११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

शून्यतिर शूटिङ

Share:
  
कुनै समय अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेको बाँकेमा शूटिङ खेल ओरालो लाग्दैछ।

तुफान न्यौपाने, नेपालगञ्ज

तस्वीरहरुः तुफान न्यौपाने
बाँके जिल्लाले गत माघमा भएको प्रथम लुम्बिनी च्याम्पियनसीप अन्तर्गतको राष्ट्रिय शूटिङ बहिष्कार गर्‍यो। कारण थियो– खेल सामग्री अभावले अभ्यास गर्न नपाउनु। छैटौं राष्ट्रिय खेलकुदमा शूटिङका विभिन्न विधामा तीन स्वर्ण, दुई रजत र दुई कास्यसहित च्याम्पियन भएको बाँके सहभागी नभएपछि प्रथम लुम्बिनी च्याम्पियनसीपमा मध्यपश्चिम क्षेत्र नै पदकविहीन भयो।

गर्विलो विगत

नेपाल ब्याङ्कका कर्मचारी रहेका बाँकेका सज्जनप्रताप सिंह १९८२ मा नवौं एशियन गेममा सहभागी भएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा यो क्षेत्रको लागि ढोका खुलेको थियो। सिंहले खनेको बाटो पछ्याउँदै यहाँका धेरै खेलाडीले साफ, एशियन र ओलम्पिक खेले। राष्ट्रिय प्रतियोगिताका स्वर्णधारी सिंहकै छोरा केशवले १०औं र ११औं एशियन गेम खेले। तेस्रो राष्ट्रिय खेलकुदको शूटिङका स्वर्ण विजेता लक्ष्मण थापा र पार्वती थापाले कोरियामा भएको १०औं एशियन गेम खेले। त्यो गेमको टीम इभेन्टमा यसै क्षेत्रका प्रतिमा शाह, माया रोका र पार्वती छैटौं स्थानमा आए।

त्यसको एक वर्षपछि चीनमा भएको एशियन च्याम्पियनसीपमा शूटिङको जुनियरतर्फ महिलाबाट मायाले कास्य जितिन्। सिनियर प्रतियोगितामा ४०० पूर्णाङ्कमा ३८६ स्कोर लिएर पार्वती पाँचौं भइन्। ३७५ को ओलम्पिक 'क्वालिफाइङ्ग स्कोर' पार गरेकी उनी कोरियामा भएको २४औं ओलम्पिकमा नेपालको तर्फबाट ओलम्पिक खेल्ने पहिलो महिला खेलाडी भइन्।

१९९१ को पाँचौं साफ (श्रीलंका) मा बाँकेकै अनिता श्रेष्ठ व्यक्तिगततर्फ स्वर्ण जित्ने प्रथम महिला खेलाडी बनिन्। प्रतियोगितामा टीम इभेन्टतर्फ पार्वती, अनिता र विभाश्वरी राई एयर राइफलमा दोस्रो भए भने एयर पेस्तोलमा भूमिजा सिंह, प्रेरणा शाह (काठमाडौं) र स्वस्तिका उपाध्याय (विराटनगर) को समूहले कास्य जित्यो। १९९२ को २५औं ओलम्पिकमा अनिता सहभागी भइन्।

यस क्षेत्रबाट पार्वती, अनिता, प्रतिमा, माया, शैलु श्रेष्ठ, आशा थापा, श्रद्धा श्रेष्ठ, भूमिका सिंह, कृष्णा थापा लगायतका महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा पुगे भने पुरुषतर्फ सज्जन, केशव, लक्ष्मण, बदरुद्दिन अन्सारी, मोहम्मद अहमद अन्सारी, नरेन्द्र थापा, उपेन्द्र थापा, रवि सिंह, रमेश मल्ल, समिर अर्याल लगायतले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

बेहाल वर्तमान

चौथो राष्ट्रिय खेलकुद आयोजना हुँदा नेपालगञ्ज रंगशालामा बनाइएको शूटिङ रेञ्ज अहिले जीर्ण छ। राइफल, पेस्तोल, गोली, टार्गेट कार्ड, पोशाक लगायत सामग्री छैनन्। खेलाडीहरू प्रतियोगिता नजिकिंदा शूटिङ रेञ्जमा पुगे पनि शारीरिक अभ्यास गरेर फर्कन बाध्य छन्। “राइफल र पेस्तोलसम्म भइदिए टार्गेट कार्ड र गोलीको व्यवस्था हामी आफैं गर्थ्यौं”, जिल्ला शूटिङ संघका सदस्य रहेका अन्तर्राष्ट्रिय खेलाडी नरेन्द्र थापा भन्छन्, “राइफल र पेस्तोल व्यक्तिले किन्न मिल्दैन।”

१९९९ मा आठौं साफको तयारीयता केही सामग्री नपाएको खेलाडी बदरुद्दिन अन्सारी बताउँछन्। केन्द्रसँग पटक–पटक अनुरोध गर्दा पनि कहिल्यै सुनुवाई नभएको उनले बताए। अन्तर्राष्ट्रिय पदक भित्र्याउन सफल यहाँका खेलाडीले आठौं साफयता न अभ्यास गर्न पाएका छन् न त पदक जित्न सकेका छन्।

खेल सामग्री उपलब्ध नहुँदा र रेञ्ज जीर्ण हुँदा नयाँ खेलाडीको बाटो पनि छेकिएको छ। २०५० देखिको कृष्णा, २०४३ मा शुरू गरेका बदरुद्दिन र नरेन्द्र नै अहिलेसम्म खेलिरहेका छन्।


सोखिन डाक्टर

नेपालगञ्ज मेडिकल कलेजको कार्डोलोजी विभागमा कार्यरत डाक्टर शाहिना प्रवीणलाई शूटिङको खानदानी खेलाडी भन्न सकिन्छ। अन्तर्राष्ट्रिय खेलाडी बदरुद्दिनकी भतिजी डा. शाहिना प्रवीण काकाकै प्रेरणाबाट आफू व्यावसायिक खेलाडी हुन लागेको बताइन्। छैटौं राष्ट्रिय प्रतियोगिताको क्षेत्रीय छनोटमा तेस्रो, सोही प्रतियोगिताको १० मिटर एयर पेस्तोलमा छैटौं र १० मिटर एयर पेस्तोलको टीम इभेन्टमा कास्य जितेकी उनको पनि उही गुनासो छ, “शूटिङ सामग्री नै छैनन्।”

परिवारै शूटिङमा

ओलम्पियन पार्वती, नरेन्द्र र कृष्णा एकै घरका हुन्। ठूलोबुबाका छोरा लक्ष्मण थापाको प्रेरणाबाट शूटिङमा लागेकी पार्वतीले अभ्यास थालेको तीन महीनापछि नै तेस्रो राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी थिइन्। पुरुषतर्फ लक्ष्मणले स्वर्ण जिते। दाजुदिदीले स्वर्ण जितेको खबर रेडियोबाट सुनेका नरेन्द्र भन्छन्, “अनि मैले पनि शूटिङ खेल्ने निर्णय गरें।”

पार्वतीले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेढ दर्जनभन्दा बढी पदक जितेकी छन् भने नरेन्द्रले राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण र तीन रजत तथा सेकेन्ड साफ च्याम्पियनसीपमा एक कास्य। बहिनी कृष्णाले पनि राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण जितिसकेकी छन्। चौथो राष्ट्रिय खेलकुदबाट शूटिङमा छिरेकी उनी त्यसयताका राष्ट्रिय प्रतियोगितामा कहिल्यै पदकविहीन भइनन्।

comments powered by Disqus

रमझम