यही क्रममा बिहारमा 'लिटरेचर फेस्टिभल' ले पनि निकै महत्व पाएको छ। राजस्थानको जयपुर शहरले थालेको 'लिटरेचर फेस्टिभल' जस्तै आयोजना बिहारको गैरसरकारी संस्था 'नवरस' ले थालेकोमा यस वर्षदेखि राज्यसरकार अगाडि सरेको छ। २–४ फागुनमा पटनामा भएको दोस्रो वर्षको आयोजनामा मुख्यमन्त्री नीतिशकुमारले जयपुरको कार्बनकपी भन्दा पनि मौलिक बनाउन यसलाई 'साहित्य उत्सव' भन्ने कुरामा निकै जोड दिए। यस्ता उत्सवमा अंग्रेजीलाई भन्दा स्थानीय भाषाहरूलाई मुखरित हुने मौका दिनुपर्ने बताउँदै उनले भने, “अंग्रेजी से परहेज नही, देशज से गुरेज नही।”
काव्यपाठ र विमर्शलाई महत्व दिइएको साहित्य उत्सवमा हिन्दी, मैथिली, भोजपुरी, अंगिका, वज्जिका र उर्दूका सत्रहरू थिए। हिन्दी चलचित्रको रचनात्मक पक्षमाथि पनि संवाद गरिएको थियो। समाज, मिडिया, सुशासन लगायतका विषयले पटना महोत्सवलाई जयपुरभन्दा पृथक् बनायो। सम्मेलनमा अरू भारतीय राज्यका लेखक, पत्रकार, बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो। हिन्दीका फणिश्वरनाथ रेणु र नेपाल–भारत सीमाञ्चलका कथ्यहरूमाथि छुट्टै सत्र राखिएको थियो। भारतीय पत्रकार रुचिरा गुप्ता सहजकर्ता र यो पंक्तिकार वक्ता रहेको सत्र नेपालमय भयो। बलिउडका गीतकार गुलजार र अंग्रेजी लेखक विक्रम सेठको सत्रहरूमा युवा सहभागिता बढी देखियो। दूरदराजका देहाती लोक कविहरूको जमघट पटना साहित्य उत्सवको विशेषता थियो।
जयपुरमा नेपाली सहभागिता र काठमाडौंमा चर्चा दुवै हुन्छ, तर पटना नजिक भएर पनि नेपाली सहभागिता कम थियो। पटना साहित्य उत्सवको नेपाली सिकाइ भनेको यस्ता प्रयत्नमा सरकार नै अग्रसर हुनुपर्छ र स्थानीय भाषालाई अधिक महत्व दिनुपर्छ भन्ने हो।
चन्द्रकिशोर