मनाउने चलन केही वर्षअघि मात्र भित्रिएको हो। २३ वर्षदेखि जिल्ला कृषि विकास कार्यालयमा कार्यरत प्राविधिक सहायक भोलानाथ घिमिरेले चार वर्षअघिसम्म आफूले यसरी प्रेम दिवस मनाएको नदेखेको बताए।
प्रेम दिवसमा नाटकसम्म
पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम बजारमा यस पटकको 'भ्यालेन्टाइन डे' प्रेम प्रस्ताव राख्ने र उपहार दिनेदेखि प्रेम कविता वाचन र प्रेम नाटक मञ्चनसम्मका गतिविधि भए। कस्मेटिक पसले आशिष खानले चार–पाँच वर्षदेखि 'भ्यालेन्टाइन डे' व्यापारको राम्रो अवसर बन्न थालेको बताए। फिदिमकै अर्की कस्मेटिक्स व्यापारी रीता खतिवडा भन्छिन्, “यो सिजनमा तिहारमा जत्तिकै व्यापार हुन थालेको छ।”
पाँचथरमा यो वर्ष उपहार किनमेल र रातमाटेडाँडो, लव्रकुटी, सिलौती, लालीखर्क लगायतका एकान्तमा प्रेम वार्तालापसँगै प्रेम कविता/गजल सुन्ने/सुनाउने कार्यक्रम पनि आयोजना गरियो। १४ फेब्रुअरीमा आयोजित भ्यालेन्टाइन विशेष कार्यक्रममा 'हाम्रो थिएटर' ले दुई वटा नाटक मञ्चन गर्यो।
लक्ष्मण केसी, रुकुम, बुद्धवीर बाहिङ, सोलुखुम्बु, लक्ष्मी गौतम, पाँचथर
लगानीको अवसर
आयातमा निर्भर
प्राकृतिक सौन्दर्यको धनी नेपालले गत वर्ष जम्मा रु.६ करोडको फूल निर्यात गर्यो। नेपालबाट खास गरेर अर्नामेन्टल प्लान्ट (घर, होटल, अस्पताल, बगैंचा आदिलाई शोभायमान पार्ने बहुवर्षीय बिरुवा) र अर्किड लगायतका कट फ्लावर भारत निर्यात हुन्छ। तर, हरेक साल रु.४ करोडको फूल आयात हुने गरेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका उपाध्यक्ष कुमार कसजू श्रेष्ठ बताउँछन्। “फूलको कुल कारोबार चाहिं रु.१ अर्ब ५ करोड नाघ्न थालेको छ”, श्रेष्ठ भन्छन्।
नेपाल सिजनल फूलको बीउमा पनि आयातमा निर्भर छ। नेपाललाई चाहिने फूल र बीउ प्रायः भारतबाट मगाइन्छ। हिजोआज चीनबाट पनि फूल मगाउन थालिएको छ। नेपालमा उत्पादन हुने फूलका बल्ब र राइजम अमेरिका, यूरोप र मध्य पूर्वका देशमा निर्यात हुन्छन्।
नेपालमा फूलको नियमित प्रयोगकर्ताको माग स्वदेशी उत्पादनबाट पूरा हुन्छ। तिहार, प्रणय दिवस र विवाहको सिजनमा भने ९० प्रतिशतभन्दा बढी फूल आयात गरिन्छ। यो वर्षको प्रणय दिवस (१४ फेब्रुअरी) का लागि एक लाख पिस गुलाब मगाइएको थियो। तर, निकै महँगो परेर गुलाब कम बिक्री भएको कमलादीका फूल बिक्रेता सुरज राईले बताए।
तीन वर्षअघिसम्म सुन्दरीजलको नयाँपाटीमा रहेको बाह्रमासे ग्रीनहाउसले गुलाब उत्पादन गर्दा आन्तरिक मागको ठूलो हिस्सा धान्नुको साथै क्रेताहरूलाई पनि सस्तो भएको थियो। तर, बन्द―हडतालका कारण सो ग्रीनहाउसको गुलाब खेती बन्द भएपछि आयातमा निर्भर हुनुपरेको छ।
आधुनिक जीवनशैलीसँगै नेपालमा फूलको माग बढ्दो छ। यो मागलाई ध्यानमा राखेर फ्लोरिकल्चर एसोसिएसनले काठमाडौंको थलीमा हल्याण्डबाट मगाएका १० हजार बोट गुलाबका बिरुवा रोपेको छ। उता चितवनको गुञ्जनगरमा पनि सात हेक्टर जमीनमा आधुनिक प्रविधिबाट फूल खेती थालिएको छ। अर्को वर्षदेखि नेपाल फूलमा लगभग आत्मनिर्भर हुने एसोसिएसनका उपाध्यक्ष श्रेष्ठ बताउँछन्। “आगामी वर्ष गुलाबको आयात कम्तीमा ५० प्रतिशत घटाउँछौं”, श्रेष्ठ भन्छन्, “अर्को सालको 'भ्यालेन्टाइन डे' मा प्रेमजोडीले पनि सस्तोमा फूल पाउने छन्।” फूलमा लगानी गर्ने ठूला लगानीकर्ताका लागि नेपालमा ठूलो अवसर भएको श्रेष्ठले बताए।
देबकी विष्ट