१८-२४ फागुन २०७० | 2-8 March 2014

थाक्यो नेतृत्व

Share:
  
- दिनकर नेपाल
दोस्रो संविधानसभा निर्वाचनले राजनीतिलाई सही ठाउँमा ल्याएको निर्क्योल गरेका आशावादीहरू सय दिनमै निराश भएका छन्।

बिक्रम राई
दलहरूले सबभन्दा पहिला, समानुपातिकतर्फका सभासद चयनमा लोकतान्त्रिक व्यवस्थाकै दोहोलो काढे– जनताको मतलाई बिकाउ वस्तु बनाउँदै। केही धनाढ्यहरू चन्दाले प्रतिनिधित्व किन्न सफल भए भने दलहरूभित्र चरम गुटबन्दी देखियो।

सबै दलका केही युवा नेताको नेतृत्व हस्तान्तरणको आवाज पनि सुन्न पाइयो, जुन सामाजिक सञ्जाल र पत्रपत्रिकाका पानामा क्रमशः बिलाएर गए। दलभित्रैबाट प्रक्रियागत रूपमा नेतृत्व हस्तान्तरणको वातावरण बनाउने ल्याकत कुनै युवा नेतामा देखिएन। केही समयको त्यो हलचल भारतमा चलेको 'केजरीवाल आँधी' को क्षणिक असरमा सीमित रह्यो। समग्रमा, छापा र टेलिभिजनमा केजरीवाल बन्न खोज्ने र दलभित्र कुनै न कुनै गुटको सदस्य हुने दोहोरो चरित्र हावी भयो।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठनको सौदाबाजीको नाटक त झ्नै हास्यास्पद रह्यो। आरोप–प्रत्यारोपको खेलले दलहरूको चरित्रका विषयमा फेरि कुकुरको पुच्छरवाला उखानको सम्झ्ना गरायो। यी संकेतहरूले दोस्रो संविधानसभाको यात्रा पनि एक वर्षभित्र संविधान बन्ने जनअपेक्षा अनुरूप नहुने प्रष्ट पारेका छन्।

जनतालाई विकल्प

मुख्य प्रश्न गुटबन्दी र भ्रष्टाचारमाथि उभिएको राजनीतिक नेतृत्वको हो। राजनीतिमा सबै खराब नियतका साथ प्रवेश गर्छन् भन्नु गलत हुनेछ। त्यसो भए, हाम्रो राजनीति र सामाजिक परिवेश नै त्यस्तो छ, जसले सबैलाई भ्रष्ट बनाउँछ?
भारतीय लेखक चेतन भगतले टाइम्स अफ इन्डिया को आफ्नो स्तम्भमा कंग्रेस, भारतीय जनता पार्टी र आम आदमी पार्टीका रूपमा मतदातासमक्ष रहेका विकल्पबारे भनेका थिए– भ्रष्ट तर काम गर्न सक्नेलाई रोज्ने कि काम गर्नै नसक्ने इमानदारलाई?

दोस्रो संविधानसभा निर्वाचनताका नेपालमा पनि लगभग त्यस्तै अवस्था थियो। पहिलो संविधानसभामा सबभन्दा ठूलो दल भएकोले सबै अपजस बेहोर्नुपर्ने स्थितिमा रहेको माओवादीप्रति सिद्धान्त र व्यवहारमा देखिएको धर्ती–आकाश फरकले चरम वितृष्णा छँदै थियो। प्रजातन्त्र पुनर्स्थापनापछि दलगत स्वार्थ र आन्तरिक गुटबन्दीमा अल्झिएर देशलाई अस्थिरतामा धकेल्ने एमाले र कांग्रेस नै एमाओवादीको विकल्प थिए। चुनावपछि आफ्नो दुर्गुणको पुनर्पुष्टि गर्न लागिपरेकै छन्, उनीहरू।

अहिलेको राजनीतिक परिस्थितिले देखाएको छ– नेपाली समाजमा लोकतान्त्रिक मूल्यमान्यताको स्वाभाविक विकास भएको छैन। हाम्रो सामाजिकता र दलहरूको सोच अझै सामन्ती छ, तर लोकतन्त्र विकसित लोकतान्त्रिक संस्कृतिमा मात्र सफल हुन्छ।

पश्चिमी देशहरूमा शताब्दीयौंको अभ्यासपछि लोकतन्त्र अहिलेको अवस्थामा आएको हो। प्रतिनिधिमूलक संस्था र नागरिक समाजको समानान्तर विकासले त्यहाँको राजनीतिक अभ्यास पारदर्शी बनेको छ। नेपाल जस्ता विभाजित परिस्थिति भएका देशहरूमा भने पश्चिमाले दुई–तीन शताब्दीमा गरेको लोकतान्त्रिक विकास एक दुई–दशकमै गर्नुपर्ने बाध्यता छ।

यस्तै परिस्थितिमा चाहिने हो– नेतृत्व। यस्तै परिस्थितिमा कुशल नेतृत्व पाउँदा जापान, सिंगापुर र दक्षिण कोरिया समृद्ध देश बन्न सकेका हुन्। सन् १९६५ मा सिंगापुर स्वतन्त्र हुँदा यो देश टिक्नै नसक्ने भविष्यवाणी गर्ने धेरै थिए। तर, कुशल नेतृत्वले राष्ट्रलाई कहाँ पुर्‍याउन सक्छ भन्ने कुराको बेजोड उदाहरण बनेको छ, अहिले सिंगापुर।

परिवारवादमा अल्झिएको सत्ता र बुढ्यौलीले थाकेको नेतृत्वबाट यस्तो चमत्कारको आशा राख्नु व्यर्थ हुन्छ। नेपाली राजनीतिको माथिल्लो तहमा विद्यमान यो अक्षमताको मूल्य भविष्यमा देशले चुकाउनुपर्नेछ।

अर्कोेतिर सक्षम–इमानदार युवाहरू राजनीतिबाट विमुख हुने वातावरणले राजनीति अपराधीहरूको कब्जामा जाने खतरा उत्तिकै बलशाली बनिरहेको छ। अहिलेका युवाले यो विषयलाई मनन गरेर आम मतदातालाई विकल्प दिन सके मात्र देश सही बाटोमा अघि बढ्न सक्छ। त्यसैले वैचारिक, सांस्कृतिक र वर्गीय विभेद त्यागेर राजनीतिमा युवाहरू अघि सर्नुपर्ने वेला हो, यो।

comments powered by Disqus

रमझम