१८-२४ फागुन २०७० | 2-8 March 2014

हेलम्बुका हेड सर

Share:
  
- बद्री पौड्याल
हेलम्बु भेगमा 'हेड सर' भनेर चिनिने पूर्णबहादुर गौतम (४८) मेलम्चीघ्याङ माविका प्रधानाध्यापक र सबै थोक हुन्।

बद्री पौड्याल
मेलम्चीघ्याङ मावि पूर्णबहादुर गौतम बिहानको असेम्ब्लीमा।
काभ्रे, पोखरीचौंरी–९ बालुका पूर्णबहादुर गौतम १९ वर्षको उमेरमा राजधानीको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना भएर मंसीर २०४१ मा साथीहरूसँग हेलम्बुतिर घुम्न निस्केका थिए।

“मेलम्चीगाउँ आइपुग्दा हामीलाई देखेर बच्चाहरू पर–पर भागे। कुरा गर्न खोज्दा कसैले नेपाली बुझ्ेनन्”, गौतम सम्झ्न्छन्, “त्यो अवस्था देखेर यहाँ त स्कूल चाहिने रहेछ भन्ने लाग्यो र यतै बस्ने निधो गरें।”

त्यसपछि स्थानीय नाक्पो दोर्जे लामा, दोर्जे लामा लगायतका अभिभावकहरूको सहयोगमा एउटा सानो घर लिएर गौतमले चैतदेखि गाउँका बालबालिका पढाउन शुरू गरे। पञ्चायतकालमा बाहिरबाट आएको एक युवकले स्कूलको स्वीकृति पाउन सहज थिएन। त्यसैले, तार्केघ्याङमा चलिरहेको एउटा विद्यालयको शाखाको रूपमा चलाउन अनुमति मागियो। तार्केघ्याङका तत्कालीन प्रधानपञ्च फिञ्जु लामाले स्वीकृति दिए।

स्कूल घरमै बस्ने गौतम विद्यार्थीलाई पिंढी र आँगनतिर राखेर पढाउँथे। शुरूमा भाषाले धेरै अप्ठ्यारो पार्‍यो। उनी शेर्पा नजान्ने, विद्यार्थीहरू नेपाली नबुझने। “उठ भन्दा सबै 'उठ' नै भनेर कराउँथे, तर उठ्दैनथे”, ती दिन सम्झ्ँदै उनी भन्छन्, “अलि–अलि नेपाली जान्नेहरूलाई भेला गरेर बेलुकी प्रौढ कक्षा चलाएँ र उनीहरूबाटै आफूले पनि शेर्पा भाषा सिकें। त्यसपछि सजिलो हुँदै गयो।”

अहिले पनि हिउँदमा मात्र गाडी चल्ने कच्ची सडक आइपुगेको मेलम्चीगाउँ पुग्न त्यतिवेला मेलम्ची बजारबाट कस्सिएर दुई दिन हिंड्नुपर्थ्यो। त्यस्तो ठाउँमा विद्यालय चलाउन चानचुने समर्पण र हठले पुग्दैनथ्यो। त्यसमाथि, सिभिल इन्जिनियर बन्न हिंडेका गौतम यसरी एउटा दुर्गम गाउँमा स्कूल चलाएर बस्न थालेपछि घरमा बाबुआमा चिन्तित हुने नै भए। तर, उनले यो ठाउँका बालबालिकालाई राम्रो शिक्षा दिने उद्देश्यमा बाधा नपुगोस् भनेर घर माया मारे। आफ्नो योग्यता बढाउन चाहिं प्राइभेट परीक्षा दिने निधो गरे। “यहीं बसी–बसी कानून र शिक्षामा स्नातक तथा समाजशास्त्रमा स्नातकोत्तर पूरा गरें”, उनी भन्छन्।

यसरी ३४ वर्षको हुँदासम्म बिहे समेत नगरी एक्लै बसेका गौतमले २०५७ मा स्थानीय विधवा जाङ्मु ह्योल्मोसँग विवाह गरे। उनी मेलम्चीगाउँमै 'इकोफ्रेण्डली होम एण्ड लज' भन्ने होटल चलाउँछिन्।

नमूना विद्यालय

गौतमको हठ र समर्पणले सिन्धुपाल्चोकको हेलम्बु–६ मेलम्चीगाउँमा खुलेको त्यो स्कूल आज मेलम्चीघ्याङ माविको रूपमा प्रशिद्ध छ। गत एसएलसीमा सिन्धुपाल्चोकका १६० विद्यालयमध्ये शतप्रतिशत विद्यार्थी प्रथम डिभिजनमा उत्तीर्ण गराउने एक मात्र विद्यालय यही भयो। हरेक एसएलसीमा स्कूलको नतीजा प्रायः यस्तै हुने गरेको छ।

नर्सरीदेखि १० कक्षासम्म पढाइ हुने मेलम्चीघ्याङ माविमा २५० विद्यार्थी छन्। तीमध्ये १४० जना जिल्लाका अरू ठाउँ र अन्य जिल्लाका छन्। बाहिरबाट आउन चाहनेहरूको चाप बढेपछि प्रवेश परीक्षा लिने चलन बसाइएको छ। भर्नामा दलित, गरीब र स्थानीयलाई प्राथमिकता दिइन्छ। प्रअ गौतमले लगनशील, प्रतिबद्ध र समुदायका लागि केही गरौं भन्ने भावना भएका युवा शिक्षकहरूको टीम बनाएका छन्। सबै विषय अंग्रेजीमा पढाइन्छ। सात वर्षदेखि विद्यालयमा अंग्रेजी पढाइरहेका इलामका टीका लिम्बूले समयकाल अनुसार अंग्रेजीलाई महत्व दिएजस्तै स्थानीय भाषा, धर्म र संस्कृतिलाई पनि स्थान दिइएको बताए।

विद्यार्थीहरू नेपालीसँगै ह्योल्मो–शेर्पा भाषा पढ्छन्। बिहानको असेम्ब्लीमा राष्ट्रिय गानसँगै विद्यार्थीहरू तिब्बती–बौद्ध धर्मका मन्त्रहरू पाठ गरेर कक्षाभित्र छिर्छन्। साधनसम्पन्न प्रयोगशाला भएको विद्यालयमा पठन–पाठनका लागि किताब, जर्नल लगायतका अध्ययन–अध्यापन सामग्रीको राम्रो संकलन छ। भर्खरै इन्टरनेट पनि आइपुगेको छ।

शहरका कुनै निजी बोर्डिङ स्कूलभन्दा कम नदेखिने मेलम्चीघ्याङ मावि एउटा सामान्य सरकारी स्कूल हो। विद्यालयले सरकारबाट त्यति नै बजेट र सहयोग पाउँछ, जति अरू सरकारी स्कूलले पाउँछन्। यहाँका विद्यार्थीले पढाइ, पाठ्यपुस्तक, छात्रावास आदिका लागि एक पैसा पनि तिर्नुपर्दैन। छात्रावासमा बस्नेहरूले खानाको मासिक सरदर रु.१५०० तिर्छन्।

सरकारी दरबन्दीका शिक्षक नौ जना छन्। बेल्जियम र बेलायतका केही सहयोगीले थप ६ जना शिक्षक राख्न मद्दत गरेका छन्। लाङटाङ–हेलम्बु पदयात्रा मार्गमा पर्ने भएकोले वेलाबखत विदेशीहरू हेर्न आउँछन् र तिनका माध्यमबाट पनि सहयोग जुट्छ। बेलायतस्थित कम्युनिटी एक्सन, नेपाल भन्ने संस्थाले केही भवन र स्वास्थ्यचौकी बनाइदिएको छ।

प्रधानाध्यापक गौतम अहिले विद्यालयले शुरू गर्न लागेको ११–१२ कक्षाका लागि थप भवन र शिक्षकको व्यवस्था कसरी गर्ने भन्ने चिन्तामा छन्। “यो स्कूल सिध्याउने सबै विद्यार्थी काठमाडौं गएर पढ्न सक्ने अवस्थाका छैनन्”, गौतम भन्छन्, “उनीहरूले बीचैमा पढाइ नछोडुन् भनेर उच्चमाध्यमिक तह संचालन गर्नु जरूरी भएको छ।”

comments powered by Disqus

रमझम