२५ फागुन १ चैत २०७० | 9-15 March 2014

भविष्य सुनिश्चित बनाइदेऊ

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (१८―२४ फागुन) मा प्रकाशित 'सस्तो जीवन प्रहरीको' समाचारमा उल्लेख गरिए जस्तै जनताको जीउधनको रक्षा गर्ने क्रममा जोखिमपूर्ण काममा खटिंदा मृत्यु भएका प्रहरीका परिवारको आर्थिक अभावमा विचल्ली हुनु दुखद् पक्ष हो। बाँचुञ्जेल जस्तोसुकै कठिनाइको सामना गरेर पनि जनताको सुरक्षा गर्छु भनेर ड्युटीमा खटिएका प्रहरीका परिवारलाई राज्यको तर्फबाट उचित राहतको व्यवस्था गर्न ढिलाइ गर्नुहुँदैन। यस्ता प्रहरीले अकालमा ज्यान गुमाउँदा परिवारको समेत विचल्ली भएका उदाहरण धेरै छन्। त्यसैले जनताको जीउधनको सुरक्षामा खटिने प्रहरीको भविष्य सुरक्षित बनाउन ढिलो गर्नुहँुदैन।

सूर्यविकास मल्ल, इमेलबाट

नेपालमा जोखिमपूर्ण काम गर्ने सबै क्षेत्रका व्यक्तिको जीवन सस्तो र मूल्यहीन जस्तो देखिन्छ। जीवनभर जोखिम मोलेर काम गर्ने व्यक्तिले स्वास्थ्यमा समस्या आएपछि समयमा उपचार गर्न नसकेको तीतो अनुभव हाम्रोसामु छ। त्यसैले जोखिमपूर्ण काममा सहभागी हुनेको भविष्य पनि सुनिश्चित गर्न आवश्यक छ।

मिलन बम, इमेलबाट

कानूनी दायरामा ल्याऊ

साप्ताहिक खबरपत्रिका हिमाल (१८―२४ फागुन) मा प्रकाशित 'क्यासिनो जबरजस्ती संचालन' सम्बन्धी समाचारले देशको बेथिति अवस्था प्रष्ट्याउँछ। रातारात धनी हुने सपना बुनेर क्यासिनोमा लगानी गर्ने नेपालीहरू एकै रातमा कंगाल भएर घर न घाटको भएको समाचार आइरहँदा पनि सीमित व्यक्तिको स्वार्थमा सञ्चालित यस्ता क्यासिनोले सरकारलाई राजस्व समेत बुझाएका छैनन्। तर पनि सरकारी अधिकारी किन मौन छन्? कानूनलाई चुनौती दिने क्यासिनो संचालकहरूलाई कानूनी दायरामा ल्याएर राजस्व उठाउने हो भने देशको अर्थतन्त्रमा यसबाट पनि टेवा पुग्नेछ।

रामलाल तिवारी, इमेलबाट

ट्राफिक प्रहरीलाई सलाम

साप्ताहिक खबरपत्रिका हिमाल (१८―२४ फागुन) मा प्रकाशित 'सडकमा कारबाही, घरघरमा वाहवाही' समाचार पठनीय लाग्यो। मादक पदार्थ सेवन (मापसे) नियन्त्रण गरेर सडक दुर्घटना न्यूनीकरणमा पुर्‍याएको योगदानका कारण धेरै मानिस अकालमा ज्यान जानबाट जोगिएका छन्। मापसे अभियान शुरू भएपछि सवारी दुर्घटनामा घाइते र मृत्यु हुनेको संख्यामा कमी आउनु खुशीको कुरा हो। इच्छा भयो भने जस्तोसुकै समस्या पनि सजिलै समाधान गर्न सकिन्छ भन्ने यो उदाहरणलाई हेरेर अन्य क्षेत्रमा भएका बेथितिको सम्बोधन गर्न सकिन्छ। सत्कार्य अघि बढाउने ट्राफिक प्रहरी धन्यवादका पात्र छन्।

लक्ष्मी डोटेल, इमेलबाट

शैक्षिक बेथिति

साप्ताहिक खबरपत्रिका हिमाल (१८―२४ फागुन) मा प्रकाशित 'झ्ोलेको रजाइँ' समाचार पढेर हाम्रो देशको शिक्षा क्षेत्रमा कुन हदसम्म लापर्बाही भएको छ भन्ने प्रष्ट हुन्छ। एकातिर विद्यालय जाने बालबालिकाले समयमा पाठ्यसामग्री नपाएर समस्या भोगिरहेका छन् भने अर्कोतिर विभिन्न पारिवारिक समस्याले गर्दा बीचमै पढाइ छाडिरहेका छन्। सञ्चालन भएका विद्यालयले कुनै न कुनै किसिमको समस्या भोगिरहेको समयमा झोलामा विद्यालय सञ्चालन गरी गैरकानूनी काम गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्दछ। अन्यथा शिक्षा जस्तो पवित्र पेशामा पनि दलाल र भ्रष्टाचारको जालो फैलँदै जानेछ।

राजाराम पौडल, इमेलबाट

रंगमञ्चमा पुनर्जागरण

साप्ताहिक खबरपत्रिका हिमाल (१८―२४ फागुन) मा 'व्यस्त रङ्गमञ्च' समाचार पठनीय लाग्यो। फिल्मप्रति दर्शकको वितृष्णा बढिरहेका वेला नाटकले भने दर्शक राम्रैसँग तानेको छ। यस्तो वेला दर्शकले छानीछानी नाटक हेर्न पाउनु सुखद् पक्ष हो। राजधानीमा एकैचोटि चार वटा नाटकघरमा नाटक हेर्न पाउनुले नाटकप्रतिको आकर्षण प्रष्ट हुन्छ। नाटकमा दर्शकको भीडले नेपाली रंगमञ्चमा पुनर्जागरण आएको मान्न सकिन्छ।

शम्भु दाहाल, बर्नालु, सानीटार, हालः काठमाडौं

comments powered by Disqus

रमझम