१६-३० असोज २०६९ | 2-16 October 2012

हाम्रो पीडा सुन्ला?

Share:
  
हाम्रो पीडा सुन्ला? 

 

मेरो दाजु जीवित हुनुहुन्छ कि मारिसकियो? मारिएको हो भने चिहान देखाउनु पर्‍यो । 
 
हिमाल (१–१५ असोज) मा प्रकाशित 'द्वन्द्वका घाइतेको नाममा ६७ अर्ब लूट' पढें। म पनि एक द्वन्द्व–पीडित बेपत्ता परिवारको सदस्य हूँ। मेरा दाजु हर्कराज राई जेठ २०५८ मा सोलुखुम्बुस्थित घरबाट काठमाडौं जाँदै गर्दा तत्कालीन नेकपा माओवादी दोलखा जिल्ला इन्चार्ज कृपाश्वर दाहाल नेतृत्वले अपहरण गरी दोलखाको माली गाविस भवनमा मरणासन्न हुने गरी कुटपिट गरेर बेपत्ता बनाएको थियो। थाहा छैन, जीवित हुनुहुन्छ कि उहाँलाई मारिसकियो। मारिएको हो भने चिहान देखाउनु पर्‍यो र द्वन्द्व–पीडितलाई दिने राहत दिनुपर्‍यो। स्थानीय शान्ति समितिमार्फत निवेदन दिए पनि हालसम्म राहत पाएका छैनौं। कतै नक्कली द्वन्द्व पीडितले हाम्रो नामको राहतमा पनि लूट मच्चाइरहेका त छैनन्? 
 चतुरकुमार राई 
छेस्काम–६ सोलुखुम्बु 
 
एमाओवादीले अपाङ्गताका नाममा आफ्ना कार्यकर्तालाई देशको ढुकुटीबाट रकम दिलाएका छन्। तर द्वन्द्वका वास्तविक अपाङ्गता भएका धेरैले केही पाएका छैनन्। गरीबको पक्षमा लडेको भनिएको पार्टीका नेताहरूको यस्तो काम सार्वजनिक गरेकोमा हिमाल लाई धन्यवाद।   
पदम, हिमालखबरबाट  
सजाय हुनैपर्छ   
हिमाल (१–१५ असोज) मा प्रकाशित 'माओवादी मुक्ति' पढेपछि केही लेख्न मन लाग्यो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका अनुयायी अग्नि सापकोटाले एमाओवादीले जातीय नारा बोकेर गम्भीर गल्ती गरेको स्वीकार्दै वर्गीय कुरा अघि बढाउने बताएका छन्। आफैं भन्न अप्ठेरो लागेर प्रवक्तामार्फत अध्यक्ष दाहाल प्रकट भएको बुझन गाह्रो छैन। हजारौंको ज्यान लिने युद्ध आफैंमा क्रान्ति नामको मनोरञ्जन थियो। तपाईंहरूका तर्फबाट यो गम्भीर भूल भएको कुरा ज्यानको बाजी थापेर युद्धमा हिंडेका युवाहरूले समेत स्वीकारिसकेका छन्। भूल स्वीकारेर मात्र भविष्यमा उम्कन पाउनु हुन्न, तपाईंहरू सजायको भागिदार बन्नै पर्छ।  
जनार्दन, हिमालखबर  
 
भ्रममा नपरौं  
(१–१५ असोज) मा नेपाल परिवार दल र दलका अध्यक्ष एवं सहकारी तथा गरीबी निवारण मन्त्री एकनाथ ढकालबारे प्रकाशित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। नेपाल एक घर, सम्पूर्ण नेपाली एउटै परिवार भन्ने मान्यतामा आधारित हाम्रो पार्टीलाई कुनै एउटा धर्म विशेषसँग जोडेर नहेर्न आग्रह गर्दछौं।  
 
समाचारमा उल्लेख गरिए जस्तो परिवार दलको सदस्य बन्नका लागि क्रिश्चियन बन्नैपर्ने भन्ने कुरा हामी सोच्न पनि सक्दैनौं। यसैगरी गोलाप्रथाद्वारा विवाह गराउने भन्नेलगायतका विषयमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छु। हिमाल जस्तो प्रतिष्ठित पत्रिकाले हाम्रोबारे लेख्दा सम्पर्क समेत नगर्नुले समाचार एकपक्षीय देखिन्छ।   
सन्तोष पौडेल 
प्रवक्ता, नेपाल परिवार दल 
 
पूर्वाग्रही लेख   
हिमाल (१–१५ असोज) मा प्रकाशित लिम्बू कि याक्थुङ् शीर्षकको लेखमा डा. रमेशकुमार ढुंगेलले लिम्बू याक्थुङ्बा शब्दको अनर्थ लाग्ने गरी व्याख्या गरेका छन्। समाजलाई तथानाम किसिमले असभ्य भन्नु विज्ञका लागि सुहाउने काम भएन। ढुंगेल लण्डन पुग्नुअघि नै यो पंक्तिकारले त्यहाँको दस्तावेज कोट्याइसकेको थियो। लिम्बू र याक्थुङ्बाबारे देशी–विदेशी विद्वान्हरूले व्याख्या गरिसकेका छन्। लिम्बू याक्थुङ्प्रति लेखकको पूर्वाग्रह देखिन्छ।    
हर्कजङ लिम्बू  
हिमालखबरबाट 
comments powered by Disqus

रमझम