१८-२४ फागुन २०७० | 2-8 March 2014

परिवर्तनका प्रयोक्ता

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
सरकारी सेवामा रहँदा स्थानीय विकासका महत्वपूर्ण खाका कोरेका मानवशास्त्री बिहारीकृष्ण अवकाशपछि समाजसेवामा समर्पित छन्।

बिक्रम राई
बिहारीकृष्णले नेवारी परम्परा अनुसार ७७ वर्ष सात महीना सात दिनमा गरिने जन्कोलाई १७ फागुनमा सांकेतिक रूपमा मनाउँदै भोजभतेरमा खर्च नगरी रु.१० लाख जेष्ठ नागरिकहरूको संस्था एजिङ होमलाई दिए। तीन वर्षअघि पनि उनले एक संस्थालाई रु. ५० लाख दान दिएका थिए।

“मेरा दौंतरीहरूले जन्को भोजमा रु.७/८ लाख खर्चेको देखेको छु” १७ फागुनमा ललितपुर, पाटनढोकाको यलमाया केन्द्रमा एजिङ नेपाललाई रकम हस्तान्तरण गरेका बिहारीकृष्ण भन्छन्, “मैले चाहिं जेष्ठ नागरिकहरूको सशक्तीकरण र अधिकारका लागि कोष खडा गर्न खर्चिएँ।”

पूरै जीवन ग्रामीण विकासको क्षेत्रमा काम गर्दा नेपाली कुनाकन्दराका जेष्ठ नागरिकहरूको दुःख देखेकाले सानो योगदान गर्न मन लागेको उनले बताए। आफूले गरेको सांकेतिक जन्को देखेर अरूमा पनि यस्तै सेवाभाव जागोस् भन्ने उनको चाहना छ।

तीन वर्षअघि २० माघ २०६७ मा पनि उनले सोसल साइन्स वहाःलाई अक्षय कोष स्थापनाका लागि एकमुष्ट रु.५० लाख दिएका हुन्। कोषबाट नेपालको जातीय संरचना, भाषा–संस्कृति, परम्परा, विकास आदिका इथ्नोग्राफिक अध्येताहरूलाई फेलोसीप प्रदान गरिंदै आएको छ। श्रेष्ठलाई समाजसेवाको काममा श्रीमती डा. हिरामनः प्रधानले पनि साथ दिंदै आएकी छिन्।

कृतज्ञ विद्वान

बिहारीकृष्णलाई नजिकबाट चिन्नेहरू उनको सेवाभाव, अध्ययन र बौद्धिकताबाट प्रभावित छन्। उनीहरूका अनुसार, नेपालमा समुदायमा आधारित विकेन्द्रीकरण तथा आमा समूह र वन उपभोक्ता समूह स्थापनामा उनले खेलेको भूमिकाको जति प्रशंसा गरे पनि कमै हुन्छ। २१ वर्षअघि उनले आरुनी छोरी सत्याको बिहेको निम्तोपत्रमै 'मेरी छोरीलाई कुनै दाइजो उपहार दिनुपर्दैन' भनेर समाजमा परिवर्तनको बिगुल फुकेका थिए। त्यतिवेला उनले 'केही दिने मन भए नगद देऊ' भन्दै जुम्लाको हाडसिंजा–बोतान कृतज्ञता कोषको ब्याङ्क खातामा रकम जम्मा गराएका थिए। यसरी उनले छोरीको बिहेमा हाडसिंजा र बोतानको विकासको लागि दाइजोको रु.१ लाख, आफूले रु.१ लाख र निम्तालुहरुबाट जम्मा भएको रु.१ लाख ११ हजार उपलब्ध गराएका थिए।

जुम्ला–बिहारीकृष्ण सम्बन्धको कथा पनि रोचक छ। २०२६ सालमा स्थानीय विकास विभागको शाखा अधिकृत भएर संस्कृतिविद् सत्यमोहन जोशीको नेतृत्वमा जातीय संरचनाको अध्ययन गर्न उनी हाडसिंजा पुगेका थिए। त्यसवेला उनले त्यहाँ ब्राह्मण र ठकुरीलाई उपल्लो वर्गका ठालु तथा कामी, दमाई र सार्कीलाई सेवकको रूपमा लिएको पाए। उनले अध्ययन गरेका २१ घरमध्ये ८ घर कथित 'तल्लो जात' का थिए। जमीनमा ठालुहरूको सरदर ८० प्रतिशत र दलितहरूको २० प्रतिशत स्वामित्व थियो। “सामाजिक–राजनीतिक विभेदबाट सिर्जित यस्तो आर्थिक खाडल देखेर म मर्माहत भएको थिएँ”, उनी भन्छन्, “त्यहाँका गरीब यति गरीब थिए कि त्योभन्दा गरीब भएर मान्छे बाँच्नै सक्दैन।”

हाडसिंजाको राम्रो पक्ष, त्यहाँ उनले समानता र समावेशीपनको सफल नमूनाको रूपमा परम्परादेखि चलेको जचौरी कुलोप्रथा पनि भेटेका थिए। २०० वर्षअघि बनेको परम्परागत कुलो हाडसिंजालीहरूले मिलेर जोगाएका थिए। पछि २०३२ सालमा जचौरी कुलोकै आधारमा उनले उपभोक्ता समूह/समितिको अवधारणा विकास गरे, जुन २०३९ मा विकेन्द्रीकरण ऐन लेख्दा समेटेका थिए।

पहिलो अध्ययन गरेको २० वर्षमा बिहारी फेरि हाडसिंजा पुगे, पेरिस विश्वविद्यालयमा मानवशास्त्रमा स्नातकोत्तर गरिरहेकी छोरी सत्यालाई लिएर। त्यो २० वर्षमा उनको जीवनमा धेरै ठूलो परिवर्तन भइसकेको थियो। यो पटक पहिलेका एक साधारण शाखा अधिकृत बिहारी अहिले प्रभावशाली अतिरिक्त सचिव भइसकेका थिए। पहिले उनको समूहले गरेको अध्ययनबाट तयार भएको 'कर्णाली लोक संस्कृति' नामक ग्रन्थले पनि २०२८ सालको मदन पुरस्कार जितेको थियो। तर गाउँका पहिलेदेखिका धनी परिवार बढ्दो ब्याजले झ्ान् धनी र बाँकी झ्ान् धेरै गरीब भएको उनले देखे। “तर, त्यो २० वर्षमा हाडसिंजाका धनीहरू गरीबको खुट्किला चढेर थप सम्पन्न भएका रहेछन्”, बिहारी सम्झ्ान्छन्, “तिनकै खुट्किला चढेर लेखेको पुस्तकबाट नम्बर पाएर मेरो पनि खुरुखुरु बढुवा भएको थियो।”

त्यसवेला राजधानीबाट आएका सरकारका अतिरिक्त सचिव समक्ष हाडसिंजा र छिमेकी बोतानवासीले आफूहरूले भोग्नु परेको दयनीय अवस्थाको बेलीविस्तार लगाए। उनलाई ग्लानि भयो। व्यक्तिगत रूपमा आफू र काठमाडौं केन्द्रले हाडसिंजा जस्तो ठाउँका नेपालीलाई यतिका वर्ष केही नदिएको महसूस भयो। राजधानी र स्थानीय 'ठालु' हरूको समृद्धिमा ती गरीब नेपालीको लगानी रहेको आत्मज्ञानसँगै गहिरो अपराधबोध गरे बिहारीले। त्यसैको परिणाम थियो, हाडसिंजा–बोतान कृतज्ञता कोष। पछि कोषको रु.५ लाखबाट हाडसिंजाका ४६ घरलाई खानेपानी उपलब्ध गराइएको छ भने बोतानमा महिला छात्रावास बनाइएको छ।

सफल प्रशासक

२०१५ सालमा सामाजिक शिक्षा अधिकृतका रूपमा सरकारी जागीर शुरू गरेका बिहारीकृष्णले २०४८ मा अतिरिक्त सचिवबाट अवकाश पाए। आफ्नो कार्यकालमा देश र समाजका लागि अमिट छाप छाड्ने थोरैमध्येका सरकारी कर्मचारीमा पर्छन्, उनी। उनले स्थानीय विकास, राष्ट्रिय योजना आयोग, अर्थ, स्वास्थ्य र आवास मन्त्रालयदेखि तत्कालीन राजदरबारको जाँचबुझ केन्द्रसम्ममा प्रभावकारी भूमिका खेले। उनी भन्छन्, “जाँचबुझ केन्द्रमा रहँदा राजा वीरेन्द्रको विकासे भाषणहरूको ड्रारुट गर्दा विकेन्द्रीकरणका मुद्दा टुटेनन्।”

उनले स्थानीय विकास मन्त्रालयमा हुँदा विकेन्द्रीकरण ऐन लेखे, स्वास्थ्यमा रहँदा देशका सबै गाविसका वडासम्म आमा समूह गठन गरी तिनको मातहतमा महिला स्वास्थ्य स्वयम् सेविका राख्ने अवधारणा ल्याए। आज देशका ३६ हजार गाविसमा ५२ हजार आमा समूह र ५२ हजार स्वास्थ्य स्वयम् सेविकाले समाजमा ठूलो योगदान गरिरहेको देख्दा गर्व लाग्ने उनी बताउँछन्। योजना आयोगमा हुँदा समुदायमा हस्तान्तरण नगरी वन जोगिंदैन भनेर वन उपभोक्ता समूहको बीजारोपण गर्दै उनी त्यो अवधारणालाई सरकारी गजेटमा पार्न सफल भएका थिए। “सामुदायिक वनको सफलताले पनि मलाई ठूलो सन्तुष्टि दियो”, बिहारीकृष्ण भन्छन्।

सरकारी सेवामा चार दशक बिताएका उनी ७७ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन्। अमेरिकाबाट मानवशास्त्रमा स्नातकोत्तर उनी गभर्नेन्स, इन्स्टिच्युसन बिल्डिङ, फरेष्ट्री, माइक्रो फाइनान्स लगायतको क्षेत्रका विज्ञका रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाका परामर्शदाताका रूपमा अझ्ौ पनि व्यस्त छन्।

comments powered by Disqus

रमझम