१८-२४ फागुन २०७० | 2-8 March 2014

दृष्टिविहीनको कथा

Share:
  

ह्वाइट केन

विधाः उपन्यास

लेखकः मनिषा गौचन

प्रकाशकः साङ्ग्रिला बुक्स

मूल्यः रु.३७५,

पृष्ठः ३१०+६

'ह्वाइट केन' अर्थात् सेतो छडी। दृष्टिविहीनहरुको हिंडडुलको आधार। मनिषा गौचनको नवीनतम उपन्यासको शीर्षकबाटै पाठकले यसको कथाको भावभूमि अनुमान गर्न सक्छन्। ५१ भागको उपन्यासको नायक भास्वत् दृष्टिविहीन छ। उसलाई सानो छँदा स्नेह गरेर जीवनमा आफ्नै खुट्टामा उभिन प्रेरणा दिने विदेशी नागरिक मार्जरी हुन्। मार्जरी आफ्नो देश फर्केपछि भास्वत्को दुर्दिन शुरु हुन्छ, तर ऊ प्रतिभा र लगनशीलताले क्रमशः सफल बन्दै जान्छ।

'ह्वाइट केन' मा मूलपात्र भास्वत्को जीवनवृत्त सँगै लेस्वियनको कथा छ, एउटी उपन्यासकारको हत्यासम्मको घटना छ। यसमा क्याबिन गर्ल, यौन स्वतन्त्रताका पक्षधर नारी र माओवादी सशस्त्र द्वन्द्वको झिल्को पनि उतारिएको छ। कामको पारिश्रमिक नपाउने पत्रकारको विदेश पलायन र निर्दयी शहरको कथा पनि उपन्यासमा उनिएको छ। तर ती सहायक कथाका रुपमा अगाडि आएका छन्, जसले पाठकलाई केहीबेर फरक परिदृश्यमा लैजान्छन्।

कविता मार्फत साहित्यमा आएकी लेखक हुन् मनिषा। त्यसैले उनको उपन्यासको भाषा काव्यिक छ। वाक्यगठन र हिज्जेगत त्रुटि खोतल्नुको कुनै तुक छैन। उपन्यास गतिशील छ। सरलता र स्पष्टताका कारण बुझ्नका निम्ति कष्ट गरिरहनुपर्दैन। दृष्टिविहीनका मनोभावलाई बुझ्ोर उपन्यास लेख्नु पक्कै पनि सजिलो छैन। उपन्यासकारले आँखा नदेख्ने पुरुषको मन बुझ्ने प्रयास गरेकी छन्। उपन्यास लेख्नकै निम्ति मनिषाले भास्वत्सँग मित्रता गरेकी छन्। तर त्यो मित्रताको अवधि अलि लामो हुनसकेको भए उपन्यास अझ्ौ रोचक हुनसक्थ्यो। मनिषाले अघिल्लो उपन्यास 'वल्लीको डायरी' मा पुरुष वेश्यावृत्तिबारे खोतलेकी थिइन्।

यो उपन्यासले दृष्टिविहीनहरु कसरी आफ्नो खुट्टामा उभिन सक्छन्? तिनका लागि सहज जीवनयापनका आधार के–के हुनसक्छन्? समाजमा तिनलाई कसरी स्थापित र प्रतिष्ठित बनाउन सकिन्छ भन्ने जस्ता प्रश्नको उत्तर दिंदैन। मूलपात्र भास्वत् कुनै आदर्श वा नैतिकवान पात्रका रुपमा प्रस्तुत छैन। उसले सुलभा, सीमा, जुनो, दिया तथा बामोली नामका पात्रहरुसँग प्रेम गर्छ र तीमध्ये अधिकांशसँग यौनसम्पर्कका लागि लालायित हुन्छ। कुनै एक कार्यक्रममा भाग लिन नेपालगञ्ज जाँदा भेट भएकी दियाबाट त छोरी नै जन्मिन्छिन्। भास्वत् एक ठाउँमा भन्छ, “यौवनमा मस्त म एक पुरुष। मन चुलबुलिन थाल्यो। शरीरमा केही हलचल भएको महसूस भयो। भित्तामा बजारिएको दुखाइ पनि बिर्सिएँ।”

भास्वत् महिलाप्रति सहानुभूतिशील पनि छ। भन्छ, 'के बलात्कारको शिकार महिला मात्र हुन्छन्? पुरुष मात्रै यौनको प्यासमा यतिविघ्न तिर्खाउँछन्? त्यसरी झ्ाम्टेर महिलाको शरीर चुस्न, महिलाको अस्तित्व लुट्न पुरुष मन किन सधैं हतार हुन्छ?' यस्तो विचार राख्ने भास्वत् कयौं पटक स्त्रीलम्पट बनेको देख्दा भने खल्लो महसूस हुन्छ। बामोली नामकी आफ्नी बालसखाको अनुहार आगोले पोलेर विरुप भएकाले भास्वत् उनीसँगको मित्रतामा जोड दिंदैन। यो घटनाले मूलपात्र भास्वत्प्रतिको पाठकको करुणाको मात्रा घटाइदिन्छ।

मूलपात्र दृष्टिविहीन हुँदैमा उसका यौनाकाङ्क्षा प्रस्तुत हुनुहुँदैन भन्ने होइन, तर कतिपय ठाउँमा दृष्टिविहीनको सट्टा उपन्यासकार आफैं उपस्थित भइदिनाले विश्वसनीयता केही कमजोर हुन पुगेको छ। जस्तै, 'ठूलो गाडी हर्न बजाउँदै बाक्लो धूवाँ, धूलो छाडेर पुल्चोकतिर हुँइकियो', 'सोचें, उनी रानीपोखरी र त्यसमाथिको हाँसलाई नियाल्दै थिइन्।' साथै, उपन्यासमा ह्वाइट केनका जन्मदाता जेम्स विड्स भनेर लेखिएको छ, तर जेम्स बिग्स हो उनको नाम। समग्रमा यो उपन्यासमा मनिषाले स्त्री–पुरुषबीचको जटिल सम्बन्धलाई केलाउने प्रयत्न गरेकी छन्। र, दृष्टिविहीनका पनि विविध आवश्यकता तथा तृष्णा हुन्छन्, उनीहरु त्यसलाई पूरा गर्न सक्छन् भन्ने सन्देश उपन्यासले दिएको छ।

राजेन्द्र पराजुली

comments powered by Disqus

रमझम