१८-२४ फागुन २०७० | 2-8 March 2014

समयमै सोचौं

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (११―१७ फागुन) को कभरमा प्रकाशित 'एमालेभित्र कोलाहल' समाचार पढेपछि केही लेख्न मन लाग्यो। नेपालका हरेक दल कुनै न कुनै गुट―उपगुटको शिकार भएका छन्। एकले अर्कालाई विश्वास गर्न नसक्दा हुने यस्ता भिडन्तले अन्ततः पार्टीलाई असर गर्दछ भन्ने कुरामा एमाले नेतृत्वले ध्यान पुर्‍याउनुपर्दछ। आफूभित्रको लडाइँले सिङ्गो पार्टीलाई नोक्सान पुर्‍याउँछ र त्यसबाट बाहिरियाले फाइदा उठाउँछन् भन्ने कुरामा एमाले संसदीय दलको नेतामा निर्वाचित नेता केपी ओली र अध्यक्ष झ्लनाथ खनालले विचार पुर्‍याउन नसक्ने हो भने पार्टी कमजोर हुन्छ।

विमल केसी, इमेलबाट

एमाले मात्र होइन, अन्य दलहरू समेत यस्ता समस्याबाट अछुतो छैनन्। समयमै दलहरूले आफ्नो आचरणमा सुधार नल्याउने हो भने भोलि जसले जे मन लाग्यो त्यही गर्ने अवस्था आउन सक्छ। जसको परिणाम भोलिका दिनमा पार्टी संगठन नै ध्वस्त हुन सक्छ। त्यसकारण सिष्टम बसाल्नको लागि पहिला नेतृत्व नै सुधि्रनुपर्छ। गुट―उपगुटको असर जिल्ला हुँदै तल्लो तहसम्म पुग्ने भएकाले केन्द्रबाटै सुधारको खाँचो छ।

रामलाल तिवारी, इमेलबाट

रसायन व्यवस्थापन

साप्ताहिक खबरपत्रिका हिमाल (११―१७ फागुन) मा प्रकाशित 'जताततै घातक रसायन' पढेपछि त्यस्ता रसायन जनस्वास्थ्यका लागि कतिसम्म घातक हुँदा रहेछन् भन्ने प्रष्ट हुन्छ। शहरका घनाबस्ती वरिपरिका घातक रसायनको व्यवस्थापन गर्न नसक्दा ठूलो समस्या उत्पन्न गराउने निश्चित छ। समयमै व्यवस्थापन नगर्ने हो भने यस्ता खालका घातक रसायनका कारण भविष्यमा ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ। त्यसकारण घातक रसायनको व्यवस्थापनबारे वेलैमा विचार पुर्‍याऔं।

वर्षा आचार्य, इमेलबाट

कहिलेसम्म बेहाल

साप्ताहिक खबरपत्रिका हिमाल (११―१७ फागुन) मा अध्यापन अनुमति पाएर पनि सरकारी अनुदानको अभावमा समस्यामा परेका मदरसा सम्बन्धी समाचार पठनीय लाग्यो। कुनै पनि संस्थालाई अध्यापन अनुमति दिएर मात्र शिक्षाको गुणस्तर राम्रो हुँदैन भन्नेतर्फ सरकारले वेलैमा ध्यान दिनु जरूरी छ। सन् २०१५ सम्ममा सबैका लागि शिक्षाको नारा अघि सारेको सरकारले भौतिक संरचनासँगै गुणस्तर सुधारका लागि शैक्षिक सामग्री र योग्य शिक्षकमा पनि ध्यान दिन जरूरी छ।

नवराज शर्मा, इमेलबाट

वास्तविकता पत्ता लगाऊ

साप्ताहिक खबरपत्रिका हिमाल (११―१७ फागुन) मा प्रकाशित नेपालको आन्तरिक उडानबारेको 'ज्यानमारा लापरबाही' समाचार पढेपछि नेपाली हवाइ यातायातको अवस्था थाहा हुन्छ। हरेक वर्षजसो हुने हवाइ दुर्घटनामा धेरै व्यक्तिले ज्यान गुमाउँदा पनि सरकारले ध्यान पुर्‍याउन सकेको देखिंदैन। हुन त हरेक दुर्घटनापछि छानबिन आयोग गठन गरे पनि आयोगले औंल्याएका सुझ्ाव कार्यान्वयनतिर सरकारको ध्यान पुगेको पाइँदैन। दुर्घटनाको वास्तविकता पत्ता लगाएर आगामी दिनमा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ।

मदन राई, इमेलबाट

सराहनीय काम

साप्ताहिक खबरपत्रिका हिमाल (११―१७ फागुन) मा प्रकाशित 'मूर्तिका शिल्पी' समाचारमा अब्बल मूर्तिकार धर्मराज शाक्य र उनको कलाबारे पढ्न पाइयो। परम्परागत मूर्तिकलाका धेरै कलाकारले यो काम छाडे पनि धर्मराजले अनवरत गरेको काम सराहनीय छ। उनले ढुङ्गाका मूर्ति मार्फत नेपाली मूर्तिकलाको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ। उनी जस्ता कलाकारलाई राष्ट्रले सम्मान दिनुपर्छ।

दीपक दाहाल, बर्नालु, ओखलढुगा, हाल काठमाडौं।

मृत्युको शिकार नबनौं

साप्ताहिक खबरपत्रिका हिमाल (११―१७ फागुन) मा प्रकाशित लापरबाहीका कारण नेपालमा क्षयरोग समाधान नहुने संकट बन्दै गरेको सम्बन्धी समाचारमा नेपाली समाजको वास्तविकता औंल्याइएको छ। अशिक्षित मात्र होइन पढालेखा शिक्षित युवाले समेत स्वास्थ्य जस्तो संवेदनशील विषयमा हेलचेक्र्याईं गरेको पाइन्छ, निको भए जस्तो लागेर बीचैमा औषधि छोड्दा। त्यसैले जानी―जानी मृत्युको शिकार नबनौं।

सुलोचना चौधरी, इमेलबाट

गाउँले भ्यालेन्टाइन

साप्ताहिक खबरपत्रिका हिमाल (११―१७ फागुन) मा 'भ्यालेन्टाइन डे' को सन्दर्भमा प्रकाशित प्रेमसँगै बढेको पुष्प व्यापार सम्बन्धी समाचार पढेपछि नेपाली समाज कतिसम्म अघि बढ्दैछ भन्ने प्रष्ट हुन्छ। पछिल्लो समयमा नेपालीमाझ् लोकप्रिय 'भ्यालेन्टाइन डे' मा युवायुवतीले एक अर्कामा माया र सद्भाव बढाउनका लागि उपहारका रूपमा फूल दिने चलन बढेको छ। शहरबजारमा केन्द्रित यो चलन दुर्गम ठाउँमा समेत पुगिसकेको कुरा हिमाल को समाचार पढेपछि थाहा हुन्छ।

चित्रा वली, इमेलबाट

comments powered by Disqus

रमझम