११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

लिगमा नयाँ दाबेदार

Share:
  
नयाँ खेलाडी प्रभावी देखिएको ए डिभिजन लिगमा उपाधिको होड बडो रोमाञ्चक बनेको छ।

विकास द्वारे
८ फागुनमा पुलिस विरुद्धको खेलमा मछिन्द्रका सुशील केसी ।
२९ माघमा शहीद स्मारक रेडबुल ए डिभिजन लिगको साविक विजेता लक्ष्मी ब्याङ्क थ्रीस्टारलाई पराजित गरेर सुपर लिग शुरू गरेको एनएमबी ब्याङ्क मछिन्द्र क्लब उपाधि दाबेदार बनेको छ। थ्रीस्टार मात्रै होइन अंकतालिकामा शीर्षस्थानको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र लयमा रहेको विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेर मछिन्द्रले आफ्नो दाबेदारी प्रस्तुत गरेको हो। मनाङलाई ४–० गोल अन्तरले पराजित गरेको मछिन्द्रले थ्रीस्टार र पुलिससँग १–० ले पछाडि परेको अवस्थालाई उल्टाएरै जित निकाल्यो।

राष्ट्रिय टीमका पूर्व स्ट्राइकर हरि खड्का मछिन्द्रका खेलाडीले मैदानमा देखाएको उत्साहले राम्रो नतीजा निकालेको बताउँछन्। खड्काका अनुसार, उनीहरूले अन्तिम समयसम्म हरेश नखाने र विपक्षीको गल्तीमा गोल गर्ने खुबी देखाए। यो लिगमा मछिन्द्रका मिडफिल्डर सुशील केसी, दीपक राई, असिमजंग कार्की, गोलकिपरहरू किरण चेम्जोङ, दिनेश थापा मगर, रितेश थापा लगायतका खेलाडीले उल्लेख्य प्रदर्शन गरे। स्ट्राइकर कर्ण लिम्बूले त सर्वाधिक ९ गोल गरेका छन्।

दुई–दुई खेल खेल्न बाँकी छँदा ३२ अंक जोडेको मनाङलाई यो लिगमा मछिन्द्र र थ्रीस्टारले पछ्याएको छ। अघिल्लो लिगको तुलनामा राम्रो प्रदर्शन गरेको पुलिस, अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र सीएमजी संकटा भने उपाधि दौडबाट बाहिरिइसकेका छन्। हिमालयन शेर्पा, फ्रेन्डस्, नेपाल आर्मी, सरस्वती युवा क्लब र जावलाखेल युवा क्लबले पनि सुपरलिगमा स्थान बनाउन सकेनन्। एनसेल कप नखेलेर तीन अंक घटुवामा परेको रानीपोखरी कर्नर टीम (आरसीटी) र ब्वाइज युनियन रेलिगेसनमा परेका छन्।

सर्वाधिक पुरस्कार राशीको ए डिभिजन लिगमा विदेशी खेलाडीको उल्लेख्य उपस्थिति छ। तीन वटा विभागीय बाहेक सबै टीमबाट खेलेका उनीहरूले खेल नतीजामा प्रत्यक्ष प्रभाव पारेका छन्। योना इलियस, अवाले, पियुस, डोडोज, मार्टिन्स, पियरे लगायतका खेलाडीले मैदानमा प्रभाव देखाइरहँदा घरेलु लिगमा विदेशीलाई खेलाउँदा नेपाली फूटबल विकास नहुने धारणा पनि आएका छन्। फूटबल विश्लेषक संजीव मिश्र भने बलियो प्रतिस्पर्धीसँग खेल्दा नेपाली खेलाडीको स्तर बढ्ने बताउँछन्।

स्टारहरूले भरिएको मनाङ र थ्रीस्टारलाई नयाँ खेलाडीको बाहुल्य रहेको मछिन्द्र र पुलिसले अंकतालिकामा पछ्याइरहेको छ। पुलिस क्लबको टीम म्यानेजर रहेका पूर्व स्ट्राइकर खड्का लिगमा युवाहरूको प्रदर्शन फूटबल विकासका लागि महत्वपूर्ण हुने बताउँछन्। उनको विश्लेषणमा नामी स्टारहरू जम्न नसक्नु यसपटकको लिगको नकारात्मक पक्ष हो। नयाँ क्लब र नयाँ खेलाडीको उदयले 'नामले होइन कामले' जितिन्छ भन्ने मान्यता स्थापित गरेको बताउने खड्का भन्छन्, “फूटबल विकासमा मेरुदण्ड मानिने लिगलाई अझ्ौ लामो समय संचालन गर्न एन्फाले योजना बनाउनुपर्छ।”

सन्त गाहा मगर

comments powered by Disqus

रमझम