१६-३० असोज २०६९ | 2-16 October 2012

बर्माको सम्झना–२२

Share:
  
दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं। – सम्पादक

पार्वतीपुर छाडेर एउटा हूल दार्जीलिङ गयो, आधाचाहिं गोरखपुरतिर हिंडे। बाटामा के देख्छन् कहीं पुल तोडिएका छन्, रेल हिंड्दैन। कहीं तार काटिएका छन्। कहीं स्टेशन जलाइएको छ। कहीं, सीस टुटेको छ। कहीं रेलको लीकका जम्मै बोल्ट खोलिसकेका छन्। यस्ता ठाउँमा उत्रंदै चढ्दै, नाउमा पार हुँदै गन्तव्य स्थानमा पुगे। पहाडभित्र घरबार भएकाहरू चाहिं भरिया खोजी पहाडतिर हिंडे। जसको केही छैन रेल―स्टेशनका छेउछाउ घर किराया खोजी हिंड्न लागे। कोही चाहिं रोजीको तलाशमा छ, कोही आफ्ना मानिसका खोजमा छ। कोही इष्टमित्रको खोजमा, कोही जग्गा जमीनको खोजमा डुल्न लागेका छन्। 

भारतमा आएपछि थाहा भो कि ब्रह्मदेश धनी मुलुक छ, अनि उहाँका जम्मै मानिस सुखी छन् भन्ने यहाँको विश्वास रहेछ। बर्मा स्वतन्त्र देशमा उहाँका इन्तजाम देशको हातमा हुँदोहो अनि उहाँका कल कारखानाका जम्मै आम्दानी देशमै रहँदोहो त ब्रह्मदेश स्वर्ग थियो अनि उहाँका मानिस धनी र सुखी हुने थिए। परतन्त्रतामा बाँधिएका मानिस, देश कसरी सुखी र धनी हुन सक्छ? बर्माका जम्मै नाफा र कमाई त अमेरिका, आयरल्याण्ड, लण्डन पुग्थ्यो। बर्माको एउटा सियो बनाउने कारखाना पनि थिएन, अनि उहाँका प्रजामा यो चलनै थिएन कि मिलेर केही उद्योग गरूँ। राजाले सहारा दिए पो प्रजा उठ्न पाउँथे राजा आफैं मात्रै कमाएर प्रजाका लागि केही नछाडी आफ्नै बाटो मात्रै बनाएको ठाउँका जनता कसरी धनी हुन सक्छ। धनी त स्वतन्त्र देश जसका कारखाना संसारका अरू देशका कच्चा र पक्का मालको मुख नहेरी चलेको पो धनी हुन सक्छ। बर्मामा मट्टीतेलको स्रोत थियो। त्यो स्रोतका जम्मै नाफा केही सरकारी खजाना अनि केही अंग्रेज पूँजीपतिका पेटीमा पुग्थे। कारखानाका जम्मै ठूला काम अंग्रेजका हात। बर्मीलाई काम के खाँचाले सिकाउँथे? आफ्ना देशी भाइलाई तल पारी विदेशी बर्मीलाई किन शिर चढाउन्। आफ्नालाई छाडी अर्कालाई किन राम्रा काम दिनु! उनी भनेका संसारका ठूला सभ्य सुशिक्षित योग्य मानिस बर्मी त एशियामा बास भएका सभ्यतामा पिछडिएका। युरोपीयको दाँजामा यी कैले पुग्न सक्दथे भन्ने त शासकहरूको मनोभाव र विश्वास छ। यही विश्वासले गर्दा बर्र्मीले ठूला काम पाउँदैनथिए। 
 
ठूला ठूला काम ठूला ठूला मान पाएका अधिकारीहरू पो देशको शोभा देशको धन देशको मान वृद्धि गर्ने हुन्छन् र उनका कार्य व्यवहारले देश धनी समृद्ध हुन जान्छ। जब देशका ठूला अधिकारीहरूका जम्मै सम्पत्ति विदेश लगिने गरे कसरी देश धनी हुन जान्छ? ब्रह्मदेशको जम्मै कमाएको भोग गर्ने अंग्रेज थिए। उनी धनी थिए। बर्मी र भारतीय त अंग्रेजको चाकरी गर्ने मात्र थिए। चाकरले चाकरी गरेर कति धन कमाउन सक्ला र? 
 
बर्माबाट हामी किन भागेर आयौं हामीमाथि के यस्तो विपत्ति परिआयो उहीं बसेको भए के हुने थियो इत्यादि कुरा त भाग्नेहरूले जसमाथि जस्तो परिस्थितिको प्रभाव पर्नगो उनीले जान्दछन्। भारतका धेरै मानिस त यही भन्लान् कि– किन यसरी यिनीहरू मरी मरी भागी आएका होलान्, के जापानलेे यिनलाई धपाए या बर्मीले धपाए। आफ्ना जग्गा जमीन धन सम्पत्ति छाडेर किन हिंडेका होलान्– भनी शंका गर्लान्। अनि यस्तै मानिस धेरै छन् अनि कोही त भागेर आउने मानिसलाई भन्दछन्– तिमीहरूले गल्ती गर्‍यौ। उतै बसी आफ्ना सम्पत्तिको रक्षा ज्यान दिएर गर्न पर्ने थियो। यी कुराहरू माथि विचार गरिल्याउँदा यही भन्न पर्छ– मानिस कति नै बाठा र चंख बनुन् परिस्थिति बलवान् छ। समय आएपछि यी दुःखले संसार सिध्याइ हिंड्नेहरूले पनि उही काम गर्नुपर्छ जो प्रकृतिले गराउँदछ। 
 
भागेर आउने मानिसहरूमा धेरै खालका छन्। बर्माका जम्मै भारतीय र नेपाली उठेर आएका छैनन्। आउने आए नआउने आएनन्। जस्तो जस्तो परिस्थिति पर्न गो उस्तै कार्य हुन्छ। भारतमा बर्माबाट पाँच लाख जति मानिस आए भनी सुन्दछौं। रुपियाँमा चार आना पनि आएनन् भने पनि भो, आफ्ना जग्गा जमीन सम्पत्ति कसैले सित्तैंमा त माया मार्दैनन्। लाख चेष्टा गरेर पनि जब मानिस असमर्थ हुन्छन् अनि दुःखी भएर आफ्ना घरबार छाड्छन्। अंग्रेजहरूका साथसाथै उहाँ भागेर आउनेहरूका स्वार्थ भएका हुनाले उहाँका राज भारतमा कायमै रहेकोले बर्माबाट भारत आउने बाटो बाँकी रहेकोले अनि यताका मानिसहरू भारततिर आए। उहाँका बर्मी, सान, करेन, छिन, नागा, लुसाइ कोही आएनन्। जो आए ती ब्रिटिश जातिका नोकरहरू आए हुनन्। जति मानिस बर्माबाट आए तिनमा सबैभन्दा बढ्ता संख्या गरीब श्रमजीवीहरूको थियो जो बर्माका शहरमा मिहिनेत मजदूरी गरी खान्थे। शहर बजार बन्द हुनजाँदा उनको खाने बाटै बन्द भो। यिनका उहाँ कोही थिएनन्। शहर बजार कारखानामा काम गर्ने मानिस के खाई उहाँ बसुन्? यिनीहरू जम्मै भारततिरका हुनाले भारततिर आए। अनि सरकारका पेन्सनरहरू पनि उहीं बसे उनको पेन्सन गल्ने भएकोले उनीहरू पनि धेरैजसो आए। धनी मानिस जस जसका सँगमा धेरै धन थियो उनलाई उहाँको हूलमा बस्न के खाँचो थियो? तिनीहरू भारतमै पनि आरामैसित बस्न सक्छन् र ती खालका मानिस पनि आए। अंग्रेज त अंग्रेजै भैगो। तिनीहरूबाट उत्पन्न भएकाहरू पनि अंग्रेजसित सकिन्ज्याल नछुट्टिने हुनाले ती पनि आए। सिपाहीहरूचाहिं आफ्ना ठूला अफिसरको हुकुम हुनाले आए। अनि ब्रिटिश प्रजा हुनाले ब्रिटिशकै साथै साथ बर्मामा गएको हुनाले भारतीय ब्रिटिश सरकार भाग्दा केही यी पनि भागी आए।
comments powered by Disqus

रमझम