१८-२४ फागुन २०७० | 2-8 March 2014

नैतिकताको सेवा

Share:
  
- डा. सुशील कोइराला
बिरामीको हित र चिकित्सकप्रतिको सामाजिक समर्थन वृद्धिमा 'चेतनामा आधारित चिकित्सा अभ्यास' फलदायी हुनेछ।

२०४६ सालको राजनीतिक परिवर्तनले ल्याएको खुलापनको एउटा परिणाम हो– नेपालको चिकित्सा सेवा क्षेत्रको विस्तार पनि। त्यसयता चिकित्सा क्षेत्रमा निजी र गैर–सरकारी लगानी हुन थालेपछि अस्पताल, मेडिकल कलेज, नर्सिङ होम र डाइग्नोस्टिक केन्द्रहरूको वृद्धिबाट स्वास्थ्य सेवा धेरै सहज भएको छ। सेवा प्रदायकहरूको संख्यात्मक वृद्धिसँगै उनीहरूको गुणस्तर र शुल्क निर्धारणमा सरकारी निकायहरूको प्रभावकारी अनुगमन नहुँदा स्वास्थ्य सेवा अनैतिक रूपमा नाफामुखी हुँदै गएको आरोपहरू पनि लाग्न थालेको छ।

चिकित्सा पेशाको नैतिक र मानवीय पक्षबारे संसारभरि बहस हुने गरेको छ। विकसित मुलुकहरूले नैतिकता र मानवतालाई स्वास्थ्य सेवाको व्यावसायिक 'बानी' बनाउन विशेष संहिता, नियम–कानून र दण्डको व्यवस्था गरिरहेका छन्। तर, चिकित्सा सेवामा नैतिकता र मानवताको खोजी गर्नेहरूको अध्ययन–अनुसन्धानले कानूनले मात्र यो पेशामा नैतिकता ल्याउन नसक्ने देखाएका छन्। विकसित मुलुकहरूमा पनि चिकित्सकहरूले कानून छलेर आवश्यकताभन्दा बढी परीक्षण वा उपचार गराई बिरामीको शोषण गरेको घटना पाइएका छन्।

व्यक्ति स्वयंको चेतना नखुली नैतिकता र मानवताको पालना नहुने यसले देखाउँछ। नत्र, स्वास्थ्य सेवा निःशुल्क भएका विकसित मुलुकहरूमा उपचार महँगो हुँदै गएको गुनासो सुनिने थिएन। नियमको पालना गर्ने र मुद्दा मामिलाबाट बच्ने बहानामा पनि सेवा शुल्क महँगो हुने गरेको छ।

नेपालको कुरा

तुलनात्मक रूपमा नेपालको स्वास्थ्य उपचार संसारकै सस्तोभित्र पर्छ। दक्षिण एशियाका अरू मुलुकको तुलनामा चिकित्सक विरुद्ध नगन्य मुद्दा पर्ने गरेकोले नेपालमा बिरामी–चिकित्सक सम्बन्ध पनि राम्रो देखिन्छ। बिरामी–चिकित्सक सम्बन्ध सुमधुर हुनु आफैंमा महत्वपूर्ण कुरा हो। तर, विगत केही वर्षदेखि नेपालमा बिरामीहरूको असन्तुष्टि बढ्दै गएको छ।

नेपालको स्वास्थ्य क्षेत्र बिग्रनुमा सबैले राजनीतिक हस्तक्षेपलाई दोष दिने गरेका छन्, तर त्यस्तो हुन नदिन स्वयम् चिकित्सकहरूले कति भूमिका खेलेका छन् भन्ने विषयमा विचार गरिएको छैन। उपचारमा भौतिक सुविधा, चुस्त व्यवस्थापन र उपकरणहरू अवश्य महत्वपूर्ण हुन्छन्, तर बिरामीका निम्ति डाक्टरको व्यवहारले योभन्दा बढी महत्व राख्छ। तर, नेपाली चिकित्सकहरूमा यस्तो व्यावहारिक गुणको कमी रहेको आम गुनासो छ।

निजी स्वास्थ्य क्षेत्रमा २१ वर्ष बिताएको मैले विभिन्न मुलुकमा चिकित्सा प्रविधि, पद्धति र आदर्श सिकाउँदा जानेको एउटा कुरा के भने, संसारभरका बिरामी चिकित्सकबाट मानवीय व्यवहारको अपेक्षा गर्छन्। अर्थात् भौतिक सुविधा र वैज्ञानिक पद्धतिले मात्र चिकित्सा पेशालाई पूर्ण बनाउँदैन, बरु पेशाप्रति इमान्दारी र व्यवहारमा मानवता चाहिन्छ।

'प्राक्टिस म्यानेजमेन्ट' अन्तर्गत 'चेतनामा आधारित चिकित्सा अभ्यास' सिकाउँदा विदेशका मेडिकल विद्यार्थी, तिनका गुरु र मलाई आमन्त्रण गर्ने संघ–संस्थाले निकै रुचाएको पाएँ। यो अभ्यासलाई नेपालमा पनि लागू गर्नसके सकारात्मक सुधार आउँला भन्ने आशाले केही महीना अगाडि अग्रज चिकित्सकहरूसँग सल्लाह गर्दा उहाँहरूको ऐक्यबद्धतापूर्ण हौसला पाएकाले त्यसबारे केही कुरा राख्दैछु।

चेतनामा आधारित चिकित्सा

कुनै पनि चिकित्सकको चिकित्सा अभ्यास उनले पढेको विषय, विश्वविद्यालय, तालिम पाएको संस्था, अस्पताल अनि आदर्श मानेका गुरु वा सिनियरहरूको प्रभावबाट निर्देशित हुन्छ भने चिकित्सकीय अभ्यासमा मूलतः चार प्रमुख स्तम्भ हुन्छन्– उपचार लिने व्यक्ति, उपचारकर्ता, उपचारको पद्धति र उपचारमा प्रयोग गरिने प्रविधि। यी चार स्तम्भलाई 'चेतनामा आधारित चिकित्सा अभ्यास' मा उतार्न थालेपछि चिकित्सकलाई आफ्नो पेशा, सेवा र व्यवसायबाट अलौकिक 'आनन्द' प्राप्त हुन्छ।

प्रथम स्तम्भ–सम्पूर्ण उपचारः आधुनिक चिकित्सा विज्ञानको विकाससँगै उपचारको तरिका विस्तारै खण्डित हुँदै गयो। एउटै बिरामीलाई रोगको प्रकृति अनुसार विभिन्न चिकित्सकले आ–आफ्नो विषय अनुसार जाँच्ने, औषधि दिने र उपचार गर्ने चलनले परीक्षणबाट प्राप्त 'नतिजा' लाई बढी ध्यान दिन थाल्यो। यसरी बिरामीको मन, व्यवहार र वातावरण गौण हुँदै गयो। तर, बिरामीको जीवनशैली, तनाव र आर्थिक–सामाजिक परिवेशको पूर्ण जानकारी लिएर व्यवहारिक उपचार गर्न सकियो भने मात्र उसले चाहना अनुसारको उपचार पाउँछ। यस्तो उपचारलाई हामी 'सम्पूर्ण उपचार' वा 'हलिस्टिक केयर' भन्छौं। आयुर्वेदमा 'सम्पूर्ण उपचार' लाई मह140व दिएको पाइन्छ। अहिले पश्चिमा देशहरूमा पनि सम्पूर्ण उपचारको चर्चा हुन थालेको छ, जसलाई उनीहरू 'कम्पि्रहेन्सिभ केयर' भन्छन्।

द्वितीय स्तम्भ–असल चिकित्सकः उपचारको क्रममा सबभन्दा ठूलो जिम्मेवारी चिकित्सकमा हुन्छ। रोगको अनुसन्धान कसरी गर्ने, कुन विधि वा प्रविधि अपनाउने भन्ने निर्णय चिकित्सकले लिने भएकोले अन्य स्वास्थ्यकर्मीहरू उनैको निर्देशन र सल्लाहमा परिचालित हुन्छन्। त्यसैले हरेक चिकित्सक आफ्नो विषयमा पूर्ण ज्ञान भएको, सीपमा निपुण, इमान्दार र मानवतावादी हुनुपर्छ। चिकित्सकले डिग्री हासिल गरेर मात्र पुग्दैन, विषयगत ज्ञानलाई ताजा पनि राख्नुपर्छ। चिकित्सा विज्ञान अति छिटो विकास भइरहेको विषय भएकोले चिकित्सकले आफूलाई एकदमै 'अप–डेट' राख्नुपर्छ।

यसैगरी, सानो अज्ञानता वा गल्तीले पनि बिरामीको जीवनमाथि खेलबाड हुन पुग्ने भएकोले चिकित्सा पेशामा शल्यक्रिया वा उपचारसँग सम्बन्धित उपकरणहरू चलाउन निपुण हुनुपर्छ। चिकित्सकहरूलाई आवधिक तालिमको नितान्त जरूरी हुन्छ। हरेक पेशामा इमान्दारी चाहिन्छ नै, तर चिकित्सामा यसको महत्व अझ् बढ्छ– बिरामीले पूर्ण विश्वास गरी आफ्नो शरीर जिम्मा दिने हुनाले।

चिकित्सकले व्यवसायिक इमान्दारी नदेखाउनु भनेको बिरामीको ज्यानको जोखिम बढ्नु हो। इमान्दारी विनाको चिकित्साले क्रूरतासँगै भ्रष्टाचार निम्त्याउँछ। चिकित्सा पेशामा इमान्दारी पछि मानवताको दरकार पर्छ, जुन हामीकहाँ हराउँदै गएको गुनासा सुन्न थालिएको छ। मानवता विनाको चिकित्सक र ममताहीन आमालाई एउटै मानिन्छ।

तृतीय स्तम्भ–सही पद्धतिः उपचारमा सही पद्धति अपनाउनु आधुनिक चिकित्सा विज्ञानको प्रमुख गुण हो। वैज्ञानिक अनुसन्धानबाट प्रमाणित, अनुभवबाट खारिएको र विवेकको प्रयोग आधुनिक चिकित्सा पद्धतिको मूल मन्त्र हो। चिकित्सकहरूले पढे/जानेको उपचार पद्धति प्रयोगमा ल्याउँछन्, तर त्यो उपचार पद्धति कत्तिको विज्ञान सम्मत छ? योभन्दा अर्को पद्धति बिरामीका लागि लाभप्रद, सस्तो र सजिलो छैन? जस्ता प्रश्नमा हरेक चिकित्सक चनाखो हुनुपर्छ। राष्ट्रिय स्वास्थ्य मापदण्ड र उपचार पद्धतिको स्तर निर्धारण नभइसकेको नेपालका चिकित्सकहरू त यो प्रश्नमा अझ् बढी चनाखो हुनुपर्छ।

विकसित मुलुकहरूमा प्रयोग भएको उपचार पद्धति हुबहु लागू गर्दा महँगो भएर हाम्रो परिस्थिति अनुकूल नहुन सक्छ। आफ्नो अनुभव र विवेकको प्रयोगबाट सही चिकित्सा पद्धति अपनाउनु असल चिकित्सकको खुबी हो।

चतुर्थ स्तम्भ–सुहाउँदो प्रविधिः आधुनिक चिकित्सा विज्ञानमा प्रविधिको अहम् भूमिका छ। तर, तीव्र गतिमा विकास भएको प्रविधिले बिरामीहरूमा आशा जगाए पनि उपचार महँगो बनाएको छ। प्रविधिको विकाससँगै भएको व्यवसायीकरणका कारण चिकित्सा सेवा महँगो भएको हो। साधारण प्रविधिबाट हुने उपचारमा अत्याधुनिक प्रविधिको नाम दिई पैसा असुल्ने कार्य संसारभर नै हुने गरेको छ। विवेकहीन चिकित्सक र व्यावसायिक क्षेत्रले अस्पतालमा नयाँ प्रविधिको सुरुआतको नाममा पनि बढी असुल्ने गरेका छन्। त्यसैले एउटा असल चिकित्सकले आफ्ना बिरामीहरूको उपचारमा प्रविधिको प्रयोग गर्दा त्यो आर्थिक दृष्टिकोणले लाभदायक छ, छैन भनेर हेर्नुपर्छ।

यी चार स्तम्भको अनुसरणका साथ उपचार गर्ने 'बानी' बसाउँदा 'चेतनामा आधारित चिकित्सा अभ्यास' हुन्छ। आर्थिक पक्षमा आधारित चिकित्सा गरिरहनुभएका मित्रहरूलाई चेतनामा आधारित चिकित्सा अभ्यास शुरूमा कठिन हुन सक्छ, तर आन्तरिक इच्छा हुने हो भने यो गाह्रो काम होइन।

comments powered by Disqus

रमझम