नकआउट प्रतियोगितामा अब्बल देखिएको मनाङ अन्तिम खेल खेल्नुअघि नै ३५ अंक जोडेर बाजी मार्न सफल भएको थियो। मनाङपछि सर्वाधिक अंक जोडेको एनएमबी ब्याङ्क मछिन्द्र क्लबले रु.४५ लाख पुरस्कार पायो। सुपर लिगमा सबै खेल जितेर ३४ अंक जोडेको मछिन्द्रको यो अहिलेसम्मकै ठूलो उपलब्धि हो। साविक विजेता लक्ष्मी ब्याङ्क थ्रीस्टार तेस्रो, पुलिस चौथो, संकटा पाँचौं र सशस्त्र प्रहरी बल (एपीएफ) छैटौं स्थानमा रहे।
अर्को विभागीय क्लब नेपाल आर्मी भने सुपर लिगमा पुग्नै सकेन। विभागीय टोली भन्दा क्लबहरू बलियो हुनुलाई विश्लेषकहरू फूटबल व्यावसायिक बन्दै गएको संकेत मान्छन्। त्यति मात्रै होइन, दर्शक अब मनाङ र थ्रीस्टार जस्ता स्थापित क्लबहरूमा मात्र सीमित रहेनन्। यो पटक मछिन्द्रले समेत क्लबको जर्सी वितरण गर्यो– दर्शकलाई। विश्लेषक संजीव मिश्र भन्छन्, “क्लबहरूको समर्थक बढ्नु फूटबल विकासका लागि सकारात्मक पक्ष हो।”
राष्ट्रिय टीमका पूर्व कप्तान हरि खड्का बलिया र कमजोर भनिएका टीमहरूबीचको अंकमा ठूलो अन्तर नदेखिनु र उपाधिमा एउटै क्लबको वर्चस्व नहुनुले पनि लिगलाई प्रतिस्पर्धात्मक बनाएको बताउँछन्। स्टारै–स्टारले भरिएको टीम भन्दा कम चर्चित क्लब अगाडि आउँदा राम्रा खेलाडीहरूलाई पनि थप मिहिनेतका लागि दबाब पर्ने खड्काको अनुभव छ। हुन पनि, राष्ट्रिय टीमका लागि अहिलेसम्म कुनै क्याप जित्न नसकेका कर्ण लिम्बू (२७) ले यस पटक सर्वाधिक ११ गोलको चमत्कार देखाए।
संकटाका प्रशिक्षक राजुकाजी शाक्य खेलाडीहरूको पारिश्रमिक, क्लबको लगानी, समर्थकको वृद्धि आदिलाई व्यावसायिकताको सूचकको रूपमा लिनुपर्ने बताउँछन्। तर अहिलेकै लिगको सन्दर्भमा पनि सुधार गर्नुपर्ने पक्ष धेरै छन्। जस्तो, १३ टीम सहभागी लिग पाँच रेफ्री र सात सहायक रेफ्रीको भरमा सम्पन्न गरियो। १५ पुसदेखि १७ फागुनसम्म चलेको लिगमा उनीहरूले कुल ९३ खेल खेलाए।
फूटबल विकासका लागि लिगलाई लामो समय खेलाउनुपर्ने मान्यता छ। छोटो अवधिमा धेरै खेल्नु पर्दा खेलाडीले क्षमता अनुसार प्रदर्शन गर्न नसक्ने पूर्व कप्तान खड्का बताउँछन्। रेफ्रीको भूमिका विवादित हुनुमा पनि एउटैले धेरै खेल खेलाउनुलाई कारक मानिन्छ। यो लिगमा मनाङका नवीन न्यौपानेलाई प्रतिबन्ध लगाउने निर्णय पनि विवादरहित बन्न सकेन।
दुई वर्षअघि पुरस्कार राशी तीन गुणा बढाएर रु.७५ लाख पुर्याइए पनि लिगका लागि क्लबहरूले अझ्ौ पर्याप्त तयारी गरेको देखिंदैन। एन्फाका एक अधिकारका अनुसार यसपटक क्लबहरूले दुई तीन हप्ताभन्दा बढी तयारी गरेनन्। मैदान अभावमा सबै खेल दशरथ रंगशालामै सीमित गरियो। प्रशिक्षक शाक्य भन्छन्, “खेलाडीहरूले नयाँ–नयाँ मैदानमा खेल्ने वातावरण पाएकै छैनन्।” ल
सेन्छेलुङ लिम्बू