१८-२४ फागुन २०७० | 2-8 March 2014

'मतदान अन्तिम विकल्प हो'

Share:
  

१४ फागुनमा संविधानसभा उपाध्यक्षमा निर्वाचित ओनसरी घर्ती मगर भन्छिन्, “जस्तोसुकै चुनौती आए पनि दलहरू संविधान निर्माणमा एकजूट हुनेछन् भन्नेमा म विश्वस्त छु।”

देबकी बिष्ट
उपाध्यक्षमा अत्यधिक मतले निर्वाचित हुँदा कस्तो अनुभव भएको छ?

खुशी छु। तर यो व्यक्तिगतभन्दा पनि मंगलादेवी सिंहदेखिको महिला आन्दोलन, जनआन्दोलन, 'जनयुद्ध', मधेश र जनजाति आन्दोलनको उपलब्धिको परिणाम हो भन्ने लाग्छ। मैले महिला, युवा र आफ्नो समुदायको पनि प्रतिनिधित्व गरेकी छु।

तपाईंलाई निर्वाचित गर्न दलहरुबीच भएको एकताले के सन्देश दिएको जस्तो लाग्छ?

संविधानसभा अध्यक्ष पनि निर्विरोध निर्वाचित हुनुभयो। उपाध्यक्ष चयनमा पनि पाँच सभासद भएको दुई दल बाहेक सबै एक ठाउँमा देखिनु सहमति र सहकार्यको विकल्प छैन भन्ने सन्देश हो।

यो परिणामले समयमै संविधान निर्माण गर्न सहज बनाउला?

शुभ संकेत हो। तर समयमै संविधान निर्माण गर्न विगतको संविधानसभाले सहमतिको स्वामित्व ग्रहण गर्नुपर्दछ। त्यसो भयो भने यो पटक संविधान बन्छ।

अघिल्लो पटक संविधान बन्न नसक्नुका कारण के के हुन्?

असहमतिका बाबजूद अघिल्लो संविधानसभामा धेरै विषयमा सहमति बनेको थियो। तर जनतालाई आवश्यक अधिकार दिन सबै दल तयार देखिएनन्। जनताको सट्टा ढुंगा, माटो, खोलानालालाई केन्द्रविन्दुमा राखेर राज्यपुनर्संरचना गर्नुपर्ने तर्क आए। त्यति भए पनि प्रक्रियामा गएको भए संविधान बन्ने रहेछ।

यो पटकचाहिं संविधान निर्माणका चुनौती के के छन्?

मुद्दाको हिसाबले केही विषयमा सहमति बन्न बाँकी छ। फरक दर्शन र विचार भएका सभासदहरूलाई साझा दस्तावेज बनाउन केही समय लाग्नु अस्वाभाविक होइन। तर, दलहरूले संविधान निर्माणको विषयमा एकजूट भएर चुनौती सामना गर्छन् भन्नेमा म विश्वस्त छु। केही उपाय लागेन भने मतदानको प्रक्रियामा पनि जान सकिन्छ। तर अहिले प्रक्रियाको विषयमा सोच्नु छिटो हुन्छ।

comments powered by Disqus

रमझम