२५ फागुन १ चैत २०७० | 9-15 March 2014

आरनमा पड्केको युद्ध

Share:
  
- मिलन बगाले
लाशको चुली लगाएर कसैले केही जित्नेवाला छैन।

भक्तबहादुर नेपाली।
नेकपा एमाओवादीले 'जनयुद्ध' दिवस मनाएको एक साताभित्रै ८ फागुनमा जाजरकोटको दशेरा गाउँमा बम पड्कियो। दशेरा– ३, तल्लो गाउँ नजिकको जंगलमा पाइपको टुक्रो फेला पारेका जोखे थापाले त्यसबाट ओदान बनाउन कमारो चँदाराको आरनमा पुर्‍याए। त्यो टुक्रो आरनमै पड्केपछि चँदारा सहित जोखे थापा, भक्तबहादुर नेपाली, मनबहादुर थापा, नैनबहादुर नेपाली र नरसिंह थापा गम्भीर घाइते भए। उनीहरू सबैलाई काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पताल ल्याइए पनि आरन चलाएर परिवार पाल्ने चँदाराको जीवन बम पड्काएर खाने उन्मादको शिकार भयो।

युद्ध रोके पनि त्यसका अवशेषहरू फाल्ने इमान्दार प्रयास नगर्दा धेरै निर्दोषले शिकार हुनुपरेको छ। गएको ४ मंसीरमा दोस्रो संविधानसभा चुनावको बिहानै निर्वाचन विरोधीहरूले बम पड्काएर रक्तरंजित बनाएको काठमाडौंको भोटेबहालमा ८ वर्षीय समीर खड्गीकी हजुरआमा राम्रो चित्र बनाउने आफ्नो नातिका औंलाहरू खोजिरहेको दृश्य कम हृदयविदारक थिएन। समीर खड्गी र कमारो चँदाराले नेपाली समाजको सबैभन्दा तल्लो तप्काका नागरिकको प्रतिनिधित्व गर्छन्। 'जनताको मुक्तिका लागि' अझै 'जनयुद्ध लड्न बाँकी' देखेकाहरूले देशमा अझै यस्ता धरापहरू थापेर असंख्य कमारो सिध्याउने रहर गरिरहेछन्। कति दुःखलाग्दो कुरा!

मृतकको सूची नबढोस्

हिजो हिंसात्मक आन्दोलन गर्नेहरूले जाजरकोट घटनाप्रति दुःखमनाउ गरेका छैनन्। जाजरकोटमा अधमरु भएर राजधानी ल्याइएका कमारोको प्राणपखेरु उडेको खबरले सरकारको कान पोलेको छैन। राष्ट्रिय मानवअधिकार आयोगले विस्फोटक पदार्थ हटाउन र घाइतेको उचित उपचार गर्न सरकारको ध्यानाकर्षणसम्म गरेको छ। यो समस्या सुल्झ्न सरकारको मात्र ध्यानाकर्षण भएर चाहिं पुग्दैन।

५ मंसीर २०६३ मा नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीचको विस्तृत शान्ति सम्झौतामा दुई महीनाभित्र सबैखाले विस्फोटक पदार्थ हटाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। तर, त्यसयता समस्या समाधान होइन पड्किंदै, मान्छे मर्दै जाने अनन्त शृङ्खला शुरू भयो। 'मैले यो–यो ठाउँमा धराप थापेको थिएँ, यता–यता बेवारिसे बम फालेको थिएँ' भन्दै माओवादीले नै हिसाबकिताब नखोजिदिएसम्म बम वेलाबखत पड्किरहने देखिन्छ। बारुदी सुरुङ, बेवारिसे बम र अन्य विस्फोटक पदार्थ रहेको क्षेत्र पहिचान गरी त्यसलाई निष्प्रभावी बनाउन सरकार र एमाओवादीको संयुक्त टोली देशभर दौड्ने काम गरिहाल्नु जरूरी छ। त्यसो गरिदिए मात्र १७ हजार मृतकको सूचीमा अरू थपिनुपर्ने छैन।

एकपटक रोपिएको युद्धको बीउले अनन्त कालसम्म विषवृक्ष उमार्छ। त्यसले अनेक रूप र अवतार मार्फत समाजलाई डसिराख्ने कुरा सरकार र दलहरूका मानिसलाई थाहा नभएको पक्कै होइन। यसैगरी बम पड्किंदै गए युद्धका घाउ र अन्याय बढ्दै जान्छन्। न्यायविनाको समयले घाउहरूलाई छिटोछिटो पकाउँछ। यसमा सरकार र माओवादी गम्भीर हुनै पर्छ।

वेलैमा युद्ध बिसाएर थप क्षति रोकेको एमाओवादी नेतृत्व जति इमान्दार बन्छ, उति उसको प्रतिष्ठा बढ्दै जान्छ। कमारो चँदाराको मासिएको जीउले सबैलाई हिंसाबाट १२ हात पर बस्ने शिक्षा मिलोस्। अनाहकमा मृत्युवरण गर्न विवश चँदाराप्रति हार्दिक श्रद्धाञ्जली। उनको आश्रित परिवारले क्षतिपूर्ति र न्याय पाएको सुन्न पाइयोस्। कुनै पनि खाले हिंसाको हिस्सा बन्न इन्कार गर्नेहरूको जय होस्!

comments powered by Disqus

रमझम