११-१७ फागुन २०७० | 23 Feb-1 Mar 2014

मूर्तिका शिल्पी

Share:
  
पेन्टिङमा स्नातकोत्तर धर्मराज शाक्य (४१) मूर्तिकलामा अब्बल कहलिएका छन्।

बिक्रम राई
ललितपुर, सुन्धाराका कहलिएका मूर्तिकार तथा ललितकला क्याम्पसमा मूर्तिकलाकै उप–प्राध्यापक नुनेमराज शाक्यले छोरा धर्मराजलाई पेन्टिङमा स्नातकोत्तर गराए। तर, धर्मराज ढुंगाकै उत्कृष्ट शिल्पी बने। उनी बुबाको आदेशमा पेन्टिङ पढे पनि पाटनमा ढुंगाको परम्परागत मूर्ति बनाउने ५–६ परिवार मात्र बाँकी रहेकोले यो विधाको संरक्षणमा लागेको बताउँछन्।

धर्मराजले बनाएका बीपी कोइराला, गणेशमान सिंह, राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायतका मूर्ति/सालिकहरू देशैभर पुगे। वसन्तपुर दरबार क्षेत्रमा भएका दुई वटा ठूला सिंह, बूढानीलकण्ठको विष्णुपाउ, बनेपाको चण्डेश्वरी जल शयन, भक्तपुर ठिमीको शंखधर साख्वा, स्वयम्भूको बुद्ध लगायतका मूर्ति उनकै सिर्जना हुन्। पशुपति क्षेत्र, भक्तपुर दरबार परिसर, हायात होटल लगायतका ठाउँमा पनि उनका सिर्जना सजिएका छन्।

अहिले उनी मुस्ताङको मुक्तिनाथ क्षेत्रमा राख्न ३२ फिट अग्लो बुद्ध मूर्ति कुँदिरहेका छन्। मूर्तिकलामा राष्ट्रियस्तरका दर्जनौं पुरस्कार/सम्मान पाइसकेका धर्मराजले २०५८ मा पाटन औद्योगिक क्षेत्रमा खोलेको अरनिको स्टोन कार्भिङमा अहिले ३० जना रोजगार छन्। नेपाल हस्तकला महासंघका उपाध्यक्ष र सम्पदा संघका महासचिव रहेका धर्मराज भन्छन्, “यसमा धेरै दुःख छ, तर कुनै समयमा उत्कृष्ट रहेको नेपाली मूर्तिकला ननासियोस् भनेर लागेको छु।”

जापान, चीन र नेपालमा चार वटा एकल र दर्जनौं सामूहिक प्रदर्शनी गरिसकेका उनी मूर्तिबाट वार्षिक रु.५० लाख हाराहारीको कारोबार गर्छन्। कान्तिपुर इन्टरनेशनल कलेजमा भिज्युअल आर्टका अध्यापक रहेका धर्मराजको मूर्ति बजार विदेशमा भारत, जापान, अमेरिका, चीन, जर्मन, फ्रान्स, स्वीट्जरल्याण्ड र इटाली हो।

*ऋषिराम कट्टेल *

comments powered by Disqus

रमझम